२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

प्रदेश २ को राजधानीबारे चर्काचर्की

(जनकपुर) — प्रदेश २ को राजधानी जनकपुर कि वीरगन्ज तोक्ने भन्ने मुद्दामा प्रदेशसभाका सांसदहरु विभाजित भएका छन् । आ–आफ्नो दाबी र तर्कसँगै सांसदहरुले राजधानीको छलफल जनकपुर वा वीरगन्ज बनाउने भन्नेमा प्रदेशसभाको शनिबारको बैठकमा आक्षेपमय बन्यो ।

प्रदेश २ को राजधानीबारे चर्काचर्की

बैठकमा प्रदेशको राजधानी र नामबारे परेको प्रस्तावमा छलफल थालिएपछि सांसदहरूले आआफ्नै विचार राखे । भदौ ५ को प्रदेशसभाले नाम र राजधानीको प्रस्ताव ल्याउन बाध्य पारेपछि दल र सांसदहरुले आ–आफ्नो प्रस्ताव दर्ता गराएका थिए ।


सभामुख सरोज यादवले बैठक प्रारम्भलगत्तै प्रदेशको राजधानीको प्रस्तावमा छलफल थालेका थिए । नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश २ को राजधानी जनकपुरसहित सिंगो धनुषा जिल्ला हुनुपर्ने प्रस्ताव संसदमा पेस गरे । उनका प्रस्तावका नेकपाका सचेतक सुन्दरबहादुर विश्वकर्मा र सांसद बेंची लुगेलीले समर्थन जनाए । नेकपाका सांसद मण्डलले जनकपुरलाई मात्र राजधानी बनाउँदा यसले चाप थेग्न नसक्ने भएकाले सिंगो धनुषा जिल्लालाई नै प्रदेश २ को राजधानी बनाउनुपर्ने माग गरे ।


नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले जनकपुरको धार्मिक, ऐतिहासिक, सांस्कृतिक र राजनीति योगदान रहेकाले जनकपुर उपमहानगर क्षेत्रलाई राजधानी तोक्नुपर्ने प्रस्ताव पेस गरे । उनको प्रस्तावमा कांग्रेसका सचेतक उपेन्द्र कुशवाहा, सरस्वती चौधरी र नरेशकुमार यादवले समर्थन जनाए । संसदीय दलका नेता यादवले जनसंख्या, भुगोल, पूर्वाधार, ऐतिहासिक र सांस्कृतिक महत्वले जनकपुर प्रदेश २ को राजधानी उपयुक्त रहेको तर्क गरे । राजर्षी विश्वविद्यालय, अस्पताल, एयरपोर्ट, चिल्लो सडक र अन्य पूर्वाधार थपिँदै गएकाले जनकपुरलाई राजधानी बनाउनुको विकल्प नरहेको उनको भनाइ थियो ।


वीरगन्जलाई राजधानी बनाउनुपर्ने छुट्टै प्रस्ताव पेस गरेका सत्तासीन समाजवादी पार्टीका सांसद सिंगासन साह कलवारले मधेस आन्दोलनमा ठूलो भूमिका रहेकाले वीरगन्जलाई राजधानी बनाउनुपर्ने माग गरे । उनको प्रस्तावमा सांसद प्रल्हाद गिरी, करिमा बेगम, जनत अन्सारी र भीमा यादवले समर्थन गर्दै जनकपुरभन्दा वीरगन्ज नै प्रदेश राजधानीका लागि उपयुक्त रहेको तर्क गरे । वीरगन्ज राजधानी हुनुपर्ने छुट्टै प्रस्ताव पेस कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले मधेस आन्दोलनको केन्द्रविन्दु वीरगन्ज रहेकाले राजधानी त्यही हुनुपर्ने प्रस्ताव गरे । उनको प्रस्तावलाई कांग्रेसकै सांसद शंकर चौधरीले समर्थन जनाए ।


सत्तासीन दल समाजवादी पार्टी र राजपाको संयुक्त प्रस्ताव पनि प्रदेशसभाको बैठकमा छलफल भएको छ । सत्तासीन दुबै दलले प्रदेशको राजधानी धनुषा–महोत्तरी हुनुपर्ने प्रस्तावमा छ । सत्तासीन दलको प्रस्तावमा सञ्चमाया मोक्तान र सुरिता साहले समर्थन जनाएको छ । प्रदेशसभाको अर्को बैठकमा प्रदेशको नामबारे छलफल हुने कार्यसूची छ ।

प्रकाशित : भाद्र २१, २०७६ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?