कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशसभामा सांसदको चिन्ता, 'छोरी घरबाट निस्किन्छिन् तर सकुशल फर्किने वा नफर्किने ठेगान छैन'

सन्तोष सिंह

जनकपुर — समाजवादी पार्टीकी सांसद करिमा बेगमले प्रदेश २ को छोरी असुरक्षित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । 

शनिबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बेगमले छोरी घरबाट निस्किन्छिन् तर सकुशल घर फर्किने वा नफर्किने ठेगान नभएकोले यस्तो हुनु दुर्भाग्यपूर्ण भएको बताइन् ।

प्रदेशसभामा सांसदको चिन्ता, 'छोरी घरबाट निस्किन्छिन् तर सकुशल फर्किने वा नफर्किने ठेगान छैन'

'विद्यालय गएकी छोरी घर फर्किन्छ कि फर्किन्न अभिभावकमा चिन्ता छ', सांसद बेगमले भनिन्, ‘पढ्न जाँदै गर्दा छोरीमाथि पटक पटक एसिड प्रहार भएको छ । छोरी कसरी सुरक्षित हुन्छ ?’


शुक्रबार बिहान विद्यालय जाँदै गरेकी कक्षा ९ मा अध्ययनरत वीरगन्जकी १५ वर्षीया छात्रा मुस्कानमाथि एसीड प्रहारको घटनाले प्रदेशकी छोरी सुरक्षित नभएको प्रस्टिएको उनले बताइन् । सांसद बेगमले दोषीलाई कडा कारबाहीको माग गर्दै मुस्कानलाई उपचारका लागि थप रकम उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरिन् । उनले मुख्यमन्त्रीको ‘बेटी पढाउ, बेटी बचाउ अभियानले’ छोरी सुरक्षित नभएकोले छोरी सुरक्षाका लागि कडा कानुन ल्याउनुपर्ने माग राखिन् ।


समाजवादी पार्टीकी अर्की सांसद भिमा यादवले प्रदेश सरकारले चलाएको बेटी पढाउ बेटी बचाउन अभियान सफल हुने वा असफल हुने भन्दै आशंका व्यक्त गरिन् । प्रदेशमा कहींकतै छोरी सुरक्षित नभएको भन्दै सरकारले छोरीमैत्री कानुन बनाउन आग्रह गरिन् ।


नेकपा सांसद किशोरी साह कमलले पनि मुस्कान खातुनमाथिको आक्रमण अमानवीय रहेको भन्दै यस्ता घटना दोहोर्‍याउन नदिन कठोर कानुन बनाउनुपर्ने बताए ।


प्रदेश २ का प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री लालबाबु राउतलाई छोरी पढाउनुभन्दा पहिले बचाउनतिर लाग्न आग्रह गरे । प्रदेशसभाको शून्य समयमा बोल्दै राजपा सांसद गणेशप्रसाद कुर्मीले प्रदेशमा छोरीहरुप्रति पटक पटक आक्रमण हुने गरेको भन्दै प्रदेश सरकारको अनुभूति नै नभएको टिप्पणी गरे । ‘बेटी पढाएरमात्र हुँदैन पहिले बेटी बचाउनुस् । दोषीलाई फाँसीको सजाय पनि कम हो । कडा कारबाही हुनुपर्छ,’ सांसद कुर्मीले भने ।


कांग्रेस सांसद राजेश्वरप्रसाद साहले मुस्कानमाथि दिनदहाडै एसिड अक्रमण भएको भन्दै प्रदेशको शान्ति सुरक्षामाथि प्रश्न गरे । ‘प्रदेशको शान्ति सुरक्षाको अवस्था कस्तो छ यो घटनाले प्रस्ट हुन्छ । के प्रदेश सरकार र प्रहरीले आफ्नो दायित्व पूरा गरेको छ ?,’ उनले थपे ।

प्रकाशित : भाद्र २१, २०७६ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?