कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कांग्रेस नेताहरूको प्रश्न– 'सरकार असफल हुँदा सम्हाल्न सक्छौं ?’

काठमाडौँ — कांग्रेस नेताहरूले सरकारको असफलताका कारण ‘दक्षिणपन्थी र उग्रवामपन्थी’ बाट राज्यप्रणालीमाथि प्रहार हुन थालेको बताएका छन् । त्यस्तो स्थिति आउनुमा सरकारको सर्वसत्तावादी सोच र काम गर्ने शैली मुख्य जिम्मेवार रहेको उनीहरूको निष्कर्ष छ । 

कांग्रेस नेताहरूको प्रश्न– 'सरकार असफल हुँदा सम्हाल्न सक्छौं ?’

कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार भक्तपुरमा आयोजना गरेको प्रदेश ३ का ७ जिल्लाका महाधिवेशन प्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रममा सहभागी नेताहरूले सर्वदलीय बैठकबाट सरकारले आफ्नो असफलता प्रकट गरेको उल्लेख गरे । ‘राज्यप्रणालीमाथि भइरहेका प्रहार र सडकमा बढेको असन्तुष्टि रोक्न के अहिलेकै कांग्रेसले विकल्प दिने सामर्थ्य राख्छ ?’ उनीहरूको प्रश्न थियो ।

कांग्रेस नेताहरूले राज्यसत्ता आफूमा केन्द्रित गरेर मुलुकलाई एकदलीय सर्वसत्तावाद लाद्ने बाटोमा अघि बढेकै कारण सरकार असफल भएको निष्कर्ष निकालेका छन् । बहुमतको आडमा संवैधानिक परिषद्बाट संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्ने, संविधानको मर्म एवं भावनाविपरीतका कानुन ल्याएर मुलुकलाई एकदलीय सर्वसत्तावादतर्फ लैजान खोज्दाका परिणाम अहिले देखिएको कांग्रेस सभापति शेरबहादुर देउवाले बताए ।

‘कम्युनिस्ट शासन आयो भने रुन पनि पाइँदैन भन्ने भनाइ त्यतिबेला मैले भनेको थिएँ । तर अहिले परिस्थिति त्यतैतिर मोडिएको छ । सबैले मैले बोलेको ठीकै रहेछ भनेका छन्,’ उनले भने, ‘नेपाली सेना, पुलिस, कर्मचारी र न्यायालयलाई आफूप्रति प्रतिबद्ध बनाएर नयाँ कम्युनिस्ट शासनको अभ्यास गर्न थालिएको छ, सरकार बदलिने कुरा ठूलो होइन । कहिले कांग्रेस आउँछ, कहिले अर्को आउँछ । तर यहाँ प्रणाली नै बदल्ने प्रयास भएको छ ।’

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको असफलताले जनतामा बढेको असन्तुष्टिलाई प्रतिपक्षले सम्हाल्न सक्नुपर्नेमा जोड दिए । वैकल्पिक शक्तिका रूपमा कांग्रेसलाई अघि बढाउन पार्टीभित्रको बृहत् एकता र नेतृत्वको निष्ठाप्रतिको समर्पण आवश्यक रहेको पौडेलले बताए । ‘ओरल्ली, मोरल्ली र पोलिटिकक्ली चुनौती दिन सक्ने सामर्थ्य भएका नेता हुनुपर्छ,’ देउवाप्रति लक्ष्य गर्दैर् पौडेलले भने, ‘पहिला आफैं निष्ठा र आदर्शमा हिँड्न सक्नुपर्छ । अनि जनताले पत्याउँछन् ।’

पौडेलले कांग्रेसको सिद्धान्तले जित्ने तर संगठन हार्ने किन भइरहेको छ भन्दै प्रश्नसमेत गरे । पौडेलको प्रश्नलाई देउवाले भने अन्तर्घातसँग लगेर जोडे । देउवाले पार्टीभित्रको एकता आवश्यक रहेको भन्दै के साँच्चै पार्टीभित्र एकता छ त भन्ने प्रश्न गरे । उनले भने, ‘आफ्नै साथीहरूलाई हराइएको छ । टिकट एउटाले पाउँछ तर उसलाई हराउन पार्टीकै मान्छे लाग्छन्, म हराउने र हार्ने खेल सदाका लागि अन्त्य गर्न चाहन्छु ।’ अन्तर्घातीहरूलाई कारबाही गर्न अनुशासन समिति लागिरहेकोतर्फ उनले संकेत गरे ।

उपसभापति विमलेन्द्र निधिले संविधानविरोधी कानुन बनाएर त्यसैको बलमा कम्युनिस्ट ‘स्टेट’ चलाउने कुचेष्टा भएको धारणा राखे । सिटौलाले राज्यप्रणालीमाथि दक्षिणपन्थी एवं उग्रवामपन्थीबाट मात्रै नभई सिंहदरबारबाट समेत खतरा उत्पन्न भएको बताए ।


महत र केसीको असन्तुष्टि

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा आफूहरूलाई नबोलाइएको भन्दै केन्द्रीय सदस्य रामशरण महत र अर्जुननरसिंह केसीले असन्तुष्टि जनाएका छन् । ‘३ नम्बर प्रदेशमै कार्यक्रम आयोजना गर्दा हामीलाई नबोलाउनु संकीर्णताको पराकाष्ठा हो,’ केसीले भने, ‘महाधिवेशनलाई प्रभावमा पारेर गुटगत फाइदा लिन खोजिएको हो ।’

नुवाकोटका नेताद्वय महत र केसीलाई नै उद्घाटन कार्यक्रममा नबोलाए पनि अर्का सहमहामन्त्री प्रकाशशरण महत भने निम्त्याइएका थिए । प्रतिष्ठानले प्रदेश ३ का रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशनका प्रतिनिधिका लागि हेटौंडामा प्रशिक्षण राख्दै छ । त्यसैले उनीहरूलाई त्यहीँ बोलाइने प्रतिष्ठानले जानकारी दिएको छ ।


महँगी र वाइडबडी मुख्य मुद्दा

प्रमुख प्रतिपक्ष कांग्रेसले दोस्रो चरणको जागरण अभियानमा महँगी, वाइडबडी जहाज खरिद प्रकरण, संसद्मा दर्ता विभिन्न विधेयकलाई मुख्य मुद्दा बनाउने भएको छ । पार्टीका तल्ला तहका संरचना निर्माण सुरु भएसँगै कांग्रेसले यीलगायत विभिन्न विषयमा जनतालाई जागरुक बनाउने भन्दै भदौ २४ बाट अभियान घोषणा गरेको हो । अभियान १५ दिन चल्नेछ ।

जिल्ला केन्द्रित पहिलो चरणको अभियान पार्टीका स्थानीय तहका संरचना नहुँदा प्रभावकारी बन्न नसकेको गुनासो आएको थियो । पार्टीले संघीय ढाँचाअनुसार स्थानीय तहमा अन्तरिम संरचना गठन प्रक्रियासमेत यसै साता सुरु गरेको छ । दोस्रो चरणको जागरण अभियान निर्वाचन क्षेत्रमा केन्द्रित गरिँदै छ ।

उपसभापति विमलेन्द्र निधिले पार्टीमा नेता–कार्यकर्ता र पार्टी–जनताबीचको सम्बन्ध बढाउन अभियान थालिएको बताए । कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गरेर अभियानको घोषणा गरेको थियो । चाडबाडको मुखमा बजारमा मूल्य नियन्त्रण नभएको र कालोबजारी बढेको भन्दै महँगी मुद्दालाई प्राथमिकतामा राखेको हो । दोस्रो मुद्दाका रूपमा वाइडबडी र न्यारोबडी प्रकरणलगायत भ्रष्टाचार मुद्दा उठाइएको छ ।

महिला हिंसा, बलात्कार, हत्या, अलोकतान्त्रिक विधेयक र कुशासनका मुद्दा लिएर जनतामाझ जाने कांग्रेसको तयारी छ । यी मुद्दामा केन्द्रीयदेखि तल्लो तहका नेता–कार्यकर्ताले विभिन्न र्‍याली, सभा र घरदैलो कार्यक्रम गर्दै छन् । बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको दिनबाट सुरु हुने अभियानमा विशेष सामाजिक संवाद, सामाजिक विसंगतिविरुद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडास्तरीय अन्तरक्रियालगायत कार्यक्रम हुने बताइएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार ३३० प्रदेशसभा निर्वाचन क्षेत्रलाई केन्द्रित गरी अभियान चल्नेछ । हरेक क्षेत्रमा एक जनाका दरले केन्द्रीय प्रतिनिधि खटिनेछन् । पहिलो चरणमा वैशाख २५ देखि जेठ २५ सम्म एकमहिने अभियान चलाइएको थियो । पार्टीका अनुसार दोस्रो चरणमा नेताहरूका तर्फबाट भन्दा जनता र कार्यकर्ताका धारणा बढी समेटिनेछ । कार्यक्रम माला–खादारहित, थोरै वक्ता र बढी अन्तरक्रियात्मक हुनेछ । अभियान क्रममा केन्द्रीय तहबाट एउटा मात्रै सभा निर्धारण गरिएको छ । असोज ७ गते अन्तिम दिन जिल्लास्तरीय विरोध प्रदर्शन गर्ने कार्यतालिका छ ।

विशेष सामाजिक संवादमा सरकारका गलत कामकारबाहीको भन्डाफोर गरी त्यसविरुद्ध जनमत बनाउने, नागरिकले पार्टीबाट गरेका अपेक्षा बुझ्ने कांग्रेसले जनाएको छ । पत्रकार सम्मेलनमा घोषणा गरिएअनुसार अभियान क्रममा सहिद परिवार, द्वन्द्वपीडितका घरघर पुगेर सुझाव लिइनेछ । स्थानीय तहको दुईवर्षे कामको समीक्षा हुनेछ ।

विशेष गरी कांग्रेसका तर्फबाट जितेका जनप्रतिनिधि र उम्मेदवारसँग अन्तरक्रिया गरिनेछ । जागरण अभियानमा विदेशस्थित जनसम्पर्क समितिहरूलाई पनि परिचालन गर्ने कांग्रेसको निर्णय छ । समितिहरूलाई विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न दबाब दिन भनिएको छ ।

समितिहरूले सम्बद्ध राजदूतावास र कन्सुलेटमार्फत नेपाल सरकारसमक्ष मतदानको अधिकार व्यवस्थापनका लागि ज्ञापनपत्र पेस गर्नेछन् । असोज ३ संविधान दिवसका क्रममा संविधानसम्बन्धी अन्तरक्रिया गर्ने र तराई–मधेसमा रहेको असन्तुष्टि, जनजाति, महिला, दलित, थारू आदिका मुद्दाहरूको हल संविधान संशोधनद्वारा नै सम्भव रहेको धारणा सम्प्रेषण गर्ने कांग्रेसको योजना छ ।

प्रकाशित : भाद्र २१, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?