एसिड आक्रमण : खातुनको शल्यक्रिया आइतबार

अतुल मिश्र

काठमाडौँ — एसिड आक्रमणमा परेकी मुस्कान खातुनको शरीरको दस प्रतिशत भाग डढेको र अवस्था खतरामुक्त भइनसकेको चिकित्सकले बताएका छन् । 

एसिड आक्रमण : खातुनको शल्यक्रिया आइतबार

वीरगन्जकी मुस्कानलाई स्थानीय नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि शुक्रबारै कीर्तिपुरस्थित नेपाल क्लेफट एन्ड बर्न सेन्टर ल्याइएको छ ।


‘मुस्कानको अनुहारको दायाँ भाग, घाँटी, छाती र हातमा एसिड परेको छ,’ उपचारमा संलग्न डा. सुरेन्द्र बस्नेतले भने, ‘प्रारम्भिक जाँचअनुसार आँखामा भने असर देखिएको छैन ।’ उनका अनुसार एसिडले जल्नेबित्तिकै गहिरो घाउ बनाउने भएकाले शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।


चिकित्सकहरू आइतबार मुस्कानको शल्यक्रिया गर्ने तयारीमा छन् । शल्यक्रियाका क्रममा एसिड परेको भागबाट डढेको अंश बाहिर निकालिन्छ । यो शल्यक्रियाको दुई–चार दिनपछि घाउको अवस्था पुनः हेरिने र त्यसपछि उपयुक्त देखिए छाला प्रत्यारोपण गरिने डा. बस्नेतले बताए । चिकित्सकका अनुसार एसिड र विद्युतीय डढाइमा परेकाहरूलाई तत्काल खतरामुक्त भनिहाल्न सकिँदैन । पीडितहरूमा पछि छाती, मिर्गौला, मुटुमा असर पर्न सक्ने सम्भावनासमेत रहन्छ ।


वरिष्ठ कन्सल्टेन्ट प्लास्टिक सर्जन डा. किरण नकर्मीका अनुसार अस्पताल आउनेमध्ये धेरैजसोको अनुहारमै एसिड छ्यापिएको हुन्छ । सन् २०१८ यता कीर्तिपुर अस्पतालमा आठ जना एसिडपीडित आएका छन् । तीमध्ये तीन जना प्रयोगशालामा आफ्नै गल्तीले पोलाइमा परेका छन् ।


बाँकी ५ जनामा ४ महिला र एक पुरुषलाई अन्यले रिसइबीका कारण छ्यापिदिएका हुन् । एसिड आक्रमणमा मुख्य रूपले प्रेम–प्रकरण र अन्य रिसइबी कारण हुने गरेको जनाउँदै नकर्मीले भने, ‘७ वर्षअघि बन्दका बेला दुई चेलीलाई बसको झ्यालमा

एसिड हानेर घाइते बनाइएको घटनासमेत छ ।’


रासायनिक पोलाइमा के गर्ने ?

अमेरिकन कलेज अफ इमर्जेन्सी फिजिसियन्स (एसीईपी) का अनुसार कसैलाई एसिडले पोले अर्को व्यक्तिले ब्रसको माध्यमबाट प्रभावित व्यक्तिको छालाबाट सुक्खा रसायनलाई हटाउन सक्छ । तर, ब्रस प्रयोग गर्ने व्यक्तिले ग्लोब्स लगाउन बिर्सनु हुँदैन । डढेको भाग १५ देखि २० मिनेट पानीमा थापिरहनुपर्छ ।


तर यसो गर्दा आँखामा रसायन नपर्ने गरी ध्यानपूर्वक गर्नुपर्छ । त्यसपछि प्रभावितलाई सकेसम्म छिटो अस्पताल पुर्‍याउनुपर्छ । रसायन निलेको अवस्थामा भने यो झनै जोखिमपूर्ण भइदिन्छ । यस्तोमा तुरुन्त अस्पताल लगिहाल्नुपर्छ ।

प्रकाशित : भाद्र २१, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?