कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

एसिड पीडित किशोरीको पीडा : वर्षअघिको त्यो कालो रात

शिव पुरी

रौतहट — दिदीबहिनीबीचको माया यति प्रगाढ थियो कि देखेर गाउँले छक्क पर्थे । कहिल्यै नछुट्टिने । सँगै घुमफिर र मेलापात । उनीहरूको दैनिकी एकअर्कामै निर्भर थियो । 

एसिड पीडित किशोरीको पीडा : वर्षअघिको त्यो कालो रात

२०७५ भदौ २६ को राति । सँगै सुतिरहेका दिदीबहिनीमाथि एसिड छ्यापियो । जीउमा आगो झोसे जस्तो भयो । शरीर पाक्यो । दुवै गम्भीर घाइते बने । काठमाडौंमा उपचारका क्रममा दिदी सम्झना दासको ज्यान गयो । बहिनी लामो उपचारपछि तंग्रिइन् । तर उनी अहिले पनि दिदीको मृत्यु सम्झेर झस्किरहन्छिन् ।

रौतहट चन्द्रपुर–६ की १६ वर्षीया सुस्मिता दास एसिड प्रहारबाट जोगिए पनि उनको चिन्ता टरेको छैन । घटनामा संलग्न छिमेकी रामबाबु पासवान गौरस्थित जेलमा छन् । जिल्ला अदालतले गत असोज २२ मा उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश गर्‍यो । दासलाई भने अपराधी जेलबाट छुट्ने हुन् कि भन्ने एउटै डर छ ।

सम्झनाको प्रेममा रामबाबु पागलझैं बने । एकतर्फी प्रेमलाई रामबाबुले साइनोमा परिवर्तन गर्न चाहन्थे । तर सम्झना टाढिन खोजिन् । हरेक जुक्ति लगाइन् । रामबाबुले भने रातभर फोन गरेर उनलाई दिग्दार बनाइरहन्थे ।

आफ्नो प्रेम इन्कार गरेपछि रामबाबुले घरको कोठामा सुतिरहेका सम्झना र सुस्मितामाथि राति करिब १२ बजे एसिड प्रहार गरे । गर्मीको समय भएकाले दिदीबहिनीहरूले ढोका खुल्लै छाडेका थिए । राति अचानक शरीरमा एसिड परेपछि सुस्मिता रुँदै, कराउँदै बाहिर निस्किइन् । सम्झना पनि आत्तिँदै बाहिर आइन् । दुवै धारामा नुहाउन गए । एसिडको पीडा सहन नसकेर छटपटाइरहेका उनीहरूलाई छिमेकी रामबाबुले नाटकीय उद्धारमा सघाए । हस्पिटल लैजान उनैले सघाए ।

बुवा जादोलाल दिनभर पुल हाउसमा काम गरेर राति बजार कुर्न बस्थे । घटनालगत्तै उनलाई खबर पुग्यो । उनी हस्याङफस्याङ गर्दै आए । चन्द्रपुर अस्पतालले दुवैलाई काठमाडौं लैजान रेफर गर्‍यो । एसिड हान्ने रामबाबु जादोलाल सँगै काठमाडौं गए । उनले नै दुवैमाथि एसिड प्रहार गरेको कसैले पत्तो पाएन । सहयोगी बनेका उनीमाथि कसैले शंका गरेनन् । प्रहरीले एक सातापछि उनलाई अस्पतालबाटै पक्राउ गर्‍यो ।

सम्झनाको शरीरका धेरै भाग र अनुहारमा बढी एसिड परेर गम्भीर घाइते भएकी थिइन् । उनको २ पटक शल्यक्रिया गरिएको थियो । शरीरको ३५ प्रतिशत भाग जलेको थियो । उनको अनुहार, घाँटी, ढाड र छातीको भागमा धेरै एसिड परेको थियो । चिकित्सकले उनको शल्यक्रिया गरी जलेको भाग काटेर फाले पनि बचाउन सकेनन् । सुस्मिताको भने अवस्था धेरै गम्भीर थिएन । एसिडले उनको दाहिने हत्केलादेखि काखीसम्मको भाग जलेको थियो ।

‘रामबाबुले दिदीलाई एकोहोरो मन पराउँथे । दिदीले इन्कार गरेपछि ऊ यस्तो हर्कतमा उत्रिएको हो,’ सुस्मिता भन्छिन्, ‘दिदीलाई बचाउन सकिएन । अपराधीलाई अदालतले हदैसम्मको सजायको फैसला सुनाओस् । अनि मात्र हामीले न्याय पाउँछौं ।’

प्रकाशित : भाद्र २१, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?