२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

डेङ्गुबाट ४ को मृत्यु

रासस

काठमाडौँ — इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेङ्गु सङ्क्रमणका कारण ४ जनाको मृत्यु भएको जनाएको छ ।

गत वर्ष उक्त रोगको सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको थियो । महाशाखा प्रमुख डा विवेक लालले सातै प्रदेशमा सङ्क्रमण न्यूनीकरणका लागि कार्यक्रमसहित ६ करोड १७ लाख खर्च पठाइएको जानकारी दिए । शुक्रबार यहाँ आयोजित ‘डेङ्गु सङ्क्रमण र रोकथाम’ विषयक अन्तरक्रियामा उनले सङ्क्रमणको जोखिम रहेका मुलुकका विभिन्न ४२ जिल्ला तथा ८५ स्थानीय तहमा रोग नियन्त्रणका लागि रु एक करोड ६६ लाख खर्च पठाइएको बताए ।


विशेषज्ञ डा बाबुराम मरासिनीले शरीरका विभिन्न अङ्गमा रगत जम्ने, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, पिसाब तथा बान्ता गर्दा रगत आउनेलगायत लक्षण देखा परेमा सतर्क हुनुपर्ने सुुझाव दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा वासुदेव पाण्डेका अनुसार श्वास फेर्न अप्ठ्यारो हुने रोगको लक्षण देखिएमा रगतमा भएको प्लेटलेट्सको सङ्ख्या परीक्षण गर्नुपर्छ । एडिज लामखुट्टेका कारण रोगको सङ्क्रमण हुने हुँदा घर वरिपरि फोहोर, पानी जम्ने खाल्डाखुल्डी भए त्यसलाई सफा गर्नुपर्ने उनले बताए ।

प्रकाशित : भाद्र २०, २०७६ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?