‘सयौं थुँगा..’ गाएर आरती !

राष्ट्रसँग सम्बन्धित समारोहमा मात्र राष्ट्रिय गान गाउनु सान्दर्भिक हुन्छ । बिहे भोज, व्रतबन्ध, पास्नी जहाँसुकै बजाउन मिल्दैन । – सत्यमोहन जोशी, राष्ट्रिय गान छनोट समिति संयोजक
राष्ट्रिय गान बज्दा सरकारको उपस्थिति देखिएला, राष्ट्रिय आदर्श संस्कृति निर्माण हुन सक्ला । तर सबै ठाउँमा गाउन कति सम्भव छ भन्ने महत्त्वपूर्ण हो । – व्याकुल माइला, राष्ट्रिय गानका रचनाकार
गणेश राई

काठमाडौँ — चलचित्र हल र पशुपति मन्दिर परिसरमा साँझको आरती सुरु हुनुअघि राष्ट्रिय गान बजाउनुपर्ने सरकारको नयाँ नियम सुनेर राष्ट्रिय गान छनोट समितिका संयोजक सत्यमोहन जोशी छक्क परेका छन् । उनी भन्छन्, ‘राष्ट्रसँग सम्बन्धित समारोहमा मात्र राष्ट्रिय गान गाउनु सान्दर्भिक हुन्छ । बिहे भोज, व्रतबन्ध, पास्नी जहाँसुकै बजाउन मिल्दैन ।’

सरकारले आगामी संविधान दिवस (असोज ३) देखि चलचित्र हलमा चलचित्र र तत्कालै लागू हुने गरी पशुपति मन्दिर परिसरमा साँझको आरती सुरु हुनुअघि राष्ट्रिय गान बजाउनैपर्ने र राष्ट्रिय झन्डा फहराउनुपर्ने निर्णय गरेपछि अनेक टिप्पणी भइरहेका छन्। सामाजिक सञ्जालमा यसलाई लोकतान्त्रिक गणतन्त्रमा पञ्चायती राजको झल्को भनेर टिप्पणी गरिएको छ। ‘पारि किनारमा राखिएको लासलाई श्रद्धाञ्जली र शोकाकुललाई समवेदना। त्यो वातावरणमा ‘सयौं थुँगा...’ राष्ट्रगानको यो जस्तो दुरुपयोग अरू के हो।’ सामाजिक सञ्जालमा प्रतिक्रिया छ, ‘राष्ट्रिय गानलाई नाचगान बनाउन खोजिँदै छ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निर्देशनमा पशुपति मन्दिरमा एक साताअघि प्रत्येक दिन साँझ हुने आरती अगाडि राष्ट्रिय गीत बजाउन थालिएको हो। संविधान दिवसदेखि चलचित्र हलमा राष्ट्रिय गान बजाउने निर्देशन भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सबैजसो मन्त्री र सचिवसहितको बैठकले दुई साताअघि दिएको हो। सरकारले संघीय संसद्मा पेस गर्न तयार गरेको ‘चलचित्र क्षेत्रलाई व्यवस्थापन र नियमन गर्न बनेको विधेयक’ मा समेत सबै फिल्म हलले चलचित्र सुरु हुनुअघि अनिवार्य राष्ट्रिय गान बजाउनुपर्ने व्यवस्था छ ।

मानवशास्त्री सुरेश ढकाल राज्यसत्ताले आफू कमजोर भएका बेला मात्र नागरिकलाई आफूप्रति बफादार रहेको देखाउन यस्ता हतकण्डा गर्ने गरेको बताउँछन्। ‘राष्ट्र र नागरिकबीचको सम्बन्ध अन्योल भएका बेला हो यो, जग नभएको जस्तो,’ ढकालले भने, ‘राज्य बलियो भयो नागरिक स्वस्फूर्त नतमस्तक बन्छन्। पहिले प्रयोग गरेर छाडिसकेको परम्परा हो यो। राज्यको अधीनमा तिमीहरू छौ भनेर बल प्रयोग गरेजस्तो देखियो।’

दैनिक व्यवहारमा राष्ट्रिय गान गाउँदा राष्ट्रप्रति सम्मान कम हुने ढकालको तर्क छ। सडक पेटीका व्यापारी र राज्यको उच्च ओहदामा बसेका प्रधानमन्त्रीबीच राष्ट्रप्रतिको बुझाइ फरक पर्ने गरेको उनले बताए। उनले भने, ‘राष्ट्रिय गान ख्यालठट्टाको विषय होइन। आरतीका बेला, फिल्म हल वा जुनसुकै बेला गाउने हो भने उल्टो परिणाम आउँछ।’ चलचित्र हल वा आरती गर्दैगर्दा राष्ट्रिय गान बजाउँदा सहभागी नउठे कारबाहीको भागीदार हुन सक्ने उनी बताउँछन्।

इतिहासविद् त्रिरत्न मानन्धर राष्ट्रिय गानप्रति सबैले सम्मान गर्नुपर्ने बताउँछन्। ‘राष्ट्रियता जनाउने समारोहमा राष्ट्रिय गान बजाउनु ठीक हो,’ उनले भने, ‘सिनेमा हल, आरती जताततै गाउँदा राष्ट्रिय गानको सम्मान हुन सक्दैन।’ राष्ट्रिय गानका रचयिता व्याकुल माइला सरकारको नीतिप्रति आफ्नो व्यक्तिगत टिप्पणी नरहेको बताउँछन्। ‘राष्ट्रिय गान बजाउने सरकारको नीतिप्रति मेरो टिप्पणी छैन, सकारात्मक रूपमा हेरेको छु,’ उनले भने, ‘राष्ट्रिय गान बज्दा सरकारको उपस्थिति देखिएला। राष्ट्रिय आदर्श संस्कृति निर्माण हुन सक्ला। तर सबै ठाउँमा गाउन कतिको सम्भव छ भन्ने महत्त्वपूर्ण पक्ष हो।’

छिमेकी मुलुक भारतमा समेत बेलाबखत यस्तै विवाद हुने गरेको छ। भारतीय अदालतले दुई वर्षअघि फिल्म हलमा राष्ट्रिय गान बजाउने नियमको पक्षमा फैसला गरेपछि ‘देशभक्तिको भावना जबर्जस्ती थोपर्न नमिल्ने’ प्रतिक्रिया आएका थिए। त्यसबारे बलिउड अभिनेत्री विद्या बालनले भनेकी थिइन्, ‘फिल्म देखाउनुअघि राष्ट्रिय गान बजाउनुपर्छ जस्तो लाग्दैन। त्यहाँ हामी स्कुल पढ्न गएजस्तो होइन, जहाँ दिनको सुरुवात राष्ट्रिय गानबाट होस्।’ जबर्जस्ती गर्दैमा कोही पनि राष्ट्रभक्त नहुने उनको टिप्पणी थियो। अन्ततः अदालतले चलचित्र हलमा राष्ट्रिय गान गाउनु नपर्ने फैसला गरेको थियो।
राष्ट्रिय गान प्रयोग कार्यविधिअनुसार कुनै पनि राष्ट्रिय उत्सव वा विभिन्न औपचारिक कार्यक्रम तथा फौजी प्रकृतिका सामेली, सैन्य सम्मान, खेलकुद समारोह र विद्यालय प्रार्थनामा राष्ट्रिय गान गाउनुपर्ने व्यवस्था छ । रेडियो र टेलिभिजनमा सम्पूर्ण कार्यक्रमको सुरुमा र अन्त्यमा राष्ट्रिय गान बजाउनुपर्ने प्रावधान छ । सरकारको स्वामित्वमा रहेका रेडियो नेपाल र नेपाल टेलिभिजन (एनटीभी) मा विगतजस्तो राष्ट्रिय गान बजाइँदैन। चौबीसै घण्टा प्रसारण निरन्तर रहेपछि बिहान र राति बज्न छाडेको हो। रेडियो नेपालले बिहान ५ बजेपछि प्रसारण आरम्भ हुँदा मात्र बजाउने गरेको जनाइएको छ।

‘चारवटै च्यानलमा चौबिसै घण्टा कार्यक्रम प्रसारण हुन्छ,’ एनटीभीका सूचना अधिकारी टंक उप्रेतीले भने, ‘विशेष समारोहमा उच्च प्राथमिकताका साथ राष्ट्रिय गान बज्छ। विगतजस्तो साँझ र बिहानको नियमित तालिकामा बज्दैन।’

शब्दार्थमा राष्ट्रिय गान
नेपाली बृहत् शब्दकोशमा ‘राष्ट्र’ भन्नाले जनता, सरकार तथा सार्वभौमसत्ता सम्पन्न भएको कुनै देश, मुलुक भन्ने उल्लेख छ। ‘राष्ट्रिय गान’ भन्नाले ‘राष्ट्रले मान्यता दिएको गाना, राष्ट्रको गान, राष्ट्रिय गीत भनिएको छ। यो नेपाल सरकारबाट स्वीकृत राष्ट्रिय मान्यता प्राप्त ‘स्वदेशगान’ हो। ‘राष्ट्रिय गीत’ भन्नाले ‘आफ्नो राष्ट्रप्रति सबै जनताको असीम श्रद्धा र भक्ति जगाउन कुनै राष्ट्रिय उत्सव वा सामूहिक समारोहमा गाइने, राष्ट्रको वा राष्ट्रका प्रतीकको गुणगाथाले भरिएको गीत, राष्ट्रिय गान’ उल्लेख गरिएको छ।

राष्ट्रिय गान सामान्यतया देशभक्तिले भरिपूर्ण गीत हो, जसले निश्चित देशको इतिहास, संस्कृति र जनताको संघर्षलाई बयान गर्नुका साथै त्यस देशको सरकारले आधिकारिक मान्यता दिएको अथवा जनमानसबीच चलनचल्तीले आधिकारिक राष्ट्रिय गीतको रूप लिएको हुन्छ। कुनै पनि सार्वजनिक समारोहमा सर्वसाधारण सामूहिक रूपमा एकसाथ उभिएर, दायाँ हात देब्रे छाती अर्थात् मुटुमाथि हातको पञ्जा राखेर, संगीतबद्ध वा बिनासंगीत आवाज निकालेर राष्ट्रप्रतिको सम्मान भाव जगाउने गरी राष्ट्रिय गान गाइन्छ। त्यही राष्ट्रिय गान गाउँदा बर्दीधारी प्रहरी र सैनिकले सतर्क आसनमा उभिएर सलाम गर्छन्।

जनआन्दोलन २०६२/६३ पछि नेपाल सरकारले ‘नयाँ राष्ट्रिय गान चयन कार्यदल’ गठन गरेको थियो। कार्यदलको आह्वानमा देशभरिबाट १ हजार २ सय ७२ रचना प्राप्त भएका थिए। त्यसमध्ये व्याकुल माइलाले रचना गरेको ‘सयौं थुँगा फूलका हामी...’ छानियो। सरकारले २०६४ साउन १८ गते उक्त रचनालाई राष्ट्रिय गानका रूपमा वैधानिकता दियो। सो राष्ट्रिय गानलाई अम्बर गुरुङले संगीत दिए। यस राष्ट्रिय गानमा २० भन्दा बढी गायक र गायिकाले स्वर दिएका छन्। नेपालको राष्ट्रिय गान १ मिनेट ५ सेकेन्ड लामो छ।

प्रकाशित : भाद्र २०, २०७६ १८:१२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एमबीबीएसको प्रवेश परीक्षा तत्काल स्थगित गर्न सर्वोच्चको अन्तरिम आदेश

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयले एमबीबीएसका लागि शनिबार सञ्चालन गर्न लागेको प्रवेश परीक्षा तत्काल स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले आगामी २५ गते यसबारेमा छलफल गर्न रिट निवेदक र विश्वविद्यालय पक्षलाई झिकाएको छ ।

चिकित्सा शिक्षा आयोग ऐन जारी भइसकेको अवस्थामा विश्वविद्यालयहरुले आफूखुसी प्रवेश परीक्षा लिएको अनि ७५ प्रतिशत छात्रवृत्ति छल्न खोजेको भन्दै एक विद्यार्थीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले चिकित्साशास्त्र अध्ययन संस्थान(आईओएम) अन्तर्गतको प्रवेश परीक्षा नगर्न आदेश दिएको हो।

‘२०७५ साल फागुन १० गतेदेखि लागू भएको चिकित्सा शिक्षा ऐनको प्रावधान र अहिले विभिन्न सरकारी चिकित्सा शिक्षण संस्थाबाट निकालिएको विज्ञापनबीच तादात्म्यता मिलाउन छलफलबाट नै निर्क्यौलमा पुग्नुपर्ने देखिँदा शनिबारको प्रवेश परीक्षा सञ्चालन नगर्नु,’ आदेशमा भनिएको छ ।

ऐनको प्रावधानअनुसार भर्ना गर्न नखोजेको भन्दै रिट निवेदन परेको हो।

प्रकाशित : भाद्र २०, २०७६ १७:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×