कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

मेलम्ची आयोजनास्थलमा किचलो

नौ महिनाअघि ठेक्का तोडेर सीएमसी आफ्नै देश फर्केयता मेलम्चीको काम ठप्प बनेको छ । ४६ दिनभित्र दैनिक १७ करोड लिटर पानी राजधानी लैजाने आयोजनाको लक्ष्य पूरा नभएसँगै निर्माणमा संलग्न नेपाली कामदारले तलबभत्ता र सञ्चय कोषबापत् १ अर्ब ६८ करोड भुक्तानी पाएका छैनन् ।
अनिश तिवारी

सिन्धुपाल्चोक — बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनास्थल र कार्यालयमा प्रदर्शन गर्न निषेध गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङबाट शुक्रबार आदेश जारी गर्दै इटालेली कम्पनी सीएमसी पीडितलाई रोक्न निषेधक्षेत्र तोकेको हो । उक्त कम्पनीले आयोजनाको काम नौ महिनाअघि छाडेको इटाली फर्किसकेको छ । 

मेलम्ची आयोजनास्थलमा किचलो

कम्पनीले काम गराएकाहरूले अझै रकम पाएका छैन । रकम भुक्तानीको माग गर्दै पीडितहरूले प्रदर्शन थालेका छन् । प्रशासनले आयोजनाको साइट कार्यालय, मुहान, सुरुङ क्षेत्रमा अशान्ति नमच्चाउन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) बमोजिम अर्को आदेश जारी नभएसम्म पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ ।


अम्बाथानमा पूर्वतर्फ वन, पश्चिमतर्फ मेलम्ची खोलाको पहरो, उत्तरमा पार गाउँ जाने बाटो र दक्षिणमा तिम्बु खोलावरपर दुई सय मिटरदेखि पाँच सय मिटरसम्म निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘शुक्रबार ३ देखि ५ बजेसम्म र शनिबार १० बजेदेखि ५ बजेसम्म अर्को व्यवस्था नभएसम्म निषेधाज्ञा जारी गरिएको छ,’ इलाका प्रहरी हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले भने । बिहीबार पीडित र प्रहरीबीच झडप हुँदा दुई पीडित र तीन प्रहरी घाइते भएको उनले सुनाए ।


कामगरेबापत्को रकम नपाएको भन्दै मेलम्ची बजारक्षेत्र हुँदै मुहानस्थलमा आन्दोलित मजदुर तथा सप्लायर्सलाई नियन्त्रण गर्न बिहीबार साढे ३ बजे प्रहरीले हवाई फायरका साथै अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेलगत्तै खैलाबैला मच्चिएपछि भागभाग चलेको प्रत्यक्षदर्शी बताउँछन् ।


मेलम्ची खानेपानी पीडित संघर्ष समितिका संयोजक विष्णुमणि आचार्यका अनुसार मजदुरहरू सन्तोष चौधरी र बालमुकुन्द अधिकारी घाइते भएका हुन् । झन्डै ३ सय ५० जना उपस्थित रहेको आन्दोलित समूहले खानेपानी आयोजनाको उपकरणहरू तोडफोडसमेत गरेका थिए । ‘अब आन्दोलनलाई नयाँ तरिकाले चर्काएर लैजाने छौं, हाम्रो पारिश्रमिक नपाएसम्म आन्दोलन जारी

राख्ने छौं,’ आचार्यले भने । उनले आन्दोलन सफल नभएसम्म आन्दोलन गरिरहने र आयोजनाको सवारी चल्न नदिने योजना लिएर अगाडि बढ्ने उनले प्रष्टयाए ।


नौ महिनाअघि ठेक्का तोडेर सीएमसी आफ्नै देश फर्केयता मेलम्चीको काम ठप्प बनेको छ । ४६ दिनभित्र दैनिक १७ करोड लिटर पानी राजधानी लैजाने आयोजनाको लक्ष्य पूरा नभएसँगै निर्माणमा संलग्न नेपाली कामदारले तलबभत्ता र सञ्चय कोषबापत् १ अर्ब ६८ करोड भुक्तानी पाएका छैनन । त्यसमा जिल्लाका १२ फर्मवालाले मात्रै सीएमसीबाट १६ करोड ५० लाख ३८ हजार ५ सय रुपैयाँ लिन बाँकी छ । व्यवसायीसँगै स्थानीय आयोजनाप्रति आक्रोशित भएको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘आयोजना सम्पन्न होस् भन्ने लक्ष्य लिएका हौं, तर व्यवासायी र कामदारको पसिना मारिनु हुँदैन,’ उनले भने ।


सीएमसीले ठेक्का तोडेपछि अहिले मेलम्चीलाई काठमाडौं लैजाने जिम्मा चिनियाँ सिनो हाइड्रो कम्पनीले पाएको छ । बाँकी काम सम्पन्न गर्नका लागि गरिएको ठेक्का प्रक्रियाअन्तर्गत दुई प्याकेजमा ठेक्का लगाइएको थियो ।

प्रकाशित : भाद्र २०, २०७६ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?