१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

महिनादिन देखि केयू प्रशासनमा ताला, ‘वार्ता’ले निकास दिएन

नगेन्द्र अधिकारी

काभ्रे — विभिन्न माग राखी काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले प्रशासनिक भवनमा १ महिना अघिदेखि लगाएको ताला अझै खुलाइएको छ । उपकुलपति रामकण्ठ माकजू र रजिष्ट्रार सुवोध शर्माको कार्यालयमा ताला लगाएका प्राध्यापकले डिन, ग्लोबल इन्गेजमेन्ट, लेखा शाखामा पनि तालाबन्दी गरेका हुन् ।

महिनादिन देखि केयू प्रशासनमा ताला, ‘वार्ता’ले निकास दिएन

प्रशासन र प्राध्यापक र कर्मचारीका प्रतिनिधीबीच ‘अनौपचारिक’ वार्ता भएपनि त्यसले निकास दिएको छैन ।


स्कुल अफ म्यानेजमेन्टका डिन विजय केसीको संयोजकत्वमा मुकुन्द उपाध्याय र बालकृष्ण लुइँटेल सदस्य रहेको वार्ता समितिले प्राध्यापक र कर्मचारी संघलाई मान्यता दिने अनौपचारिक सहमति गरेपनि विश्वविद्यालय सभा (सिनेट)बाट अनुमोदन गराउने आधार प्रस्तुत नगरेकोले वार्ता सफल हुन नसेकेको संघका पूर्वअध्यक्ष विभूतीरञ्जन झाले जानकारी दिए ।


‘मान्यता दिने विषयमा पटकपटक सहमति गरेर हामीलाई झुक्याइएको छ, उपकुलपतिले पहिले पनि नमान्नु भएको हो,’ झाले भने, ‘सिनेटबाट अनुमोदन गराउने आधार नदेखाएकोले हामीले सहमति गरेनौं ।’ केसी नेतृत्वको वार्ता टोली अमान्य भन्दै प्राध्यापक कर्मचारीले उपकुलपतिसँगै वार्ता हुनुपर्ने अडान राख्दै आएका छन् ।


संविधान र विश्वविद्यालय ऐनले निर्देशित गरेका सुशासनका आधारभूत सिद्धान्त पालना नभएको र विश्वविद्यालय सम्बन्धित सबै पक्षको सहभागितामा संचालन नभएको भन्दै केयूका प्राध्यापक आन्दोलित छन् । विश्वविद्यालयमा भइरहेका नीतिगत र आर्थिक भ्रष्टाचारका विषयमा संघले भ्रष्टाचारमा संलग्नलाई आवस्यक छानबिन गरी कारवाही गर्न माग गर्दा पनि कारवाहीको साटो संरक्षण गरेको, संघसँग विभिन्न समयमा भएका प्रतिवद्धता कार्यान्वयन नभएको भन्दै प्राध्यापक संघ एक महिनादेखि आन्दोलनमा छ ।


आन्दोलित प्राध्यापकले दैनिक कोणसभा, प्रशासनिक भवनअघि माचपार्स गर्दै आएका छन् । प्राध्यापक संघले बिहीबार विभागीय प्रमुख र संयोजकलाई ‘पदाधिकारी भए वार्ता गर्न र प्राध्यापक भए आन्दोलनमा सघाउन’ अनुरोध गरेका थिए ।


आन्दोलित शिक्षक विश्विद्यालयले लिएको परिक्षामा सहभागी नभएपछि विधार्थीलाई नै निरिक्षक राखेर परिक्षा सञ्चालन गरिएको थियो । प्राध्यापकको आन्दोलनमा काठमाडौं विश्वविद्यालय कर्मचारी संघले पनि ऐक्यवद्धता र समर्थन जनाएका छन् । स्कुल अफ मेडिकल साइन्सेसका फ्याकल्टी काउन्सिलले पनि आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।


प्रकाशित : भाद्र २०, २०७६ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?