२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

डेंगुको संक्रमण बढ्दो, नियन्त्रणमा सरकार गम्भीर नभएकै हो ?

फातिमा बानु

काठमाडौँ — देशैभरी डेंगुको संक्रमण बढिरहेको छ । तराई र पहाडी जिल्लाका अस्पतालमा संक्रमितको संख्या बढिरहेको छ । सरकारले डेंगु नियन्त्रणमा गम्भीर चासो देखाएको छैन । टेकुस्थित इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रेकर्डअनुसार गत मंगलबारसम्म डेंगुले ४ जनाको ज्यान लिइसकेको छ भने २५ सय ५९ जना संक्रमित छन् । शुक्रबारसम्म संक्रमितको संख्या ३ हजारभन्दा बढी भएको महाशाखाले जनाएको छ। 

डेंगुको संक्रमण बढ्दो, नियन्त्रणमा सरकार गम्भीर नभएकै हो ?

यति धेरै मानिस डेंगुको संक्रमित हुँदा पनि सरकारले डेंगु नियन्त्रणलाई प्राथमिकतामा नराख्नु दुखद भएको चिकित्सकहरु बताउँछन् । अहिले जसरी नै डेंगु फैलँदै जाने हो भने यो नियन्त्रणबाहिर हुने र महामारीको रुप लिन सक्ने चिकित्सकहरुको भनाइ छ । प्रारम्भिक चरणमा नै यसलाई नियन्त्रणमा लिनसके महामारी हुनबाट रोक्न सकिने चिकित्सक बताउँछन् । हुन त सरकारले स्थानीय तहलाई डेंगु प्रभावित क्षेत्रमा काम गर्न निर्देशन दिएको जनाएको छ । स्थानीय तहले गरेको कामले मात्रै सन्तुष्ट हुन सक्ने अवस्था नरहेको चिकित्सकको भनाइ छ ।


सरकारको भने डेंगु नियन्त्रण गर्न अहिले भएकै योजना ठिक रहेको ठम्याएको छ । महाशाखाका एक उच्च स्रोतका अनुसार सरकारी निकायका कर्मचारी अब विस्तारै जाडोको मौसम आउने र डेंगु आफैं नियन्त्रणमा आउने लख काटेर बसेका छन् । स्रोत भन्छ, 'भदौको अन्तिम हुनै लाग्यो । जाडो पनि सुरु भइसकेको र विस्तारै लामखुट्टेहरु बाहिर निस्कन छाड्छन् र डेंगु आफैं नियन्त्रण हुन्छ भन्ने सरकारको बुझाई छ ।'


डेंगु नियन्त्रणको ठोस पहल र योजना नहुँदा हरेक वर्ष संक्रमण बढ्दै गएको उनको भनाइ छ । स्रोतले भन्यो, 'दीर्घकालीन योजना नल्याउँदा हरेक वर्ष डेंगुको संक्रमण बढ्दै गइरहेको छ ।'


स्थानीय तहले अहिले डेंगु प्रभावित ठाउँमा गएर लामखुट्टे मार्ने र लामखुट्टेको बासस्थान नष्ट गर्ने काम गरिहरेको छ । यति मात्रै गरेर नहुने सभिल अस्पतालका वरिष्ठ फिजिसियन विदेश विष्ट बताउँछन् । उनी भन्छन्, 'सरकारले गम्भीरतापूर्वक लिएको देखिँदैन । अहिले गरिरहेको काम पर्याप्त होइन । अझ ठूलो एक्सन लिनुपर्छ ।'


रोग फैलन नदिन आफ्ना नागरिकलाई सु-सूचित गर्ने, डेंगु प्रभावित क्षेत्रमा झुल बाँड्ने, लामखुट्टे नियन्त्रण गर्नेलगायतका काम केन्द्र तहबाट नै गर्नुपर्ने उनको भनाइ छ । उनले भने, 'चिकित्सकलाई नै डेंगु देखिएको छ । उपचार गर्ने ठाउँ र उपचार गर्ने डाक्टर नै विरामी भएपछि कसरी नियन्त्रण गर्न सकिएला ? पहिला अस्पताललाई नै डेंगु मुक्त क्षेत्र बनाउनुपर्छ ।'


डेंगु संक्रमणले सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीका बिरामीको मृत्यु भएको छ । राजधानी लगायत देशैभरि डेंगु संक्रमण फैलिएको भएपनि विशेषगरि सुनसरी ,कास्की, झापा जिल्लामा बढी संक्रमित भएको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो तथ्याकं अनुसार प्रदेश ३ डेंगु संक्रमित बढी छन् । काठमाडौंमा मात्रै ६७ जनालाई संक्रमण भेटिएको छ ।


इतिहासमै सबैभन्दा बढी र कडा रूपमा देशव्यापी डेंगुको प्रकोप फैलिएको बताउँदै महाशाखाका निर्देशक डा.विवेककुमार लालले भने, ‘डेंगु संक्रमणमा मृत्युको सम्भावना न्यून हुन्छ । कडारोगी र बालबालिका र वृद्धवृद्धा बढी जोखिममा छन् ।’


टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ज्वरो आउने, कमजोरी हुने निन्द्रा नलाग्ने जस्ता डेंगुको लक्षण लिएर दैनिक २ सयको हाराहारीमा बिरामी आइरहेका छन् । डेंगु संक्रमित २१ बिरामी भर्ना भएका छन् ।


अस्पतालका प्रवक्ता तथा सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले भने, ‘अहिले सिजनल फ्लु पनि चलेको छ । डेंगु र फ्लुको केही लक्षण एकै खाले हुने भएकाले आएका बिरामी डेंगु प्रभावित नै हुन् भन्न मिल्दैन ।’ डेंगुको लक्षण देखिएमा जथाभावी एण्टी बायोटिक औषधि किनेर नखाने बरु पारासिटामोल र झोलिलो पदार्थ खाएर घरमै आराम गर्नुपर्ने चिकित्सकको सल्लाह छ ।


बिरामीको संख्या डेंगुतिर, सरकारको ध्यान औलोतिर

देशैभरि डेंगुको संक्रमण फैलिइरहँदा सरकारले भने औलो नियन्त्रणका उपाय खोज्न बैठक बोलाएको छ । स्वास्थ्य सेवा विभागले शनिबारदेखि प्रदेश ३ का १३ जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख र मलेरिया फोकल पर्सनको बैठक गर्न लागेको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार हालको अवस्थामा प्रकोपकै रूपमा देखिएको डेंगु नियन्त्रणका लागि यस्तो बैठक गर्नु उपयुक्त हुने सल्लाह दिइए पनि औलोको विषयमा बैठक गर्न लागिएको हो । ‘यो समय सान्दर्भिक छैन, पछि गर्न सकिन्छ,’ स्वास्थ्य सेवा विभागका एक अधिकारीले भने, ‘स्वास्थ्य मन्त्रालयले हाल डेंगु नियन्त्रणमा सबै शक्ति लगाउनुपर्छ ।’

औषधि छर्कंदै

देशभर डेंगुका बिरामी फेला पर्न थालेपछि काठमाडौँ महानगरको वातावरण व्यवस्था विभागले राजधानीमा डेंगु नियन्त्रणका लागि प्रयास गरेको छ । बिहिबार सुन्धारानजिकै लगनटोलमा क्रुपी फाउन्डेसनका किरण लामा हातमा मेसिन बोकेर घूवाँ स्प्रे गराइरहेका थिए । लगन टोलका चोक–चोक, बाटोका कुना–काप्चा र पानी जम्न सक्ने तथा पानी जमेका सम्भावित ठाउँमा औषधि छरिरहेका थिए, लामा ।

अहिले काठमाडौंमा १० फगर मेसिनद्वारा औषधि छर्किरहेको क्रुपी फाउन्डेसनका मोर्केटिङ अफिसर शुक्रराज नेम्वाङले बताए । ‘मेसिनबाट ठूलो आवाजसँगै धूवाँ छर्किने भएकाले महानगर तथा सम्बन्धित निकायसँग अनुमति लिएर यो अभियान चलाइरहेको छ,’ उनले भने । पेट्रोल, डिजेल र मालाथिन विषादी मिसाएर केमिकल तयार पारिन्छ । देशभर देखिएको डेंगुको संक्रमण नियन्त्रण गर्न फाउन्डेसनले कोरियाली सहयोगमा औषधि छर्ने अभियान चलाएको उनले बताए ।

काठमाडौंका होटल, कलेज, एम्बेसी, राष्ट्रपति भवनलगायत ठाउँमा त्यहाँका सम्बन्धित व्यक्ति तथा निकायसँग सहकार्य गरेर औषधि छर्किरहेको छ । उपत्यकालगायत अन्य जिल्लामा पनि औषधि छर्ने योजना फाउन्डेसनको छ । कोरियाबाटै ल्याइएको यो मेसिनमा औषधि तथा केमिकल घोलेर लामखुट्टे बस्न सक्ने ठाउँमा छरिरहेको छ । डेंगुको संक्रमण देखिएका विभिन्न ठाउँमा उक्त मेसिनबाट स्प्रे गर्ने अभियान राजधानीसहित बाहिरका जिल्लामा पनि लगिने उनले बताए ।


प्रकाशित : भाद्र २०, २०७६ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?