१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जुम्लाको स्याउ नपाक्दै बोटबाटै उठाए व्यापारीले

एलपी देवकोटा

जुम्ला — साउन दोस्रो साता चन्दननाथ नगरपालिका–३, रडीखेल्लाका किसान रामकृष्ण बुडथापाको स्याउ किन्न बगैंचामै व्यापारी पुगे । उनले ‘स्याउ टिप्ने बेला अझै भइनसकेको’ भन्दै व्यापारीलाई फर्काए । तर, त्यसको केही समयमै तिनै व्यापारी फेरि बगैंचामा पुगे । र, स्याउ लिइछाडे ।

जुम्लाको स्याउ नपाक्दै बोटबाटै उठाए व्यापारीले

‘यसपाला मैले त बोटबाटै स्याउ टिपेर बेचें नि ’ प्रफुल्ल हुँदै उनले भने, ‘पहिलेजस्तो बगैंचामै स्याउ कुहिने हो कि भन्ने चिन्ता अब रहेन ।’

रामकृष्णजस्तै गुठीचौरका स्याउ किसान धिता न्यौपानेले पनि यसपाला बगैंचामै स्याउ बेचे । स्याउप्रति बाह्य व्यापारीको आकर्षण बढ्दा आफ्नो अवस्थामा सुधार हुने उनले सुनाए । विगतमा बगैंचामै सड्ने स्याउ अहिले व्यापारीले बोटबाटै टिप्न थालेपछि स्याउ किसान उत्साही छन् । यो वर्ष जुम्लाका अधिकांश किसानले बोटबाटै स्याउ बिक्री गरेका कृषि ज्ञान केन्द्रको भनाइ छ । भदौ लागेसँगै सुर्खेत, नेपालगन्ज, काठमाडौंलगायत क्षेत्रबाट व्यापारी जुम्लाका ग्रामीण क्षेत्रसम्म पुगेका कृषि विकास कार्यालयकाको भनाइ छ ।

जुम्लामा वार्षिक रूपमा करिब ६ हजार मेट्रिक टन स्याउ उत्पादन हुन्छ । बिगतमा सडक पूर्वाधारको कारण बजारीकरणमा समस्या थियो । अहिले कर्णाली राजमार्गका साथै ग्रामीण क्षेत्रमा पनि सडक सञ्जाल विस्तार भएपछि जुम्ली स्याउले बजार पाउन थालेको छ । भदौ लागेपछि स्थानीय किसानलाई बगैंचामा स्याउ टिप्न भ्याइनभ्याइ छ । बिगत वर्षमा किसानले बगैंचामा स्याउ प्रतिकेजी ५ रुपैयाँसम्म बिक्री गर्ने गर्थे । त्यही मूल्यसमेत नपाउँदा थुप्रै स्याउ सडेर जान्थ्यो । यो वर्ष भने प्राङ्गारिक स्याउ जुम्लामै ६० रुपैयाँमा बिक्री हुने गरेको छ ।

पातारासीकी बिजु महताराले बगैंचामै स्याउ खरिद गर्न आएपछि राहत महसुस भएको बताइन् । लामो समयदेखि स्याउ व्यवसाय गर्दै आएकी उनले बिगतमा आफैं स्याउ बोकेर नेपालगन्ज, सुर्खेत जाँदा बाटोमै कुहिने र बजारमा पनि मुल्य नपाउने समस्या भोगेकी थिइन् । ‘पहिले त व्यापारी खोज्दैमा हैरान भइन्थ्यो, अहिले हाइसन्चो भएको छ,’ उनले भनिन्, ‘बल्लतल्ल मिहिनेतको फल खान पाइने समय आयो ।’

सेफ फुट एलाइन्स काठमाडौंका व्यापारी सुहृद चापागार्इँले हालसम्म ४ सय क्विन्टल स्याउ खरिद गरिसकेका छन् । उनले काठमाडौंका विभिन्न केन्द्रसम्म स्थलमार्गबाट स्याउ ढुवानी गर्ने बताए । जुम्लाको स्याउ स्वादिलो, रसिलो र पोषिलो हुने भएकाले माग अधिक रहेको उनको भनाइ छ ।

काठमाडौं मेट्रो तरकारी पुलचोक, कृषि फ्रेस जावलाखेल, किसानको पसल वानेश्वर, खर्जन भैंसीपाटी र स्मार्ट एग्रिकल्चर बागडोलमा बिक्री केन्द्रमार्फत जुम्ली स्याउ बजारमा पुर्‍याउने तयारी गरिएको चापागाईंले बताए । ‘बजारमा जुम्ली स्याउको बढ्दो मागलाई ध्यान दिएर हामीले यहिँ आएर खरिद गरेका हौं,’ उनले भने, ‘यसले स्याउ किसानलाई पनि फाइदा र राहत मिलेको छ ।’

जुम्लामा करिब १९ हजार घरधुरीमध्ये साढे १६ हजार घरधुरीले स्याउ खेती गरेका कृषि विकास कार्यालयको तथ्यांक छ । यस वर्ष ६ हजार १ सय मेट्रिक टन स्याउ फल्ने अनुमान गरिएको छ । जिल्लाभर ३ हजार १ सय हेक्टरमा स्याउखेती गरिएको छ । यद्यपि ८ सय हेक्टरमा मात्रै स्याउ फलेको छ । पछि रोपिएका स्याउ बगैंचामा स्याउ फल्न अझै केही समय लाग्ने कार्यालयको भनाइ छ ।

कार्यालय प्रमुख बालकराम देवकोटाले पछिल्लो वर्षमा सडक पूर्वाधारको विकाससँगै स्याउ खेती बढेको बताए । त्यसमाथि काठमाडौंबाटै व्यापारी बगैंचामै पुग्न थालेपछि राम्रो प्रभाव परेको उनको भनाइ छ । ‘यस वर्ष स्याउ उत्पादन पनि बढेको छ,’ उनले भने, ‘बजारीकरणमा पनि सहज भएपछि स्याउ खेती आम्दानीको बलियो आधार भएको छ ।’

८ वर्षअघि तत्कालीन जिल्ला विकास समितिले जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा गर्‍यो । त्यसपछि बजारमा जुम्ली स्याउको माग बढेको हो । विगतमा विदेशी कार्टुनमा जुम्लाका स्याउ निर्यात गर्दा व्यापारीलाई ठूलो घाटा थियो । अहिले जुम्ली स्याउ आफ्नै पहिचानमा बजारमा जान्छ ।

स्थानीय तहले किसान र व्यापारीलाई ‘जुम्ला स्याउ’ लेखिएको कार्टुन अनुदानमा उपलब्ध गराउन थालेका छन् । यसले गर्दा जुम्ली स्याउलाई बजारमा प्रतिस्पर्धा गर्न सहज भएको कृषि कार्यालय प्रमुख देवकोटा बताउँछन् । जुम्लाको स्याउ काठमाडौं, नेपालगन्ज, विराटनगर, धनगढी, सुर्खेत, पोखरालगायत सहरमा पुग्न थालेको उनको भनाइ छ ।

‘भारतीय र चिनियाँ स्याउ हेर्दा आकर्षक देखिए पनि खाँदा त्यति स्वादिलो हुँदैन,’ उनले भने, ‘त्यही भएर जुम्ली स्याउको माग देशभरिबाट हुन थालेको हो ।’ जुम्लाको स्याउ प्राङ्गारिक भएकोले पनि माग बढेको उनले बताए ।

स्याउलाई सहज बनाएको हो । यद्यपि जुम्लाको स्याउ काठमाडौंसम्म पुग्दा तेब्बरभन्दा बढी मुल्य पुग्छ । अहिले व्यापारीले जुम्लामा प्रतिकेजी ६० रुपैयाँसम्ममा स्याउ किनिरहेका छन् । यो स्याउ जुम्ला पुग्दा भने २ सय रुपैयाँसम्म पर्ने व्यापारीको भनाइ छ । व्यापारी चापागाईंले ‘ए’ ग्रेडको स्याउ काठमाडौं पुग्दा २ सय रुपैयाँमा बिक्री हुने गरेको बताए । कुनै स्याउ त जुम्लामै ९३ रुपैयाँमा खरिद गरेको उनको भनाइ छ । ‘जुम्लीभन्दा चिनियाँ र भारतीय स्याउ महँगो छ,’ उनले भने, ‘जुम्ली स्याउको स्वाद चाखेकाहरूले त्यसपछि भने जुम्ली स्याउ नै खोज्छन् ।’

‘खराब सडककै कारण काटुन हल्लिएर स्याउमा दाग लाग्ने गरेको छ,’ चापागाईंले भने, ‘कतिपय स्याउ त बजारमा पुग्दा बेच्न लायक नै हुँदैनन् ।’ कर्णाली राजमार्गको स्तरोन्नति भएमा जुम्ली स्याउले अझ बढी बजार पाउने उनले बताए । ‘एप्पल फेस्टिबल’ उद्घाटन गर्न जुम्ला पुगेकी कर्णाली प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले पछिल्लो समय जुम्लामा स्याउको व्यावसायीकरणले किसान उत्साही भएका बताइन् ।

उनका अनुसार प्रदेश सरकारले जुम्लाको स्याउ संभावनालाई अझ विस्तार गर्न कोल्ड स्टोर, स्याउ प्रशोधन केन्द्र र बहुउपयोगी स्याउ उद्योग स्थापना गर्ने योजना बनाएको बताइन् । उनका अनुसार कोल्ड स्टोर स्थापनको लागि चालु आर्थिक वर्षमा साढे १ करोड बजेट विनियोजन गरिएको छ ।

प्रकाशित : भाद्र २०, २०७६ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?