२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

खेत कि ताल, डुबानले बेहाल

मनोज पौडेल

कपिलवस्तु — मायादेवी गाउँपालिका–४, तुल्सीडिहवाका मोविन अहमद अहिले पाँच जनाको परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । ऋण गरेर पाँच बिघामा रोपेको धान डुबेको छ । ‘अरू आयस्रोत केही छैन,’ उनले भने, ‘सम्पत्ति भनेकै खेत हो ।’

उनीजस्तै तुल्सीडिहवाका ब्रह्मानन्द यादव आफ्नो खेत चिन्न नसक्ने अवस्थामा छन् । ‘खेत हो कि ताल ? ,’ उनले भने, ‘कसरी छुट्याउने ? जता हेर्‍यो उतै पानी छ ।’ सात बिघामा रोपेको धान खेत सबै डुबेको छ ।

सीमावर्ती मायादेवी–४, तुल्सीडिहवा गाउँ आसपासमा दुई सय हेक्टर धानबाली डुबेको छ । यसपालि गत वर्षभन्दा थोरै डुबानमा परेको हो । भारतले सीमामै पक्की बाँध बनाएको छ । बाँधमा २८ फलामका ढोका छन् । सीमा क्षेत्रमा ताल बनेको छ । त्यसलाई भारतले रिजर्भायर बनाएको छ । भारतले आवश्यकता अनुसार बाँधबाट पानी छाड्छ । पानी नचाहिएका बेलामा त्यहीं जम्मा हुन्छ । पानीको निकास नभएपछि नेपाली किसानको धान र गहुँ डुबाउने गरेको छ ।

दुई साताअघि परेको पानीले धानबाली डुबाएको छ । १ सय ५० कृषक प्रभावित भएका छन् । दुई दशकदेखि डुबानको समस्या रहेको स्थानीय लालमोहर यादवले बताए । ‘पहिला त्यति डुबान हुन्थेन,’ उनले भने, ‘अहिले बजाहाका धेरै ठाउँमा पानी आउन थाल्यो ।’ तालका डिल भारतले अग्लो बनाउँदै लगेको छ । त्यसले उता पानी जान पाउँदैन । त्यो पानी नेपालतिर फर्केर आउँछ ।

त्यसले डुबान बढाउँदै लगेको हो । बजहा ताल दुई सय हेक्टरभन्दा ठूलो छ । यस बाँधले मायादेवीका तुल्सीडिहवा, गौरा, सिसहनिया र पकडी तथा यशोधरा गाउँपालिकाको रजबापुर, तितिर्खा र रंगपुर गाउँसम्मको खेतीयोग्य जमिन डुब्ने गर्छ ।

सबै गाउँपालिकामा गरेर बाँधका कारण चार सय हेक्टरभन्दा बढी खेतीयोग्य जमिन डुबानमा पार्छ । ‘बाँध आसपासका खेतमा उब्जनी स्याहार्न पाए धन्य सम्झिनु पर्छ,’ स्थानीय राघवेन्द्र पाण्डेले भने, ‘कहिल्यै पनि मेसिनले धान काट्न पाइँदैन । सधैं हिलो हुन्छ । मजदुर राखेर काम गर्नुपर्छ । खर्च बढ्छ । पाएको सुविधा पनि उपयोग गर्न पाइँदैन ।’

भारतको सिद्धार्थनगर जिल्लास्थित चिल्हिया थाना अन्तर्गत बाँध निर्माण गरिएको छ । बाँधले ५५२/४७ नम्बरका सीमा स्तम्भ डुबाएको छ । उक्त सीमा स्तम्भ बाह्रै महिना पानीमा डुब्ने हुँदा दुई/तीन वर्षमा ढल्ने गर्छन् । मर्मत गरेर ठड्याउने गरिएको हो । पानीको स्रोत बढाउन भारतीय अधिकारीले तालमा बर्सेनि दक्षिणपट्टिको डिल अग्लो बनाउँदै आएको छ ।

आवतजावत गर्न बाटो भन्दै उक्त डिल उचो बनाउँदै जाँदा डुबान क्षेत्र बढेको स्थानीय बासिन्दाले बताएका छन् । डिलको उचाइ बढ्दै जाँदा नेपालतिर पानी बढी जम्मा हुने गरेको छ । धानको बीउ राख्ने बेला असारतिर पानीले खेतीयोग्य जग्गा डुबान गरेको थियो । त्यतिखेर भारतको सिंचाइ विभागका पालेलाई अनुनयविनय गरेर पानी खोल्न लगाएको स्थानीय हरिराम यादवले बताए ।

अहिले धान डुबेर पहेंलिसकेको छ । ‘डुबान हेरेर बस्नुबाहेक केही गर्न सक्दैनौं,’ यादवले भने, ‘नेपाली अधिकारीलाई जति गुहारे पनि सुनुवाइ हुँदैन ।’ १० वर्षमा डेढ सयपटकभन्दा बढी जिल्ला प्रशासनमा डेलिगेसन गएको कांग्रेस जिल्ला सहसचिव वीरेन्द्र शुक्लाले बताए । ‘हाम्रो ज्ञापनपत्र रद्दीको टोकरीमा फालियो,’ उनले भने, ‘एकपटक हेर्न पनि कोही आएनन् ।’

सिंचाइ गर्न आवश्यक भएका बेला पानी भारतले पानी लैजाने र नचाहिएका बेला यता जम्मा हुने हुँदा डुबान भोग्नु परेको उनले बताए । यो समस्याको स्थायी समाधान खोज्न स्थानीयले माग गरेका छन् । सीमा क्षेत्रका डुबान समस्या समाधान गर्न पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए ।

प्रकाशित : भाद्र २०, २०७६ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?