राजपाका कार्यकर्ताको माग : पहिले महाधिवेशन गर- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजपाका कार्यकर्ताको माग : पहिले महाधिवेशन गर

समाजवादी पार्टीसँग एकताको पहल भइरहँदा दुवै पार्टीको गढ रहेको प्रदेश २ का राजपा नेता कार्यकर्ता भन्छन्– ‘एकताका नाममा पार्टी संगठनलाई बन्धक बनाएर राख्नु राम्रो होइन । पार्टी संगठनलाई जीवन्त राख्न राजपा महाधिवेशन अत्यावश्यक छ ।’
प्रदेश २ ब्युरो

जनकपुर — प्रदेश २ सरकारमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धनको सरकार छ । केन्द्रीय सरकारमा समाजवादी पार्टी मात्र छ । यी दुवै दलबीच एकीकरण प्रयास थालिए पनि दुवै पार्टीको गढ रहेको प्रदेशमा भने राजपाका अधिकांश नेता/कार्यकर्ता पहिला महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । 

२०७३ वैशाख ७ मा ६ वटा पार्टी मिलेर राजपा गठन भएको थियो । पार्टीले आगामी कात्तिकमा महाधिवेशन गर्ने मिति सार्वजनिक गरेको छ । दुई पार्टीबीच विभिन्न चरणमा वार्ता भए पनि त्यो सार्थक भएको छैन ।


एकीकरणमै लागिराख्ने कि महाधिवेशनतर्फ ध्यान दिने भन्नेबारे पनि नेता दोधारमा देखिन्छन् । दुवै पार्टी एक हुनेमा आफू आशावादी रहेको समाजवादी पार्टीका महासचिव राजेशमान सिंहले बताए । ‘जुन हिसाबले वार्ता चलिरहेको छ, त्यसले नै देखाउँछ नेताहरू एकताप्रति कति गम्भीर छन्,’ उनले भने, ‘एकता भएपछि पार्टी एउटा ठूलो शक्तिका रूपमा उदाउनेछ ।’


कार्यकर्ता पार्टी एकीकरणको पक्षमै देखिएको उनले सुनाए । केही तत्त्व एकताविरुद्ध पनि लागेको उनको भनाइ छ । ६ पार्टी मिलेर गठन भएको राजपामा अन्तर्द्वन्द्व छ । नेताहरूले आलोपालो अध्यक्ष पद लिने गरेका छन् । तीन वर्षअगाडि राजपा गठन भए पनि तल्लोस्तरसम्म पार्टी एकीकरण नभएको राजपाका अर्का महासचिव शिव पटेलले जानकारी दिए । ‘आफ्नो पार्टी व्यवस्थित गरेर अर्को पार्टीसँग एकीकरण गर्नुपर्थ्यो,’ उनले भने, ‘राजपामा अहिले ६ जनाको अध्यक्षमण्डल छ । समाजवादी पार्टीसँग एकता भएपछि कति जनाले अध्यक्ष पद पाउँछन् ।’


पार्टीमा तीन दर्जनभन्दा बढी उपाध्यक्ष र ३२ जना महासचिव छन् । ‘हरेक जिल्लामा गुटबन्दी छ,’ उनले भने, ‘पहिले आफ्नो पार्टी व्यवस्थित गरी एकीकरणको प्रयास गर्नुपर्थ्यो ।’ पार्टी लोकतान्त्रिक मान्यतामा नचलेको उनको आरोप छ । ‘महाधिवेशनमार्फत पार्टी व्यवस्थित गर्न आवश्यक छ,’ उनले भने, ‘कात्तिकमा महाधिवेशन गर्ने भनिए पनि कुनै छाँट देखिएको छैन ।’


६ पार्टी मिलेर गठन भएको राजपाको हालसम्म एकपटक मात्र केन्द्रीय कार्यसमिति र दुईपटक पदाधिकारीको बैठक बसेको उनले जानकारी दिए । मधेस राजनीतिका एक जानकारका अनुसार राजपामा आपसी मतभेद कायमै राखी समाजवादी पार्टी सत्तामा टिकिराख्ने रणनीतिबमोजिम एकीकरणको ‘कार्ड’ ल्याइएको हो ।


‘ढिलोचाँडो राजपा महाधिवेशनमा जान्छ,’ उनी भन्छन्, ‘समाजवादी पार्टी र राजपाको एकता कठिन छ ।’ पार्टी एकीकरण पनि नीति र सिद्धान्त मिल्नेसँग गर्ने हो । समाजवादी पार्टीको लाइन कार्यकारी राष्ट्रपतिको पक्षमा छ, राजपामा यस विषयमा छलफलै भएको छैन ।’ राजपा मधेसकेन्द्रित दल हो । समाजवादी पार्टी मधेस, पहाड र हिमालका पार्टी मिलेर गठन भएको हो ।


‘एकताका नाममा महाधिवेशन रोकेर पार्टी संगठनलाई धराशायी बनाउनुभएन,’ राजपाका नेता दिनेशकुमार यादवले भने, ‘एकताको विषयवस्तु चलिइरहन्छ । तर समयमा महाधिवेशन गर्नेतर्फ पनि नेतृत्वको ध्यान पुग्नुपर्छ ।’


पार्टीले तत्काल महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने राजपा अध्यक्षमण्डल सप्तरीका सदस्य सुनीलकुमार झाले बताए । ‘एकताका नाममा पार्टी संगठनलाई बन्धक बनाएर राखिनु राम्रो होइन,’ उनले भने, ‘पार्टी संगठनलाई जीवन्त राख्न राजपाको महाधिवेशन अत्यावश्यक छ ।’


महाधिवेशन नहुँदा संगठन सुदृढीकरणमा गम्भीर असर परिरहेको उनले बताए । ‘महाधिवेशन नहुँदा अहिले जिल्लामा पार्टी संगठनको अवस्था लथालिंग छ,’ झाले भने, ‘एकताको विषय राम्रो हो । तर हुन नसकिरहेको सन्दर्भमा त्यसलाई मात्रै समातेर बस्नु पनि नेतृत्वका लागि राम्रो होइन ।’


राजपा अध्यक्षमण्डल सप्तरीका अर्का सदस्य सतिशकुमार सिंहको भनाइ पनि अघिल्ला दुई नेता जस्तै छ । ‘स्थानीयस्तरमा राजपाको सांगठनिक गतिविधि सुस्त छ,’ उनले भने, ‘पार्टीको शीर्ष तहले महाधिवेशनको विषयलाई प्रमुखता दिएर पार्टी संगठनमा इनर्जी ल्याउनुपर्छ ।’


मधेसी मोर्चाका ७ घटकमध्ये तत्कालीन संघीय समाजवादी फोरम नेपालबाहेक तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच एकीकरण भई ०७४ वैशाख ७ मा राजपा नेपालको निर्माण भएको हो ।


यसका पछाडि कार्यकर्ताको दबाब, शक्तिमान बन्ने सोच र अन्तर्राष्ट्रिय दबाबले समेत काम गरेको जानकारहरू बताउँछन् । राजपा निर्माण भएपछिको तदर्थ विधानमा एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने भनिएको थियो । तर आन्दोलन, स्थानीय र प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै राजपा नेपालले आफ्नो तदर्थ विधानमा संशोधन गर्‍यो । र, २ वर्षभित्र महाधिवेशन गर्ने व्यवस्था गर्‍यो । म्याद थपेपछि राजपाले २०७६ असार २३ सम्म महाधिवेशन गरिसक्नुपर्ने थियो ।


सोही समय सीमाभित्र रहने गरी ०७६ वैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने निर्णय राजपाले गरेको थियो । ०७५ फागुनभित्र सदस्यता वितरण गरेर त्यसपछि वडा, पालिका, प्रदेशसभा क्षेत्रस्तरीय, प्रतिनिधिसभा क्षेत्रस्तरीय, महाधिवेशन प्रतिनिधि छनोट र जिल्ला अधिवेशन गर्दै प्रादेशिक एवं महाधिवेशन एकैसाथ गर्ने राजपा नेपालले बताएको थियो । तयारी अभाव, एकतालगायत विषयमा पुनः राजपाले स्थापनाको ३ वर्षभित्र अधिवेशन गर्ने गरी विधान संशोधन गरेको थियो ।


पार्टीले आगामी कात्तिक २८, २९ र ३० का लागि महाधिवेशनको मिति तोकेको राजपा नेपालका महासचिव केशव झाले जानकारी दिए । ‘एकताको चर्चा चलिरहेको छ । एकता भए एकीकृत महाधिवेशन हुन्छ, नभए कात्तिकमा हाम्रो महाधिवेशन हुन्छ,’ झाले भने ।

'पहिले महाधिवेशन, पछि एकता’

बारामा राजपाका अधिकांश नेता–कार्यकर्ताको मत भने पहिले महाधिवेशन गरेर पार्टी एकीकरण गर्नुपर्ने देखिन्छ । राजपामा तलदेखि माथिसम्म चक्रीय अध्यक्षात्मक प्रणाली छ । ६ पार्टी मिलेर राजपा बनेदेखि अहिलेसम्म न जिल्ला अधिवेशन न त केन्द्रको महाधिवेशन भएको छ ।


राजपाले कात्तिक अन्तिममा महाधिवेशन गर्ने भनेर पार्टीले यसअघि नै तय गरिसकेको छ । यसै आधारमा जिल्लामा सदस्यता नवीकरणदेखि जिल्लाको अधिवेशन गर्ने प्रक्रिया सुरु भइसकेको अवस्थामा संघीय समाजवादी र राजपाबीच एकीकरण गर्ने बहस चलेपछि ती प्रक्रिया अहिले अवरुद्ध छन् ।


पार्टीको संरचना लथालिंग भएको अवस्थामा पहिले पार्टी महाधिवेशन आवश्यक रहेको जिल्लाका युवा नेता श्याम गुप्ताले बताए । ‘६ पार्टी एक ढिक्का भएर महाधिवेशन गरेर एउटा संरचना बनेपछि मात्र एकीकरण गर्दा पदलगायतको भूगोलमा बाँडफाँट गर्न सजिलो हुन्छ । अहिलेकै लथालिंग र चक्रीय अध्यक्षात्मक नेतृत्व प्रणाली भएको बेलामा एकता गर्नु ठीक छैन ।’


पार्टीको एकताका लागि पहल जारी हुनु स्वाभाविक भए पनि हैसियत र मतादेश स्थापित गर्नुअघि पार्टी एकीकरण गरे राम्रो नहुने राजपा बाराका सहमहामन्त्री जितेन्द्र सिंहको भनाइ छ । ‘पहिले आफ्नैभित्र ‘सिस्टम’ छैन, अरूसित कसरी ‘सिस्टम’ मा बस्ने ?’ राजपाकी स्थानीय महिला नेत्री पिंकी यादवले भनिन्, ‘त्यसैले पहिले महाधिवेशन र त्यसपछि पार्टी एकीकरण हुनुपर्छ ।’


शीर्ष नेताकै जिल्लामा फरक मत

राजपाका केन्द्रीय नेता महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवको गृहजिल्ला सर्लाहीमा महतो र यादव निकटका नेता तथा कार्यकर्ताले एकता हुनुपर्नेमा जोड दिएका छन् । ठाकुर निकटका नेता तथा कार्यकर्ता भने महाधिवेशन गरेर एकता गर्नुपर्ने पक्षमा छन् ।


पार्टी एकताले महाधिवेशन ओझेलमा पर्ने हो कि भन्दै राजपाका जिल्ला तहका नेता तथा कार्यकर्ताले महाधिवेशनमा जोड दिएका हुन् । ‘पार्टीको महाधिवेशन गरेर एकता गर्‍यो भने पार्टी थप मजबुत हुन्छ, पार्टीको एकीकरणमा बार्गेनिङ पावर पनि बढ्छ,’ सर्लाहीको क्षेत्र नम्बर ४ का नेता राकेश मि श्रले भने, ‘महाधिवेशन सकेर पार्टी एकीकरण गर्नुपर्छ ।’ यता यादव र महतो पक्षका नेता तथा कार्यकर्ताले पार्टी एकताले बलियो शक्ति बनाउने भएकाले एकतामा जोड दिएका छन् ।


भूषण यादव (वीरगन्ज), ओमप्रकाश ठाकुर (सर्लाही), लक्ष्मी साह (बारा) र अवधेशकुमार झा (सप्तरी)

प्रकाशित : भाद्र २०, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्

आधा दर्जन गाउँ डुबानमा

प्रदेश २ ब्युरो

जनकपुर — प्रदेश २ मा बाढी र डुबानमा १० जनाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण आएको बाढीमा धनुषा, रौतहट, बारा र पर्सामा २/२ जना र महोत्तरी, सिरहामा १/१ जना गरी १० जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । डीएसपी ज्ञानकुमार महतोका अनुसार प्रदेशका ८ जिल्लामा १० जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् । 

धनुषाको जनकनन्दनी र चारनाथमा दुई पुरुषको शव फेला परेको छ । दुवैको डुबेर मृत्यु भएको अनुमान छ । वीरगन्ज–१३ का १४ वर्षीय अनुप पटेलको शव सबैठा खोलामा फेला परेको छ । पर्साको पर्सागढी–१ का १० वर्षीय निखिल पटेलको सिंग्याही खोलामा बगेर मृत्यु भएको छ । बाराको परवानीपुर–१ का अरविन्द यादवका १८ महिने छोरा विक्कीको घर पछाडि जमेको पानीमा डुबेर मृत्यु भएको छ ।

बाराको कलैया–१३ मा बाटो बनाउन खनिएको खाल्डोमा डुबेर स्थानीय १३ वर्षीय अजित साहको मृत्यु भएको छ । रौतहटको गौर–३ का ४० वर्षीय शिवमंगल पटेलको टिकुलिया नदीमा डुबेर मृत्यु भएको छ । गौरकै उमेश राउतको डुबेर मृत्यु भएको छ । बाख्रा चराउन गएकी सिरहाको मिर्चैया–४ की १० वर्षीया रागनीकुमारी महतोको खाल्डोमा डुबेर मृत्यु भएको छ । महोतरीको भंगहा–४ रातु खोलामा करिब १५ वर्षीय किशोरको शव फेला परेको छ ।

कमला नदीको पश्चिमी तटबन्ध भत्केर आएको भेलले जनकपुर–जयनगर रेल्वेको नवनिर्मित लिक भत्काएको छ । आधा दर्जन गाउँ डुबानमा छन् । घर डुबेका सयौं परिवारले विद्यालय र मठमन्दिरमा शरण लिएका छन् । नेपाल रेल्वेका इन्जिनियर विनोद ओझाका अनुसार खजुरी र इनर्वा रेल्वे स्टेसन बीचमा झन्डै ७० मिटर लिक बाढीले बगाएको छ । कमलाको भेल रेलवे लिक भएकै क्षेत्रबाट बगेको छ ।

जनकनन्दनी–१ मलहनियानजिक शनिबार कमला नदीको पश्चिमी तटबन्ध भत्केको थियो । कमला नदी सरोकार समूहका अध्यक्षसमेत रहेका कांग्रेस जिल्ला सचिव विशेश्वर यादवका अनुसार तटबन्ध भत्किँदा मलहनिया, इनर्वा, फूलबरिया, कठाल, बलहा, पतनुका र ढोलवज्जालगायतका गाउँ डुबानमा परेका छन् । फुसको छानो भएका दर्जनौं घर भत्केका छन् । इनर्वास्थित प्रहरी चौकीमा पानी पसेपछि सुरक्षाकर्मीको पनि बिजोग छ ।

विपद व्यवस्थापनबारे मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायसित आइतबार बैठक गरेका छन् । बैठकमा सुरक्षा अधिकारीहरूले प्रदेशमा बाढीबाट भएको क्षतिबारे मुख्यमन्त्री राउतलाई बताएका थिए ।

विपद् व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीका लाइफ ज्याकेट, सोलार चार्जर र रबर बोट लगायतका उद्धार सामग्री आवश्यक भएको सुरक्षा प्रमुखहरूको भनाइ थियो । उद्धारपछि राहत वितरणको कामलाई प्रभावकारी बनाउन मुख्यमन्त्री राउतले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए ।

बैठकमा प्रदेश सरकारका प्रमुख सचिव दीपक सुवेदी, मन्त्रालयहरूका सचिव, सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखको सहभागिता थियो । प्रदेश सरकारले राहत वितरणका लागि आठै जिल्लाका विपद् व्यवस्थापन समितिलाई १०/१० लाख, मृतक परिवारलाई ३/३ लाख आर्थिक सहयोग गर्ने निर्णय गरिसकेको छ ।

माछापोखरीमा धेरै क्षति
बाढी र डुबानले माछा र कुखुरापालन गरेकाहरूलाई करोडौंको नोक्सानी पुर्‍याएको छ । जनकपुरमा आइतबार सरकारी अधिकारीहरूले प्रदेश २ मा माछापालनको क्षेत्र ७० प्रतिशत क्षति पुगेको आँकडा प्रस्तुत गरे । बाढी र डुबानले करिब ११ हजार पोखरीको माछा बगेको जानकारी कार्यक्रममा दिइयो ।

प्रदेशमा १५ हजार ६ सय ६७ पोखरीमा व्यावसायिक माछापालन हुन्छ । माछा पालिएको बाराका २ हजार ४ सय ८१, सप्तरीका १ हजार ८ सय ७९, धनुषाका १ हजार ६ सय ४७, सिरहाका १ हजार ६ सय १५ र महोत्तरीमा १ हजार ९ सय ३५ पोखरीमा बाढीले क्षति पुर्‍याएको छ । सर्लाहीका ९ सय ८७ र रौतहटमा ९ सय ३७ वटा माछापोखरीमा क्षति पुगेको छ ।

प्रदेशको भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयका अनुसार निजी क्षेत्रमा भएको क्षतिको विवरण संकलन भइरहेको छ । धनुषाको हंसपुर–२ मा रहेको सिंह माछा तथा कृषि केन्द्रको २ हजार ५० वटा कुखुरामा क्षति पुर्‍याएको छ । केन्द्रका सञ्चालक बिमलेश सिंहका अनुसार बाढी र डुबानले दुईवटा पोखरीको माछा पनि बगाएको छ ।

घर र गोदाम डुबानमा
वीरगन्जको आदर्शनगरमा शनिबार बिहानैदेखि मुख्य सडकमै खोलाजस्तो भेल बग्यो । घर, पसल र गोदाममा पानी पसेपछि यस क्षेत्रका व्यवसायीले करिब २ करोड रुपैयाँको क्षति भएको बताएका छन् ।

बाँके बिहारी इन्टरप्राइजेजका व्यवस्थापक दिगम्बर सिंहले गोदाममा पानी पस्ता करिब १७ लाखका कम्प्युटर उपकरण नष्ट भएको बताए । श्याम इन्टरनेसनल एन्ड सप्लायर्सका व्यवस्थापक सौरभ चौधरीले करिब ७ लाख रुपैयाँका रेडिमेड कपडामा क्षति पुगेको बताए ।

गौरको जनजीवन सामान्यतर्फ
वाग्मती र लालबकैया नदीमा आएको बाढी बस्तीमा पस्दा अस्तव्यस्त रौतहटको सदरमुकाम गौरमा जनजीवन सामान्य हुन थालेको छ । पानी घट्न थालेपछि मानिसहरू घरबाट बाहिर निस्कन थालेका छन् । केही पसलहरू खुलेका छन् ।

पसल डुबानमा परेका अधिकांश व्यापारी आइतबार दिनभर पानी बाहिर फाल्न व्यस्त थिए । पानीको सतह झन्डै ७ फिट पुगेपछि सबैका पसल डुबेका थिए । सरकारी कार्यालयहरू धेरैजसो अझै बन्द छन् । भित्र पानी पसेपछि जिल्ला प्रशासन कार्यालयका कागजपत्रमा क्षति पुगेको छ ।

गौरको भन्सार क्षेत्रका विस्थापित परिवार घर फिर्न सकेका छैनन् । उनीहरूलाई प्रदेश सांसद बाबुलाल साहले आइतबार राहत वितरण गरे । भारतीय पक्षले दसगजामा बनाएको बाँधको दुई ढोका खोलेपछि पानीको सतह घटेको जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताए । ‘निकास खोलिएपछि झन्डै ८० प्रतिशत पानी घटेको छ, उनले भने ।

प्रकाशित : असार ३०, २०७६ १०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×