डेंगु प्रकोप देशैभरि

कृषिमन्त्री र दुई चिकित्सकसहित १३ स्वास्थ्यकर्मी पनि संक्रमित
अतुल मिश्र, सीमा तामाङ

काठमाडौँ — राजधानीलगायत देशैभरि डेंगु संक्रमण बढेको छ । मन्त्री र उपचारमा संलग्न चिकित्सकहरू पनि बिरामी परेका छन् । देशैभरि डेंगुको संक्रमण फैलिइरहँदा सरकार भने औलो नियन्त्रणका उपाय खोज्न थालेको छ ।

डेंगु प्रकोप देशैभरि

राजधानीमा मात्रै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका २ चिकित्सकसहित १० जना, नेपाल जनस्वास्थ्य प्रयोगशालाका दुई र इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक स्वास्थ्यकर्मीलाई डेंगु संक्रमण भएको हो ।

मन्त्री खनाल डेंगु ज्वरोले थलिएपछि बुधबार ग्रान्डी इन्टरनेसनल हस्पिटलमा भर्ना भएका छन् । उनलाई १०३ डिग्रीसम्म ज्वरो आएको थियो । बिहीबार ज्वरो घटेको छ । अस्पतालले उनलाई डेंगु नै भएको आधिकारिक रूपमा जनाएको छैन । उपचारमा संलग्न एक चिकित्सकका अनुसार खनाललाई हेमोरेजिक वा डेंगु सक सिन्ड्रोमको लक्षण देखिएको छैन, साधारण डेंगु देखिएको हो ।

उनलाई आईसीयू सुविधा उपलब्ध भएको भीआईपी कक्षमा राखिएको छ । खनाललाई केही दिन अस्पतालमै राख्नुपर्ने चिकित्सकले बताएका छन् । ‘हामीले पनि वाचफुल बन्नुपर्छ तर अहिले आत्तिनु पर्दैन,’ अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले कान्तिपुरसँग भने, ‘हाल उहाँको उपचार जारी रहनुका साथै स्वास्थ्य स्थिति नियन्त्रणमा छ ।’

ईडीसीडीका अनुसार यो वर्ष साउनयता विभिन्न अस्पतालमा भर्ना भएका डेंगु बिरामीको संख्या करिब ३ हजार नाघिसकेको छ । अस्पतालको बहिरंग सेवाबाट उपचार गराएर घरमै स्वास्थ्य लाभ गर्नेको संख्या भने अझै यकिन भएको छैन ।

ईडीसीडी स्रोतका अनुसार साउनयता प्रदेश १ मा ७५२, प्रदेश २ मा २३, प्रदेश ३ मा १३४४, गण्डकी प्रदेशमा ६७७, प्रदेश ५ मा १०८, सुदूरपश्चिममा १२ र कर्णाली प्रदेशमा २ जनामा डेंगु संक्रमण पाइएको छ । डेंगु संक्रमण भएकामध्ये करिब ७५ प्रतिशतमा लक्षण सामान्य हुने वा नदेखिने टेकु अस्पतालका डा. शेरबहादुर पुनले बताए । उनका अनुसार यो वर्ष मुलुककै इतिहासमा सबैभन्दा बढी र कडा रूपमा देशव्यापी डेंगुको प्रकोप देखिएको हो ।

काठमाडौंको लगन क्षेत्रमा बिहीबार डेंगु सार्ने लामखुट्टे मार्ने औषधिको धूवाँबाट जोगिने प्रयासमा बालिका । काठमाडौं महानगरको वातावरण विभागले यसरी औषधि छर्किए पनि डेंगु नियन्त्रणमा प्रभावकारी नहुने बरु लामखुट्टेको अन्डा, प्युपा र लार्भा नष्ट गर्न अभियान चलाउनुपर्ने चिकित्सकले बताएका छन् ।तस्बिर : बिजु महर्जन/कान्तिपुर

‘मुलुकको आधाभन्दा बढी भाग डेंगुले ढाकिसक्यो,’ डा. शेरबहादुर पुनले भने, ‘हाम्रो अस्पतालको फिभर क्लिनिकमा दिनहुँ औसत २५० जना डेंगुका शंकास्पद बिरामी उपचारका लागि आइरहेका छन् ।’

ग्रान्डी हस्पिटलमा अहिले डेंगुका धेरै बिरामी भर्ना भएका छन् । ‘२३ वर्षयता यति धेरै डेंगुको संक्रमण देखेको थिइनँ,’ अस्पतालका निर्देशक पाण्डेले भने । सरकारले राष्ट्रियस्तरमै संवेदनशील भएर नियन्त्रण प्रक्रिया बलियो बनाउनुपर्ने उनले बताए । चिकित्सकका अनुसार सामान्य डेंगुका बिरामी करिब एक सातामा आफैं निको हुन्छन् ।

ज्वरो आउनेबित्तिकै अस्पताल भर्ना हुनु नपर्ने र चिकित्सकीय सल्लाहमा घरैमा समेत उपचार गर्न सकिने टेकु अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बताए । ‘गम्भीर प्रकारको डेंगु (हेमोरेजिक र सक सिन्ड्रोम) देखिए तुरुन्त अस्पताल भर्ना गरेर उपचार गर्नुपर्छ,’ उनले भने ।

सामान्य डेंगुका बिरामीले ४ घण्टामा पिसाब लाग्ने गरी तरल र झोल पदार्थ सेवन गर्दा धेरै राहत मिल्ने डा. पुन बताउँछन् । उनका अनुसार अलिअलि ज्वरो आएर जीउ दुख्दा औषधि पसल गएर आफैंले ब्रुफिन, एस्प्रिनजस्ता दुखाइनाशक औषधि सेवन गर्नु खतरनाक हुन सक्छ । जीउ दुख्नु, उच्च ज्वरो आउनु र आँखाका गेडी दुख्नु डेंगुका लक्षण हुन् । डेंगु भाइरसले संक्रमित लामखुट्टेले टोकेको ३ देखि १० दिनभित्र शरीरमा यसको लक्षण देखिन सक्छ ।

भाइरसबाट हुने डेंगु एक व्यक्तिबाट अर्कोमा फैलिँदैन । अहिले देशैभरि फैलिएको डेंगुको प्रसार सबैभन्दा बढी पोथी एडिस एजेप्टाई लामखुट्टेका कारण भइरहेको छ ।

एडिस एल्बोपिक्टस लामखुट्टेले पनि डेंगु सारेको पाइएको छ । यो प्रजातिको लामखुट्टेले जिका, चिकनगुनिया र यलो फिभरसमेत सार्ने गरेको चिकित्सकले बताएका छन् । नेपालमा डेंगुको पहिलो रिपोर्टेड केस सन् २००४ मा चितवनमा एक विदेशीमा देखिएको थियो । यो संक्रमणको पहिलो प्रकोप सन् २००६ मा चितवनमै देखिएको थियो ।


ग्रान्डी अस्पतालमा उपचाररत कृषिमन्त्री चक्रपाणि खनाल ।

सरकारको ध्यान औलोतिर

देशैभरि डेंगुको संक्रमण फैलिइरहँदा सरकारले भने औलो नियन्त्रणका उपाय खोज्न बैठक बोलाएको छ । स्वास्थ्य सेवा विभागले शनिबारदेखि प्रदेश ३ का १३ जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख र मलेरिया फोकल पर्सनको बैठक गर्न लागेको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार हालको अवस्थामा प्रकोपकै रूपमा देखिएको डेंगु नियन्त्रणका लागि यस्तो बैठक गर्नु उपयुक्त हुने सल्लाह दिइए पनि औलोको विषयमा बैठक गर्न लागिएको हो । ‘यो समय सान्दर्भिक छैन, पछि गर्न सकिन्छ,’ स्वास्थ्य सेवा विभागका एक अधिकारीले भने, ‘स्वास्थ्य मन्त्रालयले हाल डेंगु नियन्त्रणमा सबै शक्ति लगाउनुपर्छ ।’

औषधि छर्कंदै

देशभर डेंगुका बिरामी फेला पर्न थालेपछि काठमाडौँ महानगरको वातावरण व्यवस्था विभागले राजधानीमा डेंगु नियन्त्रणका लागि प्रयास गरेको छ । बिहिबार सुन्धारानजिकै लगनटोलमा क्रुपी फाउन्डेसनका किरण लामा हातमा मेसिन बोकेर घूवाँ स्प्रे गराइरहेका थिए । लगन टोलका चोक–चोक, बाटोका कुना–काप्चा र पानी जम्न सक्ने तथा पानी जमेका सम्भावित ठाउँमा औषधि छरिरहेका थिए, लामा ।

अहिले काठमाडौंमा १० फगर मेसिनद्वारा औषधि छर्किरहेको क्रुपी फाउन्डेसनका मोर्केटिङ अफिसर शुक्रराज नेम्वाङले बताए । ‘मेसिनबाट ठूलो आवाजसँगै धूवाँ छर्किने भएकाले महानगर तथा सम्बन्धित निकायसँग अनुमति लिएर यो अभियान चलाइरहेको छ,’ उनले भने । पेट्रोल, डिजेल र मालाथिन विषादी मिसाएर केमिकल तयार पारिन्छ । देशभर देखिएको डेंगुको संक्रमण नियन्त्रण गर्न फाउन्डेसनले कोरियाली सहयोगमा औषधि छर्ने अभियान चलाएको उनले बताए ।

काठमाडौंका होटल, कलेज, एम्बेसी, राष्ट्रपति भवनलगायत ठाउँमा त्यहाँका सम्बन्धित व्यक्ति तथा निकायसँग सहकार्य गरेर औषधि छर्किरहेको छ । उपत्यकालगायत अन्य जिल्लामा पनि औषधि छर्ने योजना फाउन्डेसनको छ । कोरियाबाटै ल्याइएको यो मेसिनमा औषधि तथा केमिकल घोलेर लामखुट्टे बस्न सक्ने ठाउँमा छरिरहेको छ । डेंगुको संक्रमण देखिएका विभिन्न ठाउँमा उक्त मेसिनबाट स्प्रे गर्ने अभियान राजधानीसहित बाहिरका जिल्लामा पनि लगिने उनले बताए ।

प्रकाशित : भाद्र २०, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?