कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चक्कुको बिँडभित्र आधा किलो सुन

जनकराज सापकोटा

काठमाडौँ — नेपाल एयरलाइन्सको विमानबाट बुधबार बिहान ८ः४० मा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका सन्तोषकुमार नेपाली विमानस्थलभित्रै पक्राउ परे । वैदेशिक रोजगारीका लागि कतार पुगेका उनी फर्कने क्रममा समातिएका हुन् ।

चक्कुको बिँडभित्र आधा किलो सुन

कारण थियो, उनले ल्याएको दुई चक्कुको बिँड, जसभित्र ४ सय ८२ ग्राम सुन लुकाइएको थियो । ठूलो प्रकृतिका संगठित सुन तस्करी घटनामा दृश्यमा नदेखिए पनि पछिल्ला दिनमा तस्करीका शैली बदलिएका छन् ।


सन्तोषको प्रारम्भिक बयानअनुसार दोहा विमानस्थलमै भेटिएका पोखरा घर बताउने एक अपरिचितले उक्त चक्कु पठाएका थिए, जसबापत चिया खर्च भनेर ५ सय रुपैयाँ दिइएको छ । नेपाली दाजुभाइको घर लैजाने सामान भन्ठानेर आफूले चक्कु ल्याएको र त्यसभित्र सुन छ भनेर कल्पनै नगरेको दाबी उनको छ । चक्कु लिन विमानस्थल आएका सुजनकुमार घले पनि पक्राउ परेका छन् । विमानस्थलका एसपी कृष्ण कोइरालाका अनुसार पक्राउ परेका घले सुन पठाउनेका सालो भन्ने बुझिएको छ ।


संगठित सुन तस्करले वैदेशिक रोजगारीबाट फर्कने कामदारलाई केही सय रुपैयाँका लोभमा अनेक सामानभित्र सुन बोकाएर पठाउने क्रम बढेको देखिन्छ । २२ असारमा पनि कतारबाट फर्केका लीलाबहादुर बस्नेत ४ सय ५० ग्राम सुनसहित पक्राउ परेका थिए । विमानस्थलमा भेटिएका एक अपरिचितले उनलाई आफ्नी श्रीमती भर्खरकी सुत्केरी भन्दै नेपालमा गतिलो डाइपर नपाइने बताएर डाइपरको पोको पठाएका थिए ।


उनी विमानस्थलमा पक्राउ परेपछि डाइपरको टाँकभित्र मसिना दाना आकारका चार सय ग्राम सुन बरामद भएको थियो । बाबुको मृत्युपछि किरिया गर्न फर्केका बस्नेतलाई जिल्ला अदालत काठमाडौंले २० लाख धरौटी मागेको छ । उनी धरौटी बुझाउन नसकेर थुनामै छन् । संगठित सुन तस्करले अवैध सुन ओसारपसार गर्न अनेकन ‘टेस्ट’ गराइरहेजस्तो देखिन्छ ।


थोरै परिमाणमा सुन पठाएर गरिने यस्तो ‘टेस्ट’ सफल भएमा त्यही तरिका दोहोर्‍याउने र असफल भए शैली फेर्ने गरेको एसपी कृष्ण कोइरालाको भनाइ छ ।


गृह मन्त्रालयले संगठित सुन तस्करीको सञ्जाल ध्वस्त पारेको बताइरहँदा प्रहरीले आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा मात्रै अवैध सुन कारोबारमा संलग्न १ सय ७ जनालाई पक्राउ गरी ८४ किलो अवैध सुन बरामद गरेको बताएको छ । ७ साउनमा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री रामबहादुर थापाले संगठित सुन तस्करीको नियन्त्रणमा मूलभूत रूपमा सफल भएको दाबी गरेका थिए ।


त्यसकै दुई दिनपछि गोरखाको धार्चे गाउँपालिका ३ को ओडारमा लुकाएर राखिएको १६ केजी अवैध सुन बरामद भएको थियो । तिब्बतबाट स्थलमार्ग हुँदै ल्याइएको उक्त सुन गोरखाबाट भारतीय बजारमा लैजाने तयारी भइरहेको प्रहरी अनुसन्धानले देखाएको छ । घटनाले संगठित सुन तस्करले ओसार्ने रुट बदल्ने गरेकोसमेत देखाउँछ ।


गत २८ चैतमा चीनको कुनमिङबाट काठमाडौं आएका दुई चिनियाँ नागरिकले मलद्वारमा साढे तीन किलो सुन लुकाएर ल्याएको अवस्थामा विमानस्थल प्रहरीले पक्राउ गरेको थियो । विमानस्थलको एक्सरे मेसिनमा अस्वाभाविक आकृति देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।


प्रारम्भिक बयान इन्कार गरेपछि सिनमंगलमा रहेको एक अस्पतालमा लगेर पखाला चलाउने औषधि खुवाएर दिसा गराइएको थियो । तीन जनाको दिसाबाट साढे तीन किलो सानो बिस्कुट आकारका सुन बरामद भएको थियो । फरक–फरक मितिमा भएका सुन तस्करीका फरक शैलीका घटनाका आधारमा प्रहरीले निष्कर्ष निकालेको छ, ‘सुन तस्करीको नयाँ–नयाँ शैलीको टेस्ट निरन्तर जारी छ ।’

प्रकाशित : भाद्र २०, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?