सेतो पुतलीदेखि सावधान !

दीपक परियार

पोखरा — बेलुका राम्रैसँग सुतेका बागलुङ तित्याङका १२ वर्षीय सन्दीप परियारले भोलिपल्ट बिहान बेस्सरी आँखा मिच्न थाले । दाहिने आँखा मिच्दामिच्दै रातो भयो । धमिलो देख्न थाले । उनकी आमा सीता झारफुकमा लागिन् । बिसेक नभएपछि पर्सिपल्ट छोरालाई धौलागिरि अञ्चल अस्पताल पुर्‍याइन् ।

त्यहाँबाट पोखराको हिमालय आँखा अस्पताल रेफर गरियो । आँखा दुखेको ४ दिनपछि बिहीबार पोखरा आउँदा सन्दीपलाई ‘सापु’ भएको पत्ता लाग्यो । अस्पताल भर्ना भएर उपचार गरिरहेका छन् ।


पोखरामा भदौ १६ यता सन्दीपजस्ता सापुका ८ बिरामी भेटिएका छन् । सुरुमा आँखा रातो भएर दृष्टि गुम्नेसम्मको खतरा हुने यो रोगको स्रोत पत्ता लाग्न सकेको छैन । २०३२ मा पोखराको लामाचौरमा पहिलोपटक यो रोग भेटिएको थियो । आँखा रोग विशेषज्ञ मदनप्रसाद उपाध्यायले नेपालमा पहिलोपल्ट यो रोग पत्ता लगाएका हुन् । उनैले यो रोगलाई सिजनल हाइपरसुट पन्युवाइटिस (एसएचएपीयू–सापु) नाम दिएका हुन् ।


उपाध्यायका अनुसार हालसम्म सेतो पुतली (मोथ) लाई सापुको कारकका रूपमा प्रायः जोडिने गरेको छ । सेतो पुतलीको संसर्गमा नआएका बिरामीमा पनि यो रोग देखा परेको छ ।


बिरामीको आँखामा सूक्ष्म जीवाणु (ब्याक्टेरिया) र विषाणु (टक्सिन) समेत पाइएको छ । ‘यो रोग लाग्ने स्रोतको पहिचान नभइसकेकाले रहस्यमयी छ,’ बीपी नेत्र प्रतिष्ठानका अध्यक्ष उपाध्यायले भने, ‘सेतो पुतलीका कारण सापु हुन्छ भन्ने तथ्यमा नजिक छौं तर शतप्रतिशत स्थापित गर्न सकेका छैनौं ।’


बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र महाराजगन्जकी सहायक प्राध्यापक डा. रञ्जु खरेलका अनुसार यो रोग हरेक अंग्रेजी बिजोर वर्षमा देखिँदै आएको छ । यसले बालबालिकामा बढी असर पुर्‍याउँछ । वर्षातको अन्त्यबाट यो रोग देखापर्छ । पुस र माघसम्म पनि बिरामी भेटिन्छन् । यो रोग लाग्दा एक्कासि आँखा रातो हुन्छ । चिप्रा लाग्दैन । उज्यालोमा हेर्न सकिँदैन । आँखाको दृष्टि तत्कालै घट्छ । आँखामा दुखाइ बढी हुन्छ । नानी सेतो हुँदै जान्छ । पिपैपिप जम्छ ।


‘यसको उपचार भनेकै जतिसक्दो छिटो आँखा अस्पताल पुगेर पिप निकाल्नु हो,’ डा. खरेलले भनिन्, ‘आँखाको पर्दा सुरक्षित नभए च्यातिन्छ । त्यो अवस्थामा पुग्दा आँखाको ज्योति गुम्छ ।’ आँखा रातो हुनेबित्तिकै थोपा औषधि राखेर घरमै उपचार गर्न नहुने उनले बताइन् । ‘४८ घण्टाभित्र उपचार भए निको हुन सक्छ,’ उनले भनिन् ।


यो वर्ष भेटिएका ८ बिरामीमध्ये ७ जना पोखराका हुन् । पोखराको नदीपुर, चाउँथेलगायत क्षेत्रमा सापुका बिरामी भेटिएका हुन् । ‘विगतमा उपचार पद्धति राम्रो नहुँदा ५० प्रतिशतसम्मले ज्योति गुमाएको तथ्यांक छ,’ डा. खरेलले भनिन्, ‘उपचारमा नयाँ प्रविधि भित्रिएपछि त्यो दर घटेको छ ।’


अध्ययनका अनुसार दुई वर्षअघि बिरामीमध्ये ३० प्रतिशतले एउटा आँखा गुमाएका थिए । त्यतिखेर ३८ दिनको बच्चादेखि ५० वर्षीय वृद्धसम्ममा यो रोग भेटिएको थियो ।


तीन दिनअघि पोखराकै एक बैंकमा काम गर्ने २७ वर्षीय युवामा सापु भेटियो । अस्पतालको टोली उनी सुतेको ठाउँ पुगेर हेर्दा सेतो पुतली भेटिएको थियो । अस्पतालकी चिकित्सक हरिमाया गुरुङले यो वर्ष भेटिएका ८ मध्ये ३ जना बिरामीमा पुतलीको रौं भेटिएको बताइन् ।


उनले दुई जनाको अस्पतालमै राखेर उपचार गरेको र अन्य बिरामी उपचारका लागि काठमाडौं गएको जनाइन् । सापुको आकस्मिक उपचार आँखाभित्र औषधिको सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रियासमेतबाट गरिन्छ । शल्यक्रिया गर्न १५ देखि २० हजार रुपैयाँ खर्च लाग्छ ।


पुतली पाइने ठाउँको भौगोलिक वातावरण पनि अध्ययन गर्न जरुरी रहेको विज्ञ बताउँछन् । सापु हुने भनिएको पुतलीको पखेटामा तेर्सो, ठाडो र कालो धर्सा हुन्छ । ‘ग्याजेलिन ट्राइसोफा’ प्रजातिको सेतो पुतलीको रौं हानिकारक हुने मानिएको छ । हालसम्म पुतलीले ब्याक्टेरिया लगेर आँखामा छाडेको हो कि विष भन्ने नै पत्ता लाग्न नसकेको डा. खरेल बताउँछिन् ।


४४ वर्षमा अनुमानित १५ हजार बिरामी भेटिएका छन् । आधिकारिक तथ्यांक भने कसैसँग छैन । डा. उपाध्यायले पुतलीको वंशाणु अध्ययनको आवश्यकता औंल्याए । ‘सबै बिरामीमा ब्याक्टेरिया देखिएको छैन । संक्रमण मात्रैले यत्ति चाँडै दृष्टि गुम्ने हुँदैन,’ उनले भने, ‘एक, दुई बिरामीलाई मात्रै हेरेर विश्लेषण गर्न सकिँदैन । रोग प्रतिरोधात्मक क्षमता बढी हुनेलाई पनि सापुले आक्रमण गर्न सक्छ ।’


विराट आँखा अस्पतालका चिकित्सक अनादी खत्री असोज २५ देखि २९ सम्म हुने सभामा भाग लिन अमेरिका जाँदै छन् । ‘नेपालको प्रविधि र अनुसन्धानले नभ्याएको समस्या प्रस्तुत गर्नेछु’ उनले भने । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ मेडिकल अधिकृत डाक्टर भोजराज गौतम सापु रोग संघ सरकारले चिन्नुपर्ने बताउँछन् । प्रकाशित : भाद्र २०, २०७६ ०७:१२

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

काबुलका नेपाली भन्छन्– 'सरकार, हामीलाई बचाऊ’

सुरेशराज न्यौपाने, देवेन्द्र भट्टराई

नयाँदिल्ली / काठमाडौं — दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्यान लिने गरी भएको तालिवानी आतंकवादीको आक्रमणपछि बढ्दो असुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वा घर फर्काउन माग गरेका छन् ।

सोमबारको आक्रमणमा १२ सर्वसाधारणसमेत मारिएपछि क्याम्पकै कारण तालिवानले आक्रमण गरेको भन्दै स्थानीयले बुधबार क्याम्पमा विरोध प्रदर्शन र तोडफोडसमेत गरेपछि नेपालीले थप असुरक्षा महसुस गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा स्थानीयले क्याम्पको गेट र पार्किङमा राखिएका गाडी जलाइदिएका छन् । स्थानीयको भीडलाई नेपाली सुरक्षाकर्मीले बल्लतल्ल नियन्त्रणमा लिएका थिए । शुक्रबार थप ठूलो प्रदर्शन हुने सूचना पाएपछि नेपाली चिन्तित छन् । ‘शुक्रबार प्रार्थनाको दिन भएकाले धेरै सर्वसाधारण विरोधमा सहभागी हुन सक्ने र त्यो हिंसात्मक हुन सक्ने सूचना आएको छ,’ गार्डा वर्ल्डका सुरक्षा सुपरभाइजर टेकजंग मल्लले बताए । ‘यहाँका सबै नेपालीको मनोबल खस्किएको छ । चाँडोभन्दा चाँडो लगिदिए हुन्थ्यो,’ उनले भने ।

‘सरकारले जसरी भए पनि हामीलाई घर फिर्ता गर्नुपर्‍यो,’ क्याम्पका जीवनकुमार पाण्डेले बिहीबार राति टेलिफोनमा कान्तिपुरसँग भने, ‘यहाँको अवस्था निकै डरलाग्दो छ । हामी ५८ जनाले फिर्ता हुन्छौं, ड्युटी गर्न सक्दैनौं भनेर राजीनामा दिएका थियौं । तर जबरजस्ती नाइट ड्युटीमा खटाइएको छ । बुधबार रातिदेखि सुतेका छैनौं ।’

तालिवानको आक्रमणभन्दा पनि डरलाग्दो अवस्था रहेको उल्लेख गर्दै उनले स्थानीयवासी नेपालीसँग निकै आक्रोशित भएको बताए । ‘भोलि जे पनि हुन सक्छ, यहाँबाट बाहिर जान चाहन्छौं । कम्पनीलाई भनेका पनि हौं । मिटिङ पनि भयो । तर कम्पनीले तिमीहरूको कन्ट्र्याक्ट छ, जसरी पनि काम गर्नुपर्छ भनेर ड्युटीमा खटाएको छ,’ उनले भने, ‘शुक्रबार धेरै मान्छेले क्याम्प घेर्दै छन् भन्ने हल्ला छ । बुधबार जस्तो आक्रमण भयो भने हामी खरानी हुन्छौं ।’ वरिपरि तेलका ठूल्ठूला ट्यांकर भएकाले स्थानीयले
तिनमा आगो लगाए कोही बच्न नसक्ने उनले बताए । ‘असुरक्षाका कारण अरू सबै गइसके, यहाँ हामी मात्र छौं,’ उनले भने, ‘सरकारले हाम्रो उद्धार गरोस् ।’

काबुलस्थित सेवाप्रदायक कम्पनी ग्रिनभिलेज हस्पिटालिटीमा कार्यरत १५० नेपाली कामदारमध्ये ५८ जनाले घर फर्कन बिहीबारै कम्पनीमा राजीनामा बुझाएका छन् । जलालाबाद नजिकैको ग्रिनभिलेजमा सोमबार राति भएको आक्रमणमा वरपर जोडिएका गाउँघरमा समेत ठूलो क्षति भएपछि गाउँलेले हस्पिटालिटी कम्पनीको क्याम्प ७ दिनभित्र हटाउन ‘जे–जस्ता उपाय पनि अपनाइने’ भन्दै विरोध थालेका छन् ।

विशेषगरी शुक्रबार उक्त क्षेत्रमा रहेको मस्जिदमा प्रार्थनाका लागि आउने समूहका कारण सुरक्षा खतरा बढ्न सक्ने कारणले ग्रिनभिलेज वरपर थप सुरक्षा तैनाथी गरिएको छ । ‘ग्रिनभिलेजमा रहेका नेपाली आतंकवादी समूहको निसानामा रहेका होइनन्,’ उनले भने, ‘बरु क्याम्पमा रहेका फ्रेन्च, जर्मन, क्यानेडियन, बेलायतीसहितका पश्चिमा मुलुकका नागरिकलाई आतंकवादीले तारो बनाउँदै आएको उनीहरूले सार्वजनिक रूपमा बताएका छन् ।’

सोमबार भएको विस्फोटको जिम्मा तालिवानी समूहले लिइसकेको छ । ग्रिनभिलेजको व्यवस्थापन युनिटमा झन्डै १५ वर्षदेखि काम गर्दै आएका प्यूठानका आनन्द पुनसहितको समूह पनि आगामी साता घर फर्कन तयार भएको छ । ‘कम्पनीको नियमअनुसार आजको भोलि घर फर्कन सक्ने अवस्था छैन,’ पुनले कान्तिपुरसँग फोनमा भने, ‘आफ्नो जिम्मेवारीको कामको तालिम अरूलाई दिएर एक साताभित्र घर फिर्नेछु ।’ आतंकवादी हमलामा परेर ज्यान गुमाएका चन्द्रबहादुर पुनमगर र कृष्ण थापाको पोस्टमार्टम गर्न थप तीन साता लाग्ने जानकारी आफूले पाएको उनले बताए ।

बिमा तथा क्षतिपूर्ति प्रक्रियाका लागि दिल्लीस्थित दूतावासले काम अघि बढाएको आनन्दले जानकारी दिए । पोस्टमार्टम प्रक्रिया छोट्याउन थप कूटनीतिक पहल जरुरी देखिएको उनले बताए ।

कम्पनीका ५८ भन्दा बढी सुरक्षा कामदारले तत्काल घर फर्कन कम्पनीमा राजीनामा बुझाइसकेको ग्रिनभिलेजमा सेक्युरिटी सुपरभाइजर रहेका टेकजंग मल्लले जानकारी दिए । ग्रिनभिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको ‘गार्दावर्ल्ड’ क्यानेडियन सुरक्षा कम्पनी हो । काबुलमा भने यो कम्पनीको व्यवस्थापन बेलायती अधिकारीले हेर्दै आएका छन् ।

‘पछिल्ला वर्षमा गार्दावर्ल्डले नेपाली सुरक्षाकर्मीलाई एकदमै हेपिएका कामदार वर्गमा राखेको छ,’ ग्रिनभिलेजमा १२ वर्ष काम गरेर घर फिरेका बुटवलका प्रकाश केसीले भने, ‘यो कम्पनीबाट हरेक वर्ष बिदामा एक महिना घर आउनैपर्ने नियम छ । तर त्यो समयको तलब र अरू सेवासुविधा पनि कटौती गर्न थालिएको छ । नेपाली सुरक्षाकर्मीलाई मात्रै फ्रन्टलाइन–गार्डका रूपमा राखिएकाले थप सुरक्षा त्रास बढेको छ ।’

ज्यान गुमाउनेमध्ये चन्द्रबहादुर पुन ‘अफ ड्युटी’ मा थिए । तर पनि आतंकवादी समूहलाई मुख्यद्वार बन्द गराएर छेक्न (कभर दिन) जाने क्रममा गोली लागेर उनी मारिएका थिए । चन्द्रबहादुरकै कारण क्याम्पमा रहेका १ सयभन्दा बढी नेपाली र अरू विदेशीको ज्यान जोगिएको आनन्दको भनाइ छ । यसअघि २०१६ को जुन २० मा काबुलस्थित क्यानेडियन दूतावासको सुरक्षामा सार्वे इन्टरनेसनल (बेलायती) कम्पनीमार्फत खटिएका नेपालीमध्ये आत्मघाती बम विस्फोटमा परेर १२ जनाको ज्यान गएको थियो ।

उक्त घटनापछि मृतकको पोस्टमार्टम तथा शव घरफिर्ती प्रक्रियामा तदारुकता अपनाउन नेपाल सरकारले तत्काल इस्लामाबादस्थित नेपाली कूटनीतिक अधिकारीलाई काबुल पठाएको थियो । लगत्तै काबुलमा ज्यान गुमाउने १२ नेपालीको शव ल्याउन र घरफिर्ती चाहने नेपाली कामदारलाई उद्धार गर्न नेपाल सरकारले राष्ट्रिय ध्वजावाहकको चार्टर्ड विमान काबुल पठाएको थियो ।

काबुलस्थित आफूले काम गरेकै कम्पनीमा आएको सुरक्षा त्रास र साथीभाइको घर फिर्ने तदारुकताबारे जानकारी गराउन बिहीबार ग्रिनभिलेजका पूर्वसेक्युरिटी सुपरभाइजर परराष्ट्र मन्त्रालय पुगेका थिए । उनले हाल दक्षिण एसियाअन्तर्गत अफगान मामिला हेरिरहेका उपसचिव सागर फुयाँललाई भेटेर मृतक नेपालीको शव घरफिर्तीमा पहल गर्न र घरफिर्ती चाहनेलाई तत्काल उद्धार गर्न कूटनीतिक पहलका लागि अनुरोध गरेका छन् ।

यसैबीच दिल्लीस्थित नेपाली दूतावासले भने अफगानिस्तानमा कार्यरत नेपालीको सुरक्षाप्रति सचेत रहेको जनाएको छ । दूतावासले दुई वर्षदेखि अफगानिस्तानसमेत हेर्दै आएको छ । नेपालीको सुरक्षाका सम्बन्धमा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय भइरहेको दूतावासका प्रवक्ता हरि ओडारीले बताए ।

क्याम्पमा बाँकी रहेका नेपालीलगायत सबै सुरक्षाकर्मीलाई के गर्ने भन्ने सम्बन्धमा बिहीबार साँझ गार्डा वर्ल्ड व्यवस्थापनको बैठकसमेत बसेको थियो । बैठकमा कम्पनीका अधिकारीहरूले आवश्यक परेको खण्डमा अमेरिकी, बेलायती र अफगान प्रहरीबाट समेत सुरक्षा दिइने आश्वासन दिएका थिए ।

दिल्लीस्थित नेपाली दूतावासले सोमबारको घटनामा मृत्यु भएका दुई नेपालीको शव नेपाल लैजान प्रक्रिया सुरु भइसकेको बताएको छ । शव फिर्ताका लागि रोजगारदाता कम्पनी गार्डा वर्ल्डलाई पत्राचार गरिरहेको दूतावासका प्रवक्ता ओडारीले जानकारी दिए ।

प्रकाशित : भाद्र २०, २०७६ ०७:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×