१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘निर्बाध काम गर्न पाए मेलम्ची एक वर्षमा’

काठमाडौँ — खानेपानी मन्त्रालयले निर्बाध रूपमा काम गर्ने वातावरण बनेमा अबको एक वर्षमा मेलम्चीको पानी राजधानी आइपुग्ने दाबी गरेको छ ।

‘निर्बाध काम गर्न पाए मेलम्ची एक वर्षमा’

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बुधबार मन्त्रालयका सचिव माधव बेलवासेले ढिलोमा एक वर्षभित्र काम सक्ने पछिल्लो समयतालिका अघि सारेका हुन् ।


इटालियन कम्पनी सीएमसीले ठेक्का तोडेपछि नौ महिनादेखि मेलम्ची आयोजनाको काम अवरुद्ध छ । ‘आयोजनामा सीएमसीसित काम गरेका पेटी ठेकेदार (लोकल भेन्डर), सामान आपूर्तिकर्ता स्थानीय व्यवसायी र ७ सयभन्दा बढी कामदारले भुक्तानी नपाएका कारण उत्पन्न समस्या छन्, ती समस्या समाधान गर्न मन्त्रालय गम्भीरतापूर्वक लागिरहेको छ,’ सचिव बेलवासेले भने, ‘निर्बाध रूपमा काम गर्ने वातावरण बन्यो भने ढिलोमा यो आर्थिक वर्षको अन्त्यसम्म मेलम्चीको पानी राजधानी आइपुग्छ ।’


स्थानीयका समस्या समाधानका लागि सुझाव दिन सहसचिव चन्द्रबहादुर केसीको संयोजकत्वमा मन्त्रालयद्वारा गठित समितिले काम गरिरहेको उनले जानकारी दिए । राजनीतिक तहबाट पनि पहल गरिदिन उनले सदस्यहरूलाई आग्रह गरे । सबैजसो सदस्यले ‘मेलम्चीको काम कहिले सुचारु हुन्छ र कहिलेसम्म राजधानी काकाकुल भइरहनुपर्ने हो’ भन्ने प्रश्न गरेका थिए ।


पहिलो चरणमा मेलम्चीको तत्कालीन ठेकेदार सीएमसीबाट तलब भत्ता भुक्तानी नपाएका ७ सयभन्दा बढी कामदारलाई उनीहरूको बक्यौता रकम राहतस्वरूप उपलब्ध गराउन लागिएको जानकारी दिए । उनका अनुसार श्रमिकहरूको ज्यालाबापतको रकम मानवीय नाताले समेत भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको हो ।


सीएमसीले श्रमिकलाई ज्यालावाफत दिनुपर्ने बाँकी रकम ३ करोड २ लाख रुपैयाँ रहेको मागदाबीसहितको निवेदन आएको छ । ती कामदारलाई राहतस्वरूप दसैं अगाडि नै बक्यौता भुक्तानी गरिने जानकारी बेलवासेले दिए ।


उनका अनुसार कामदारलाई बक्यौता दिने निर्णय भएपछि आयोजनास्थलमा अवरोध केही कम भएको छ । लोकल भेन्डर र स्थानीय आपूर्तिकर्ताको विरोध भने यथावत् छ । उनीहरूले आयोजनाबाट १ अर्ब ६६ करोड रुपैयाँ पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

प्रकाशित : भाद्र १९, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?