कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

यातायातमै लाइसेन्सको व्यापार

बिचौलियाले जेसीबीको लाइसेन्स ४५ हजार र ट्याक्टरको १५ हजारमा बाँड्छन्
सन्तोष सिंह

धनुषा — मोटरसाइकलको चालक अनुमतिपत्रको ट्रायल परीक्षास्थलबाट सर्लाही, मलंगवा–११ का २५ वर्षीय जतेन्द्र यादवलाई प्रहरीले पक्राउ गर्‍यो । मोटरसाइकलको सवारी चालक अनुमति पत्रका लागि भइरहेको ट्रायल परीक्षा उत्तीण गराउन धनुषा मिथिला नगरपालिका–६ का बस्ने देवेन्द्रप्रसाद यादवसँग ५ हजार र सबैला नगरपालिक–१० का अरुणकुमार पंजियारसँग ७ हजार रुपैयाँ लिएको उजुरी परेपछि प्रहरीले यादवलाई पक्राउ गरेको थियो ।

यातायातमै लाइसेन्सको व्यापार

ट्रायल परीक्षा पास गराएर सवारी चालक अनुमतिपत्र बनाइदिने भन्दै यादवले १० जनासँग रकम उठाएको आरोपमा भदौ ९ गते पक्राउ परे । यादवको साथबाट लाइसेन्स बनाउन आवश्यक कागजात र नगद रुपैयाँ प्रहरीले बरामद गरेका थिए ।

मोटरसाइकल ट्रायल परीक्षामा पास गराई यतायता व्यवस्था कार्यालय जनकपुरबाट सावरीचालक अनुमतिपत्र बनाउनका लागि यादवले अर्को एजेन्टको समेत संलग्नता देखाए ।

प्रहरीले महोतरी, महोतरी गाउँपालिका २ का २८ वर्षीय पंकजकुमार सिंहलाई समेत पक्राउ गरे । यादवले सिंहलाई सवारी चालक अनुमति पत्रका लागि १ लाख ५१ हजारको चेक दिएको समेत बरामद गरेको छ । यतायता कार्यालयमा रुपैयाँ खर्चेर मोटर साइकल चालक अनुमति पत्र बनाउने दुवै विचौलियालाई प्रहरीले ठगि मुद्दा दर्ता गराएर अनुसन्धान गरिरहेको छ ।

तस्बिर खिचाउन र कागजात फोटोकपी गर्ने ठाउँबाट नै बिचौलियाको फन्दामा पर्छन्, सेवाग्राही । यातायात व्यवस्था कार्यालय जनकपुरमा सवारी अनुमतिपत्र बनाउन आउने सेवाग्राही बिचौलियाबाट त लुटिन्छ नै कार्यालयको कर्मचारीको पनि गोजी नभरे काम अगाडि बढ्दैन ।

धनुषा सुगानिकासका विमल मण्डल मोटरसाइकल नवीकरणको प्रकृया बुझ्न बुधबार यातायात कार्यालयनिर पुगे । पसलमा नवीकरण फारम बिक्री र फोटोकपी गर्न बसेका व्यवसायीले नवीकरण शुल्क, बिमा गरी ८ हजार ६ सय रुपैयाँ खर्च लाग्ने बताए । व्यवसायीले ८ हजारको रसिद दिने र ६ सय कर्मचारी खर्च भन्दै काम त्यो पैसा मागे । विमल काम नगराइ फर्के ।

सेवाग्राही दिनभर लाममा बस्दा पनि नहुने काम बिचौलियाले एकैछिनमा फत्ते गराइदिन्छन् । यामाहा कम्पनीको जनकपुरबाट मोटरसाइकल खरिद गर्दा मूल्य अनुसारको रकम बुझाएपछि मोटरसाइकल नामसारीका लागि स्थानीय रोहित महतोसँग अतिरिक्त १ हजार रुपैयाँ मागियो । ‘पैसा त दिन्न भनें,’ महतोले भने, ‘चिनजानको भरमै पछि मेरो काम भयो । तर, अर्को मोटरसाइकलको नामसारी गराउनेले एक हजार रुपैयाँ नतिरी सुख पाएनन् ।’

जनकपुरका शशिभूषण झाले पनि दिनभर फाँटको ढोकामा लाइन बस्न झन्झटिलो भएपछि विचौलियालाई ४ सय रुपैयाँ दिएर तुरुन्तै काम गराए । यातायात कार्यालय जनकपुरको दर्ता, बैक भौचर, भौचर प्रमाणित, नवीकरणमा दिनहुँ लाग्ने भीडमा छिनछिनमा विवाद हुन्छ । यातायातको काम दर्ता फाँटबाट सुरु हुन्छ । लाइसेन्स नयाँ लिन र नवीकरण गर्न दर्ता फाँटमा लाइन सकेपछि मेडिकल, बैंक भौचर, भौचर प्रमाणित र स्मार्ट कार्डको रसिद लिन ४ पटक लाइनमा बस्नुपर्छ । समान्य व्यक्तिबाट लाइनमा सम्भव नभएपछि विचौलियलाई ५ सय देखि १ हजारसम्म रुपैयाँ दिएर काम गराउन सेवाग्राहीलाई बाध्य पारिएको छ ।

यतायात कार्यालय अगाडि रहेको फोटोकपी, स्टेसनरी पसल व्यवसायी र ड्राइभिङ इन्सिच्युट सञ्चालकले बिचौलियाको काम गर्छन् । सवारी नामसारी, चालक अनुमतिपत्र नवीकरण लगायतको समान्य कामका लागि दिनभर लाइन बस्नुपर्ने बाध्यता छ । तर, विचौलयाले कर्मचारीसँग मिलेर तुरुन्त काम गराउँदा सेवाग्राही अतिरिक्त रकम तिरेर सेवा लिन बाध्य छन् ।

कार्यालयमा सेवाग्राही र बिचौलिया छुट्याउनै गाह्रो भएको अधिकृत रामजीवन महतोले बताए । ‘लाइसेन्स एप्रुभल गराउन सेवाग्राहीको कागजात लिएर बिचौलिया नै आउँछन्,’ महतोले भने, ‘यतायातमा आउने सेवाग्राही नै सचेत छैन । आफैं आएर काम गराउन झन्झटिलो मानेर सुरुमै विचौलिया कहाँ पुग्छन् ।’

ट्रायलकै नतिजा गुपचुप

यतायात व्यवस्था कार्यालय जनकपुरको पर्खालभरि नामको सूची टाँसिएको छ । सवारीचालक अनुमतिपत्रको लिखत परीक्षा उत्तीर्ण गरेकाहरूको नाम पर्खाल फोहर हुनेगरी टाँसिन्छ । लिखत परीक्षा उत्तीर्ण भएको म्यासेज मोबाइलमा पनि आउँछ । तर, ट्रायल परीक्षाको नतिजा सार्वजनिक हुँदैन ।

यातायात कार्यालयका प्रमुख चन्देश्वर साहलाई नतिजा प्रकाशित भएको/नभएको जानकारी नै छैन । नतिजा सार्वजिक गर्ने स्थान नभएका कारण आन्तरिक रूपमा हेर्ने व्यवस्था गरिएको प्रशासन फाँटका अधिकृत अनिल गिरीले बताए । ‘लिखितको नतिजा म्यासेज र कार्यालय परिसरमा टांसिएको हुन्छ,’ अधिकृत गिरीले भने, ‘ट्रायल परीक्षाको नतिजा सार्वजनिक गर्ने स्थान नै छैन । प्रिन्ट निकाल्न धेरै खर्च लाग्छ ।’

विचौलियामार्फत जिल्ला ट्राफिक प्रहरी र यतायातले अतिरिक्त रकम लिएर जनकपुरमा सवारी चालक अनुमतिपत्र खरिद–बिक्री हुने गरेको आरोप लाग्छ । विचौलियाले आर्थिक लेनदेन गरी लिखतमा उत्तीर्ण गराएका व्यक्तिबाट ट्रायल अघि नै सबै रकम बुझेर यतायातमा सेटिङ मिलाउँछन् ।

मोटरसाइकल, स्कुटी, जिप–कारमा पछिल्लो समय कडाइ भएको छ । तर ट्याक्टर र लोडरको चालक अनुमतिपत्रमा आर्थिक चलखेल भइरहेको छ । गत साउन महिनामा ट्याक्टर र लोडर चाकल अनुमति पत्रका लागि १ सय ३३ जना फारम भरेकोमा १ सय ७ जना उत्तीर्ण भएको जनकपुर यतायता व्यवस्था कार्यालय जनकपुरले जनाएको छ ।

लोडर जेसिबीको ४५ हजार र ट्याक्टरको १५ हजार रुपैयाँ विचौलिया असुल गर्छन् । महोतरी गौशालाका दिनेश सिंह २ जनाको ट्याक्टर लाइसेन्स बनाउन यातायात कार्यालय अगाडि बस्ने बिचौलियासँग १४ हजारको दरले सहमति गरेको बताए । मोटरसाइकल चालक अनुमतिपत्रका लागि १० हजार, जिप–कारको २० हजार बिचौलयाले लिन्छन् ।

साउन महिनामा मोटर साइकल/स्कुटीका लागि १ हजार ५सय ७५ जनाले आवेदन दिएकोमा ६ सय ८८ जना उत्तीर्ण भए । जिप–कारको चालक अनुमतिपत्रका लागि ५ सय ७३ ले आवेदन दिएकोमा १ सय ८२ जना र टेम्पो/रिक्साका लागि ३६ जनाले आवेदन दिएको ८ जनाले उत्तीर्ण गरेको यतायता कार्यालयका अधिकृत गिरीले बताए ।

प्रकाशित : भाद्र १९, २०७६ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?