१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

गुठीको जग्गामा घरैघर

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका–१, शीतलपाटीस्थित रुद्रेश्वर महादेवको गुठीको १ सय २ रोपनी १२ आना जग्गामा घरैघर बनेका छन् । २० वर्षअघि मोहीले रैकरमा परिणत गरी घडेरी बनाई जग्गा बिक्री गरेका थिए । गुठीको जग्गामा अहिले करिब ८० घर बनेका छन् । अहिले मन्दिर र पौवामात्र गुठीको नाममा बाँकी छ । संरक्षणमा ध्यान दिनेहरू ननिस्कँदा पौवासमेत भत्किने अवस्थामा पुगेको छ । रैकरमा परिणत गरी बिक्री गरिसकेकाले मन्दिरका सबै जग्गा मासिएको हो । 

गुठीको जग्गामा घरैघर

२०५५ मा सरकारले मन्दिरको गुठीको जग्गामा खेती गर्दै आएका मोहीलाई रैकरमा परिणत गरेको थियो । मोहीले मन्दिरको जग्गा बिक्री गरेको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।


गुठीको जग्गा मोही सन्तवीर, शेरबहादुर, वेदकुमारी, डिल्लीबहादुर, सन्तोषकुमार र चन्द्रबहादुर राईले रैकरमा परिणत गरेको रेकर्ड मालपोतमा छ । त्यस्तै सुरेशकुमार, वीरबहादुर, असन्तकुमार, राजेन्द्रवीर, दीपकुमारी, रूपसिं राई र गणेशबहादुर श्रेष्ठले पनि जग्गा बिक्री गरेका हुन् ।


२०६७ सालमा मोहीले बिक्री गरेका जग्गा डन्डी ओली र गीता रेउलेलगायतले रैकरमा परिणत गर्न माग गरेका थिए । तर, उक्त अनुरोध मन्त्रालयले फिर्ता पठाएको कार्यालयले जनाएको छ । मन्दिर परिसरमा रहेका बेलका रूख लगाइएका जग्गासमेत दलबहादुर कुँवरका नाममा गत वर्ष पास भएको स्थानीयले बताए । स्थानीय अगुवा नेबबहादुर खत्रीले मन्दिरको नामका जग्गामा चारैतिर घरैघर बनेको बताए । ‘न मन्दिरको संरक्षण भयो, न जग्गा बचे,’ उनले भने, ‘जीर्ण पौवाले चर्चेको पाँच आना जग्गाबाहेक सबै व्यक्तिका नाममा पास भइसकेको छ ।’


स्थानीय बलबहादुर श्रेष्ठका अनुसार पहिले गुठीको जग्गाबाट उत्पादित वस्तु बेचेर गरेर मन्दिरको खर्च चलाइने गरिएको थियो । अहिले मन्दिरलाई मालपोत कार्यालयले बर्सेनि १८ हजार रुपैयाँ दिँदै आएको छ र त्यही रकमबाट पूजा खर्च चल्ने गरेको छ । रैकरमा परिणत गरेपछि मन्दिरको गुठीका नाममा २ रोपनी ६ आना बगर मात्र बाँकी रहेको स्थानीय बलबहादुर गिरीले बताए । ‘मन्दिरमा पहिल्यै पर्खाल नलगाएको भए अगाडि बस्ने ठाउँसमेत बाँकी रहने थिएन,’ उनले भने, ‘गुठीको जग्गा अहिले पनि घडेरीका नाममा बिक्री भइरहेको छ ।’


सल्यानको शारदा–१ शीतलपाटी रुद्रेश्वर मन्दिर । मन्दिरको गुठीका सबै जग्गा मोहीले रैकरमा परिणत गरेर बेचेका छन् । तस्बिर: विप्लव महर्जन/कान्तिपुर


मन्दिर संरक्षण समितिका अध्यक्ष रामसिं बुढाथोकीले गुठीको जग्गामा घरैघर बनेपछि पूजामा समेत समस्या भएको बताए । जग्गा नबचेकाले शौचालय बनाउने ठाउँ पनि छैन । विवाह, व्रतबन्ध र नियमित पूजा गर्न आएका भक्तजन बस्ने ठाउँसमेत बाँकी नरहेको उनको गुनासो छ । आर्थिक समस्याका कारण पौवा मर्मत गर्न नसकेको उनले बताए ।


१९९९ सालको मोठ नम्बरअनुसार रुद्रेश्वर महादेवको गुठीको जग्गा राखिएको हुन सक्ने मालपोत कार्यालयका खरिदार हुर्मतबहादुर हमालले बताए । उनका अनुसार गुठीका जग्गा २०३३ सालमा नापी गर्दा व्यक्तिका नाममा दर्ता गरिएका हुन् । त्यही समयमा रोल्पाको बुढागाउँमा रहेको खैराबाङ भगवती मन्दिरको ६ सय रोपनी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र १८, २०७६ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?