कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

आईओएममा डीनको कार्यालयमा लगाइएको ताला प्रहरीले फोड्यो, एमबीबीएस प्रवेश परीक्षा भदौ २१ मै गर्ने तयारी

सुदिप कैनी

काठमाडौँ — सरकारले एमबीबीएस लगायत चिकित्सा शिक्षा सम्बन्धी प्रवेश परीक्षाको तयारी अघि बढाएको छ । विद्यार्थीले चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) मा लगाएको ताला बुधबार प्रहरीले तोडेको छ ।

आईओएममा डीनको कार्यालयमा लगाइएको ताला प्रहरीले फोड्यो, एमबीबीएस प्रवेश परीक्षा भदौ २१ मै गर्ने तयारी

चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार एमबीबीएस लगायत चिकित्सा सम्बन्धि विषय अध्ययनका लागि एकीकृत प्रवेश परीक्षा र ७५ प्रतिशत छात्रवृत्तिको मागसहित विद्यार्थीले तालाबन्दी गरेका थिए । सरकारले विद्यार्थीले डिन कार्यालयको परीक्षा शाखामा लगाएको ताला खोलेको हो ।


विद्यार्थीले आईओएम र काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सको कार्यालयमा ताला लगाएका थिए । शिक्षा मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर तोकिएको प्रवेश परीक्षा नरोक्न आग्रह गरेको थियो । त्यसको भोलिपल्टै प्रहरीले आईओएमको ताला फुटाएको हो ।


ताला खोलेपछि मन्त्रालयले प्रवेश परीक्षा संचालन गर्न बुधबार साँझ नै विश्वविद्यालयका पदाधिकारीसँग छलफल थालेको छ । आईओएममा आगामी २१ गतेदेखि र काठमाडौं विश्वविद्यालयमा असोज पहिलो सातालाई प्रवेश परीक्षाको मिति तोकिएको छ ।


आईओएममा मात्रै २ हजारभन्दा बढि विद्यार्थीले परीक्षाका लागि आवेदन दिएका छन् । विश्वविद्यालय र स्वास्थ्य प्रतिष्ठानहरुले ऐनको प्रावधान विपरित छुट्टाछुट्टै प्रवेश परीक्षा सहित भर्ना प्रक्रिया अघि बढाएपछि चिकित्सा शिक्षाका विद्यार्थी संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रेका थिए ।


चिकित्सा शिक्षा आयोगले पूर्णता नपाएका कारण सरकारले पूर्ववतः प्रक्रियामा भर्ना लिन विश्वविद्यालय र प्रतिष्ठानहरुलाई निर्देशन दिएको थियो । मंगलबार मन्त्रिपरिषद्को भिडियो कन्फेरन्समा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले प्रवेश परीक्षा नरोक्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।


लगत्तै मन्त्रालयले सोहि आशयको विज्ञप्ति प्रकाशित गरेको थियो । शिक्षा मन्त्रालयका अधिकारीले भर्ना गर्ने समय सुरु भइसकेकाले यसपटक छुट्टाछुट्टै प्रवेश परीक्षा गर्ने र ७५ प्रतिशत छात्रवृत्ति भने यसैवर्षबाट क्रमशः कार्यान्वयन गर्दै जान सकिने प्रतिक्रिया दिएका छन् ।


विद्यार्थी नेता माथि कुटपिट

आईओएमको ताला खुलाउने क्रममा प्रहरीले आफ्ना १७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको संर्घष समितिले जनाएको छ । नियन्त्रणमा लिएर भृकुटीमडण्पस्थित प्रहरी क्लबमा राखिएकालाई भेट्न गएका विद्यार्थी नेताहरुलाई समेत प्रहरीले कुटपिट गरेको छ ।


सत्तारुढ दल नेकपा निकट अनेरास्ववियूका अध्यक्ष ऐन महर, नेता सुदेश पराजुली, संघर्ष समितिका संयोजक मिलन गैरलाई प्रहरीले कुटपिट गरि घाईतेको बनाएको त्रिवि कमिटि अध्यक्ष मदन विष्टले जानकारी दिए ।


अनेरास्ववियूले विद्यार्थीको जायज माग पुरा गर्नुको साटो प्रहरीले कुटपिट गरेको भन्दै खेद प्रकट गरेको छ । विद्यार्थीको माग पुरा नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिइएको हो ।

प्रकाशित : भाद्र १८, २०७६ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?