१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चिकित्सा शिक्षा संघर्ष समितिको माग प्रति डा. केसीको ऐक्यवद्धता

अतुल मिश्र

काठमाडौँ — चिकित्सा शिक्षा र सेवाका अभियन्ता प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा संघर्ष समितिले उठाएका माग प्रति ऐक्यवद्धता जनाएका छन् । डा. केसीले बुधबार विज्ञप्ती जारी गर्दै सरकारी ढिलासुस्तीका कारण चिकित्सा शिक्षा आयोगले पूर्णता पाउन केही समय अझै लाग्ने समेत औंल्याएका छन् ।

चिकित्सा शिक्षा संघर्ष समितिको माग प्रति डा. केसीको ऐक्यवद्धता

हालको अवस्थामा आयोगको काम कारबाहीलाई पर्खंदा शैक्षिक संस्थाहरुको शैक्षिक पात्रो एक वर्षका लागि नै पछाडि धकेलिने सम्भावना रहेको उनकाे दाबी छ ।


विद्यार्थीको भविष्यमा अन्योलता सिर्जना हुन नदिन हालका लागि विश्वविद्यालयले लिने प्रवेश परीक्षालाई नै यसपटक निरन्तरता दिंदै चिकित्सा शिक्षा आयोगलाई छिटो पूर्णता दिलाउन दबाब दिन डा. केसीले अनुरोध गरेका छन् ।


डा. केसीले संसदीय उपसमितिको निर्णय प्रति आपत्ति समेत जनाएका छन् । उनले विशेषज्ञहरुको अध्ययन पछि कायम सीट सीमा लगायतका विषयमा हचुवामा गरिने निर्णय तुरुन्त खारेज हुनुपर्ने बताएका छन् ।


त्रिवि पदाधिकारीहरुले नेपालमा पढ्न आउने विदेशी विद्यार्थीले प्रवेश परीक्षा दिन नपर्ने गरी गरेको निर्णय तथा त्यसक्रममा भएको लेनदेन र चलखेलको भर्त्सना गर्दै नेपालमा चिकित्साशास्त्र पढ्ने विद्यार्थी जुनसुकै मुलुकको भए पनि नेपालका नियमक निकायले तोकेको न्यूनतम योग्यता हुनैपर्नेमा कुनै विवाद हुननसक्ने उनकाे तर्क छ ।


‘विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदल’को सुझाव अनुसार नै विश्वविद्यालयको पदाधिकारी नियुक्ति गर्नुपर्नेमा उनकाे जाेड छ । उक्त सुझावलाई ऐनमा परिवर्तन गर्नुपर्ने बताउँदै डा. केसीले पदाधिकारी छनोट प्रक्रियामा व्यक्ति विशेषलाइ छाडेर पद्दतिलाइ प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।


व्यक्ति विशेष, नातावाद, कृपावाद, राजनीतिक दलका कार्यकर्तालाई पदाधिकारीमा नियुक्ति गरे जस्तोसुकै आन्दोलन गर्न पनि पछि नहट्ने चेतावनी समेत उनले दिएका छन् ।


प्रकाशित : भाद्र १८, २०७६ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?