अमेरिकी फौजी किराबारे अनुसन्धान गर्न संसद्को ध्यानाकर्षण

रासस

काठमाडौँ — प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद गणेश पहाडीले अमेरिकी फौजी किराका कारण खाद्यान्न नष्ट गर्ने कार्य भएको हुँदा तत्काल अनुसन्धान गरी निदान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा उनले गत वैशाख २७ गते महाभारत क्षेत्रमा सो किराले खाद्य बाली नष्ट गर्दा किसान मर्कामा परेको हुँदा उक्त किराका बारेमा तत्काल खोज अनुसन्धान गरी निदान गर्न सरकारको ध्यानाकर्षण गराए । सङ्घीय समाजवादी फोरम नेपालका सांसद उमाशङ्कर अरगरियाले धनुषा जिल्लामा कमला नदी नियन्त्रण गरी सिँचाइको विकास गर्न उपभोक्ता समितिले करोडौं खर्च गरे पनि अझै जनतामा पानीको हाहाकार भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले सो क्षेत्रमा सिँचाइको अभाव भएर धेरै जमीन सुक्खा भएकाले बाँझै रहेकोसमेत बताए ।


नेकपा सांसद खेमप्रसाद लोहनीले आगामी दिनमा बनाउने सडक भू–क्षय वा बाढी पहिरोले नभत्काउने खालको बनाउनुपर्नेमा जोड दिए । उनले वर्षात्को समय विस्तारै सकिँदै जान लागेको हुँदा बेलैमा सजग अपनाएर सडक बनाउन आग्रह गरे ।


नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले धरहरा निर्माण गर्दा सरकारले तत्काल अस्थायी व्यवस्था गरेर निर्माण गर्नुपर्नेमा जोड दिए । उनले यही भदौ २७ गते इन्द्रजात्रा मनाउन लागेको र धरहराको बीचमा मृतकको सम्झनामा परिक्रमा गर्ने प्रचलन जानकारी गराए ।


नेकपा सांसद कृष्णप्रसाद दाहालले नेपालमा गाईलाई भीरमा खसाएर मारिएका विषयमा अध्ययन गरी सम्बन्धित दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए । नेकपा सांसद कृष्णबहादुर राईले वाग्मती सभ्यता एकीकृत समितिले वाग्मतीलाई सोझ्याउने क्रममा त्यहाँका बासिन्दा घरबारविहीन भएर आन्दोलनमा उत्रिरहेको हुँदा सरकारले त्यस विषयमा सम्बोधन गर्न आग्रह गरे ।


नेकपा सांसद गणेशसिंह ठगुन्नाले दार्चुला जिल्ला महाकाली नगरपालिकाले सडक विस्तार गर्दा २० परिवार पहिरोमा परी विस्थापित भएको हुँदा पीडितलाई जतिसक्दो छिटो राहत उपलब्ध गराउनुपर्ने बताए । नेकपा सांसद घनश्याम खतिवडाले सहकारी क्षेत्रमा सुशासन कमजोर हुँदै गएको हुँदा वित्तीय अनुशासन पनि कमजोर हुँदै गएकाले सहकारी संस्थालाई सुशासनमा ल्याउन र गरिबी न्यूनीकरणका लागि विशेष पहल गर्न आग्रह गरे ।

नेकपा सांसद जुलीकुमारी महतोले तराई–मधेसमा जन्मसिद्ध नागरिकका छोराछोरी नागरिकताबाट वञ्चित भएको हुँदा हजारौ नेपाली नागरिकताविहीन भएको हुँदा समाधानको उपाय खोज्न माग गरे ।

प्रकाशित : भाद्र १८, २०७६ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्

टिकट बिक्री नभएपछि ३ वटा ओसाका उडान रद्द

सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमको वाणिज्य विभागले टिकट बिक्री गर्न नसकेपछि बाइडबडीबाट काठमाडौं–ओसाका–काठमाडौंका लागि तोकिएका ३ वटा उडान रद्द गरिएका छन् । निगमका प्रवक्ता गणेश चन्दका अनुसार, निगमले भदौ १९, २६ र असोज २ गतेका ३ वटा उडान रद्द गरेको हो ।

‘कमजोर लोड भएका कारण सातामा ३ दिन हुने उडान २ दिनमा झारिएको छ’, प्रवक्ता चन्दले कान्तिपुरसँग भने ।

निगमले उडान रद्द गरिएको कारणसहित जापानस्थित सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई इमेल लेखेको छ । ‘जापानमा उडान रद्द गर्नुपर्ने कारणसहित लिखित जानकारी गराउनुपर्ने नियम भएकाले जेक्याबलाई जानकारी गराएका छौं,’ नायव महाप्रबन्धक चन्दले भने ‘उसको अनुमति आइसकेको छैन । तर, निगमले तीनवटा बिहीबारका मात्रै उडान रद्द गर्ने निर्णय गरेको छ ।’

निगमको वाणिज्य विभागले ओसाका उडानको बजारीकरण, टिकट बिक्री लगायतका कार्य गर्न असफल भएका कारण उडान रद्द गरिएको निगमका एक निर्देशकले बताए । यस विभागले यसअघि हचुवाका भरमा असारदेखि ओसाका उडानको घोषणा गरेको थियो । अन्तिम समयमा त्यसबेला घोषणा गरिएको तालिका पनि रद्द गरिएको ती निर्देशकले बताए । निगमको वाणिज्य विभागले टिकट बिक्रीमा योगदान पुर्‍याउने अपेक्षा राखेर पहिलो उडानमा २० जना नेपाली ट्राभल एजेन्टलाई सित्तैमा जापान घुमाएर ल्याएको थियो । तर, २ सय ७४ सिट क्षमताको जहाजमा एक दर्जन हाराहारी पनि टिकट बिक्री गराउन नसके ती निर्देशकले बताए ।

निगमले सातामा मंगलबार, बिहीबार र शनिबार तीन दिन उडान घोषणा गरेको थियो । निगमले भदौं १२ गते पहिलो उडान गरेको थियो । यो रुटको एकतर्फी हवाई दूरी ७ घण्टा हाराहारीको छ । जहाज उडाउँदा चालक दलको एक सेट (दुई जना पाइलट, ६/८ जना एयरहोस्टेस) जान्छन् । फर्किँदा अर्को नयाँ सेटले जहाज ल्याउने र गएको सेटले आराम ओसाकास्थित होटलमै आराम गर्छन् । तर, सातामा दुईटा मात्रै उडान हुन थालेकाले निगमको सञ्चालक समिति सदस्यले जापान जाने सेट सोही उडानमा काठमाडौं फर्किनुपर्ने बताउँदै आएका छन् ।

चालक दलको सेटका लागि वाइडबडीको ककपिटमुनी बंकर (कर्म्पाटमेन्ट) पनि बनाइएको छ । त्यहाँ नौंवटा आराम गर्न सकिने बेड छन् । ‘चालक दलका सदस्यलाई ५ दिनसम्म होटलमा राख्दा मासिक ८० लाख हाराहारी होटल खर्च, भत्ता लगायत अतिरिक्त खर्च थपिने भएकाले तत्कालकै उडानमा नेपाल ल्याउने गर्नुपर्छ,’ निगमको बोर्ड सदस्य अच्युतराज पहाडीले भने, ‘मैले यसबारे बोर्डको बैठकमा पनि कार्यकारी अध्यक्ष मदन खरेललाई भनिसकेको छु । जनशक्ति अभाव भइरहेका बेला भत्ता दिएर बिनाकाम चालक दललाई ५ दिनसम्म होटलमा राख्नु उपयुक्त हुँदैन ।’

निगमको बाइडबडीभित्र बनाइएको बंकर चालक दलका सदस्यलाई ल्याउन बनाइएको भाग हो । त्यहाँ आराम गरेर फर्किन मिल्छ । तर, निगमको अपरेशन विभागका निर्देशक दिपुराज जुर्आचन तालिमका लागि बैंककमा रहेकाले यसबारे निगमले निर्णय लिन नसकेको नायब महाप्रबन्धकले बताए ।

प्रकाशित : भाद्र १८, २०७६ १४:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×