टिकट बिक्री नभएपछि ३ वटा ओसाका उडान रद्द

सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमको वाणिज्य विभागले टिकट बिक्री गर्न नसकेपछि बाइडबडीबाट काठमाडौं–ओसाका–काठमाडौंका लागि तोकिएका ३ वटा उडान रद्द गरिएका छन् । निगमका प्रवक्ता गणेश चन्दका अनुसार, निगमले भदौ १९, २६ र असोज २ गतेका ३ वटा उडान रद्द गरेको हो ।

टिकट बिक्री नभएपछि ३ वटा ओसाका उडान रद्द

‘कमजोर लोड भएका कारण सातामा ३ दिन हुने उडान २ दिनमा झारिएको छ’, प्रवक्ता चन्दले कान्तिपुरसँग भने ।


निगमले उडान रद्द गरिएको कारणसहित जापानस्थित सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई इमेल लेखेको छ । ‘जापानमा उडान रद्द गर्नुपर्ने कारणसहित लिखित जानकारी गराउनुपर्ने नियम भएकाले जेक्याबलाई जानकारी गराएका छौं,’ नायव महाप्रबन्धक चन्दले भने ‘उसको अनुमति आइसकेको छैन । तर, निगमले तीनवटा बिहीबारका मात्रै उडान रद्द गर्ने निर्णय गरेको छ ।’


निगमको वाणिज्य विभागले ओसाका उडानको बजारीकरण, टिकट बिक्री लगायतका कार्य गर्न असफल भएका कारण उडान रद्द गरिएको निगमका एक निर्देशकले बताए । यस विभागले यसअघि हचुवाका भरमा असारदेखि ओसाका उडानको घोषणा गरेको थियो । अन्तिम समयमा त्यसबेला घोषणा गरिएको तालिका पनि रद्द गरिएको ती निर्देशकले बताए । निगमको वाणिज्य विभागले टिकट बिक्रीमा योगदान पुर्‍याउने अपेक्षा राखेर पहिलो उडानमा २० जना नेपाली ट्राभल एजेन्टलाई सित्तैमा जापान घुमाएर ल्याएको थियो । तर, २ सय ७४ सिट क्षमताको जहाजमा एक दर्जन हाराहारी पनि टिकट बिक्री गराउन नसके ती निर्देशकले बताए ।


निगमले सातामा मंगलबार, बिहीबार र शनिबार तीन दिन उडान घोषणा गरेको थियो । निगमले भदौं १२ गते पहिलो उडान गरेको थियो । यो रुटको एकतर्फी हवाई दूरी ७ घण्टा हाराहारीको छ । जहाज उडाउँदा चालक दलको एक सेट (दुई जना पाइलट, ६/८ जना एयरहोस्टेस) जान्छन् । फर्किँदा अर्को नयाँ सेटले जहाज ल्याउने र गएको सेटले आराम ओसाकास्थित होटलमै आराम गर्छन् । तर, सातामा दुईटा मात्रै उडान हुन थालेकाले निगमको सञ्चालक समिति सदस्यले जापान जाने सेट सोही उडानमा काठमाडौं फर्किनुपर्ने बताउँदै आएका छन् ।


चालक दलको सेटका लागि वाइडबडीको ककपिटमुनी बंकर (कर्म्पाटमेन्ट) पनि बनाइएको छ । त्यहाँ नौंवटा आराम गर्न सकिने बेड छन् । ‘चालक दलका सदस्यलाई ५ दिनसम्म होटलमा राख्दा मासिक ८० लाख हाराहारी होटल खर्च, भत्ता लगायत अतिरिक्त खर्च थपिने भएकाले तत्कालकै उडानमा नेपाल ल्याउने गर्नुपर्छ,’ निगमको बोर्ड सदस्य अच्युतराज पहाडीले भने, ‘मैले यसबारे बोर्डको बैठकमा पनि कार्यकारी अध्यक्ष मदन खरेललाई भनिसकेको छु । जनशक्ति अभाव भइरहेका बेला भत्ता दिएर बिनाकाम चालक दललाई ५ दिनसम्म होटलमा राख्नु उपयुक्त हुँदैन ।’


निगमको बाइडबडीभित्र बनाइएको बंकर चालक दलका सदस्यलाई ल्याउन बनाइएको भाग हो । त्यहाँ आराम गरेर फर्किन मिल्छ । तर, निगमको अपरेशन विभागका निर्देशक दिपुराज जुर्आचन तालिमका लागि बैंककमा रहेकाले यसबारे निगमले निर्णय लिन नसकेको नायब महाप्रबन्धकले बताए ।

प्रकाशित : भाद्र १८, २०७६ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?