समायोजनले सुदूरका अस्पताल प्रभावित

अर्जुन शाह

धनगढी — समायोजनमा परेका ठाउँमा चिकित्सकहरू जान तयार भएपछि सुदूरपश्चिमका अस्पतालहरूमा सेवा ठप्प हुने अवस्था छ । अधिकांश चिकित्सकले समायोजनमा संघ रोजेपछि स्वास्थ्य सेवा विभागले जनशक्ति व्यवस्थापन गर्न नसक्दा यस्तो भएको हो ।

समायोजनले सुदूरका अस्पताल प्रभावित

दरबन्दीअनुसार जनशक्ति नभएपनि सीमित चिकित्सकका भरमा चलेका सेती प्रादेशिक, महाकाली र डडेलधुराको उपक्षेत्रीय अस्पताल डाक्टरविहीन हुने अवस्थामा छन् ।

प्रदेशका यी तीन मुख्य अस्पतालमा ६२ जना विशेषज्ञ र ३१ जना मेडिकल अधिकृतको दरबन्दी थियो । हाल ६ जना विशेषज्ञ र ३ जना मेडिकल अधिकृत मात्र छन् । समायोजनमा नाम परेर हिँडेकाको ठाउँमा खटिएर आउने डाक्टरबारे भने सम्बद्ध अस्पतालहरूमा केन्द्रबाट कुनै जानकारी आएको छैन ।

‘सुदूरपश्चिमको स्वास्थ्य सेवाको अवस्था तहसनहस हुन थाल्यो,’ स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने ‘यही अवस्थाले अस्पताल चल्दैन ।’ पहाडी जिल्लाहरूको प्रदेशकै रेफरल सेन्टरका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा २१ जनाको दरबन्दी थियो । तर, १० जना विशेषज्ञमात्रै कार्यरत थिए । यिनमा पनि ७ जना संघतर्फ समायोजनमा परेर पछि जान तयार छन् । महाकाली र डडेलधुरा अस्पतालको हालत पनि उस्तै छ ।

सेतीका फिजिसियन शेरबहादुर कमर, एनेस्थेसियन कपिल गौतम, छाला रोग विशेषज्ञ दिनेश शिवाकोटी, इएनटी अशोक श्रीपाइली, जनरल सर्जन सुरेन्द्र बस्नेत, हाडजोर्नी विशेषज्ञ प्रमोद जोशी र रेडियोलोजिस्ट होमप्रसाद पन्त समायोजनमा परेर सरुवा भएका छन् । उनीहरूलाई समायोजन भएकै ठाउँमा तत्काल हाजिर हुन ताकेता आइरहेको अस्पतालले जनाएको छ ।

६ जना मेडिकल अधिकृतको दरबन्दी रहेको सेतीमा यसअघि ४ जनामात्र कार्यरत थिए । उनीहरू पनि समायोजनमा परेपछि उपचार सेवा पूर्णरूपमा प्रभावित हुने अवस्था छ । कार्यरत डा. किरण खनाल, सलिना खड्का र सुजन गौतम संघमा समायोजन भएका छन् भने डा. पदमप्रकाश शर्मा गोदावरी नगरपालिका कैलालीमा पदस्थापन भएका छन् ।

‘समायोजन भएर अन्तै पदस्थापन भएका विशेषज्ञ र मेडिकल अधिकृतहरू सबैलाई चाँडै रमाना दिनुपर्ने बाध्यता छ,’ सेती प्रादेशिक अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले भने, ‘रिक्त पदमा छिटै अरु नआए उपचार सेवा नै ठप्प हुने अवस्था आयो ।’ समायोजन सबै चिकित्सकको अधिकार भए पनि जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान नपुर्‍याए जनस्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्र प्रभावित हुने उनले बताए ।

सेतीका विशेषज्ञ चिकित्सकहरूमध्ये ७ जना समायोजनमा अन्तै परेपनि नयाँ २ जनामात्रै आउने जानकारी आएको अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले बताए । रेडियोलोजिस्ट डा. होमप्रसाद पन्तको ठाउँमा डा. निरज अर्याल आएका छन् । छाला रोग विशेषज्ञ डा. शम्भुदत्त जोशीको भने पत्र मात्र प्राप्त भएको श्रेष्ठले बताए ।

‘अब समायोजनमा नपरेका ३ जना र थप भएका २ जना विशेषज्ञमात्रै हुने स्थिति छ,’ उनले भने । समायोजनमा परेकाहरूको यही भदौं २ कम पदस्थापन भइसकेको अस्पतालले जनाएको छ । उनीहरूको पदस्थापनपत्र अस्पतालमा प्राप्त भइसकेको छ । पदस्थापन भएको मितिले २१ दिनभित्र अनिवार्य हाजिर भइसक्नुपर्छ । ‘हामीलाई त छट्पटी भइरहेको छ,’ मेसु पाण्डेले भने ‘हाम्रो अस्पताल त चिकित्सकविहीन हुने भयो । अवस्था लथालिंग हुन थालेपछि संघीय मन्त्रालयमा हारगुहार गरिरहेका छौं ।’

तराईकै अर्को जिल्ला कञ्चनपुरमा रहेको महाकाली अञ्चल अस्पतालको हालत पहिल्यैदेखि खस्कदो क्रममा छ । २२ जना विशेषज्ञ र ७ जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पताल २ जना विशेषज्ञ र अन्य एकजना संस्थागत डाक्टरको भरमा चलेको छ । ‘सुदूरपश्चिमको स्वास्थ्य सेवा तहसनहस गर्न खोजिदैछ,’ स्वास्थ्य निर्देशक डा. अवस्थीले भने ‘यतिसम्म लापरबाही होला भन्ने कल्पना पनि गरेका थिएनौं ।’ आफूले केन्द्रमा कडाइका साथ समस्या सुनाइरहेको उनले बताए ।

जिल्ला अस्पतालसरह मान्यता पाएको टीकापुर अस्पतालमा १० जना विशेषज्ञ र ४ जना मेडिकल अधिकृतको दरबन्दी छ । दरबन्दीअनुसार कहिलै पदपूर्ति भएन । हाल सबै पद रिक्त छन् । अहिले नगरपालिकाले भर्ना गरेका करार सेवाका २ जना र २ जना छात्रवृत्तिका डाक्टरहरूले काम चलाइरहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

३७ जनाको दरबन्दीमा रहेको डडेलधुरा उपक्षेत्रीय अस्पतालमा ३ जना डाक्टर मात्र बाँकी छन् । ‘प्रदेश र स्थानीय तहमा समायोजन भएका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी पदस्थापन भएको ठाउँमा गएपछि अस्पतालमा चिकित्सकविहीन हुने अवस्था आएको हो,’ अस्पताल प्रमुख डा. जितेन्द्र कँडेलले भने, ‘यसअघि १९ जना कन्सल्टेन्ट र १८ जना मेडिकल अधिकृतको दरबन्दीमा १२ जना मेडिकल अधिकृत मात्र कार्यरत थियौं । अहिले समायोजनमा परेर ३ जना मात्र बाँकी छौं ।’ समायोजनका कारण चिकित्सक मात्र होइन, यसअघि कार्यरत स्टाफ नर्स तथा अन्य स्वास्थ्यकर्मीको पनि अभाव भएको अस्पतालले जनाएको छ । उक्त अस्पतालमा दैनिक ४ सय जनाभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् ।

सरकारी स्वास्थ्य संस्था डाक्टरविहीन हुन थालेपछि निजी क्षेत्रका अस्पताललाई भने थप मौका भएको छ । सेती प्रादेशिक अस्पतालको गेटै अगाडि लस्करै निजी अस्पताल र क्लिनिकहरू छन् । उनीहरूका एजेन्टहरू सरकारी अस्पतालभित्रै विरामी तान्न दौडधूप गरिरहेका हुन्छन् ।

उपचारका लागि सेतीमा पुर्‍याइएका बिरामीका आफन्तका अनुसार अस्पतालमा पर्चा काटेर बिरामीलाई बेडमा भर्ना गर्ने बेलासम्म नीजि अस्पतालका एजेन्टहरू आफ्नो अस्पतालमा लैजान कर गर्न थाल्छन् । यस्तो गर्न अस्पतालभित्रकै कतिपय स्वास्थ्यकर्मी र कर्मचारी सघाउने गरेका छन् ।

प्रकाशित : भाद्र १८, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?