चार्जिङ स्टेसन सञ्चालनमा, विद्युतीय बस भदौभित्रै

सीमा तामाङ

काठमाडौँ — उपत्यकामा भदौभित्रै सार्वजनिक विद्युतीय बस चलाउने तयारी भएको छ । विद्युतीय बस सञ्चालन गर्ने कम्पनी सुन्दर यातायातले आफ्ना सावरीसाधनका लागि मंगलबार विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।

चार्जिङ स्टेसन सञ्चालनमा, विद्युतीय बस भदौभित्रै

कम्पनीले यसै महिनाभित्रै उपत्यकामा विद्युतीय बस गुड्ने जनाएको छ । त्यसैका लागि चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । सार्वजनिक विद्युतीय सवारी सञ्चालन गर्न र चार्जिङ स्टेसन स्थापनाका लागि नीतिगत कानुनी व्यवस्था हालसम्म भने गरिएको छैन ।

कम्पनीअन्तर्गत सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण गर्न सरकारसँग अनुमति लिनु पर्दैन । अहिलेसम्म त्यस्तो नियम बनेको छैन । त्यसैले सुन्दर यातायातले आफ्ना बसका लागि चार्जिङ मेसिन सञ्चालनमा ल्याएको हो । अन्य सार्वजिनक सवारीसाधन चार्ज गराएबापत् पैसा लिनका लागि भने लाइसेन्स अनिवार्य हुनुपर्ने छ ।

लाइसेन्स सहज गराइदिन अध्यक्ष थापाले सरकारलाई आग्रहसमेत गरे । लाइसेन्स उपलब्ध गराएको खण्डमा ७२ घण्टाभित्र सीतापाइला र सुकेधारामा सार्वजनिक सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण गर्ने उनले बताए । आफ्नै देशमा विद्युत् मौजाद रहेकाले त्यसको उपयोग गर्न विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउन लागेको उनको भनाइ छ ।

स्टेसन उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले देशबाट पेट्रोलियम पदार्थको आयात क्रमशः घटाउँदै देशभित्रै उत्पादन हुने विद्युत्को खपत बढाउने लक्ष्य राखिएको बताए । विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउँदै पेट्रोलियम पदार्थको आयात घटाएर व्यापार घाटा घटाउने सरकारको लक्ष्य रकेको पनि उनले जनाए ।

डिजेलको गाडीलाई डिजेलजस्तै विद्युतीय बसलाई चार्जिङ स्टेसन आवश्यक हुन्छ । त्यसका लागि सरकारले नीतिनियम बनाएको छैन । डिजेलको गाडी ४० लाख रुपैयाँमा सुविधा सम्पन्न गाडी आउँछ । त्यस्तै विद्युतीय बसका लागि १ करोड ६२ लाख खर्च गर्नुपर्छ । विद्युतीय गाडीले पनि ६ वर्षभित्र सम्पूर्ण खर्च उठाउन सक्ने उनले बताए ।

विद्युतीय बसले दैनिक ७ सय रुपैयाँ खपत गर्छ र यसको मेकानिकल खर्च पनि सस्तो भएको उनले बताए । डिजेल गाडीको इन्जिनमा बढी खर्च हुन्छ तर यसमा इन्जिन नै हुँदैन । त्यसैले कम खर्च हुन्छ । चार्जिङ स्टेसन हाल निर्माण भएको चार्जिङ स्टेसनबाट एकैपटक दुई गाडी चार्ज गर्न मिल्ने कम्पनीका इन्जिनियर तिलक गिरीले बताए । अहिले जडान भएको १२० किलोवाटको सुपर चार्जिङ मेसिन हो ।

गाडीमा २० प्रतिशत चार्ज भएमा ८० मिनेटभित्र फुल चार्ज हुन्छ । तर ब्याट्री डाउन भएको खण्डमा त्योभन्दा बढी समय लाग्ने उनले बताए । गाडीको ब्याट्री १५० वाटको छ भने ३० किलोवाटको चार्जिङ मेसिनले चार्ज गर्दा ५ देखि ६ घण्टा लाग्छ । त्यस्तै ६० किलोवाटको मेसिनले २ घण्टा ३० मिनेट र १२० किलोवाटको मेसिनले चार्ज गर्दा ८० मिनेट समय लाग्छ ।

६ देखि ४४८ भोल्टसम्म काम लाग्छ । हाल निर्माण भएका चार्जिङ मेसिनले जुनसुकै विद्युतीय बस चार्ज गर्न मिल्छ । तर जर्मन स्टाइलमा आउने गाडी भने चार्ज गर्न नमिल्ने इन्जिनियर गिरीले बताए । उक्त चार्जिङ स्टेसनमा आकस्मिक आइपर्ने समस्याका लागि फाएर हाइड्रेन्ट, बुट (आगोमा लगाउन मिल्ने), आगो निभाउन उपयोग हुने केमिकल, हेल्मेट, बालुवा राखिएको छ ।

एउटा सार्वजिनक चार्जिङ स्टेसन निर्माण गर्न ७० लाख रुपैयाँ खर्च लाग्छ । यी सबै चार्जिङ मेसिनबाट एसी र डीसी आउटपुटको सुविधा छ । गाडी धनीले चार्जिङ मेसिनबाट ब्याट्री बिग्रिने चिन्ता लिनु नपर्ने उनले बताए । डिजिटल प्रविधिका चार्जिङ मेसिन भएकाले जति चार्ज गर्नुछ त्यति नै युनिट तोकेर चार्ज गर्न मिल्ने सुविधा छ ।

मेसिनको माथिल्लो भागमा चार्ज पनि देखाइन्छ । जसले पहिले कति र अहिले कति छ भन्ने थाहा पाउन सकिन्छ । कम्पनीका अनुसार हाल प्रतियुनिट चार रुपैयाँ २० पैसामा विद्युतीय बस चार्ज गर्ने व्यवस्था मिलाइएको छ ।

प्राधिकरणबाट थ्री फेज लाइन विद्युत् लिइएको छ । सार्वजनिक रूपमा चल्ने अन्य यातायातका लागि भने स्वीकृति लिएपछि मात्रै चार रुपैयाँ ८० पैसासम्म लिन सकिने उनले बताए । विद्युतीय बस कम्पनीले ल्याएको विद्युतीय बसभित्र आकर्षक र सुविधायुक्त बनावटको छ । हाल नेपालको सडकमा गुड्ने बसमा अगाडिको भागलाई नै महत्त्व दिइन्छ र सिटको व्यवस्थापन पनि त्यसैगरी हुने गरेको छ । सुन्दर यातायातले ल्याएको बसमा अगाडिका सिट होचो र पछाडिको सिट अग्लो छ ।

यी बसमा भने पछाडिको भागलाई महत्त्व दिँदै धेरै सिट पछाडि भागमा छ । अगाडि भागमा आरक्षित सिट राखिएको छ । बसमा गरिएको सिट व्यवस्थापनले यात्रुको चापलाई नियन्त्रण गर्न मद्दत पुग्ने अध्यक्ष भेषबहादुर थापाको भनाइ छ । बसमा आरक्षण सिट पनि सहजै पहिचान गर्न सकिन्छ । सिटहरू यात्रुको चाप नहुने भागमा राखिएको उनले बताए । विद्युतीय बसमा ७ सीसी क्यामेरा जडान गरिएको छ ।

गाडी भाडा

यात्रुले यो बसमा यात्रा गर्दा कार्ड, ई–सेवा, प्रभु पे, खल्ती, आईएमई पेमेन्ट गेट वे तथा नगदबाट पनि भाडा तिर्न सक्ने छन् । नगद भाडाका लागि सहचालकलाई नोट दिने र उक्त नोट बराबर सहचालकले दिएको सिक्का बक्समा राख्नुपर्ने छ ।

विद्युतीय बसको भाडा १५ देखि २० प्रतिशत सस्तो गराउने पहल गरिरहेको सुन्दर यातायातले जनाएको छ । कम्पनीको २१५ रुपैयाँको कार्ड खरिद गर्दा यात्रीले २६५ रुपैयाँ बराबरको यात्रा गर्न सकिने छ ।

विद्युतीय बसको पाँच रुटहरूमा चक्रपथ परिक्रमा, नारायणथान–जावलाखेल–मेडिसिटी अस्पताल, गोंगबु–सामाखुसी–गौशाला–कोटेश्वर–सल्लाघारी, ढुंगेअड्डा–कलंकी–त्रिपुरेश्वर–वीर अस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशाला–चाबहिल–बौद्ध–अत्तरखेल र सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीर अस्पताल–जमलसम्म रहेका छन् ।

प्रकाशित : भाद्र १८, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?