कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सोमबार राति काबुलमा भएको आत्मघाती हमलामा परी २ नेपाली सुरक्षा गार्डसहित १६ जनाको मृत्यु

११९ बढी घाइते
स्वरूप आचार्य

काठमाडौँ — अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे भएको बम बिस्फोटमा परी २ जना नेपालीसहित कम्तीमा १६ जनाको ज्यान गएको छ । एक सय १९ जना घाइते छन् ।

सोमबार राति काबुलमा भएको आत्मघाती हमलामा परी २ नेपाली सुरक्षा गार्डसहित १६ जनाको मृत्यु

पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावास स्रोतले समेत आत्मघाती हमलामा २ नेपालीको मृत्यु भएको अनौपचारिक जानकारी आएको बताएको छ । केही समय यता अफगानिस्तान समेत दिल्ली दूतावासले हेर्ने गरेको छ । मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको ‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत थिए ।

आत्मघाती हमलापछि गार्दाको कम्पानी अगाडि भेला भएका सुरक्षा गार्ड तथा कर्मचारीहरु । (स्रोतबाट प्राप्त तस्बिर)

घाइतेमा कोही पनि नेपाली नरहेको स्रोतले जनाएको छ । सोही स्थानमा लामो समय काम गरेर करिब पाँच महिनाअघि फर्किएका एक नेपालीका अनुसार त्यति बेला त्यहाँ करिब ११८ जना नेपाली र केही नेपालीभाषी भारतीय नागरिक सुरक्षा गार्डका रुपमा तैनाथ थिए ।

‘बिस्फोटमा परी १२ जना अफगानी र २ जना अर्को देशका सुरक्षा गार्डको पनि ज्यान गएको जानकारी छ,’ उनले भने । उनले पाएको सूचनाअनुसार बाहिरी पोस्टमा बिस्फोट गरेर ४/५ जना तालिबानी आतंकवादी क्याम्प भित्र प्रवेश गरी अन्धाधुन्द गोलीबारी गरेका थिए । मृत्यु हुनेमा अधिकांश क्याम्प नजिकैको वस्तीका बासिन्दा छन् ।’

बिस्फोटका लागि ट्रक नै प्रयोग गरिएको त्यहाँ कार्यरत नेपाली साथीहरुले आफूलाई जानकारी दिएको उनले बताए ।

स्रोतका अनुसार बिस्फोटमा परी चितवन घर भएका कृष्ण थापा र रोल्पा घर भएका चन्द्र पुनको मृत्यु भएको हो । उनका अनुसार गार्दा वर्ल्ड तथा दिल्लीस्थित नेपाली दूतावास कुनैले पनि मृतकको परिवारलाई औपचारिक जानकारी गराएका छैनन् । थापा र पुन दुवैको घटनास्थलमा नै मृत्यु भएको हो ।

‘कृष्ण थापा तैनाथ रहेकै पोष्ट नजिक बिस्फोट भएपछि उनको तत्कालै मृत्यु भएछ,’ स्रोतले भन्यो, ‘चन्द्र पुन भने अफ ड्युटीमा रहेछन् । बिस्फोटपछि कभर दिन जाँदा आतंकवादीको गोली लागेछ ।’

ग्रीन भिलेज क्याम्प विदेशीहरू बस्ने भवन परिसर हो । काबुलबाट जलालावाद जाने राजमार्गको किनारमै रहेको क्याम्प जाने बाटोको दाँयातर्फ भने स्थानीय वस्ती छ । क्याम्पमा भएको आत्मघाती बिस्फोटपछि त्यहाँ रहेका ४ सय जना विदेशीलाई अर्को सुरक्षित स्थानमा सारिएको थियो ।

आत्मघाती हमलाको जिम्मा तालिवान समूहले लिएको छ । उसले विदेशी सैनिकलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । तालिवानले उक्त भवनमा सशस्त्र लडाकुहरू रहेको दाबी गरेको रोयटर्सले उल्लेख गरेको छ । ग्रीन पार्कमा भएको यो पाँचौं ठूलो हमला हो ।

२०७३ असार ६ गते काबुलमै नेपाली सुरक्षा गार्ड सवार मिनिबसमा बम बिस्फोट हुँदा १४ नेपालीको मृत्यु भएको थियो ।


प्रकाशित : भाद्र १७, २०७६ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?