प्रदेशी विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौँ — मिटरब्याजको धन्दा चलाएको र ठगी गरेको आरोपमा पक्राउ परेका सर्लाहीका श्याम प्रदेशी विरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।

प्रदेशी विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुमतिमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रदेशीको सम्पत्ति विवरण खोज्न थालेको हो । प्रहरीले प्रदेशी र उनको परिवारका सदस्यको नाममा रहेको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकमार्फत पत्राचार गरेको छ भने उनको जग्गा बेचबिखन रोक्न मालपोत कार्यालयमा पत्राचार गरेको छ ।


जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी गोपालचन्द्र भट्टराईले विभागले अनुमति दिएपछि अनुसन्धान थालिएको बताए । उनले प्रदेशीको नाममा रहेको चल–अचल सम्पत्ति र त्यसको स्रोतबारे विस्तृत अनुसन्धान गरेर विभागलाई प्रतिवेदन बुझाइने बताए । प्रदेशीले विपन्न, निरक्षर र दलित समुदायका व्यक्तिलाई ऋण दिएर दोब्बर–तेब्बर रकमको कागजमा ल्याप्चे लगाउन लगाएको प्रमाण भेटिएको छ । कान्तिपुरले फेला पारेको कागजमा श्यामले १ सय ९९ जनालाई यसरी ऋण दिएको देखिन्छ ।


पक्राउ परे मिटर ब्याजका नाईके प्रदेशी

परिस्थितिको फाइदा उठाउँदै ऋण दिएबापत २० देखि २५ प्रतिशत कमिसन लिने, ३६ प्रतिशतभन्दा धेरै चक्रीय ब्याजमा ऋण लगाउने, समयमै ब्याज नतिर्नेलाई दैनिक एक हजारसम्म हर्जाना तिराउने र फर्जी कागजका आधारमा अदालतमा मुद्दा हाल्ने उनको शैली देखिन्छ ।


जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रदेशीले आफ्नो र परिवारका विभिन्न सदस्यको नाममा जिल्ला अदालत सर्लाहीमा हालेको मुद्दामध्ये ३९ वटामा उनको पक्षमा फैसला भइसकेको छ । जिप्रका सर्लाहीका अनुसार मंगलबारसम्म एकजना पीडितले मात्रै प्रहरीमा ठगी मुद्दा दर्ता गरेका छन् । अन्य पीडितले सामूहिक निवेदन दर्ता गर्ने प्रक्रिया थालेको उनले जानकारी दिए ।


प्रदेशीमाथि यौन उत्पीडनको आरोप लाग्दै आएको छ । उनले छोरी–चेली ल्याइदिए ऋण माफ गरिदिनेसम्मको प्रलोभन दिने गरेको पीडितले खुला रूपमै बताउँदै आएका छन् । एक वर्षअघि घरमा काम गर्ने गाउँकै एक मण्डल थरकी बालिकालाई जबर्जस्ती करणी गरेको उनीमाथि लागेको थियो । तर पीडित परिवार आर्थिक प्रलोभनमा परेर अदालतमा बयान फेरेपछि प्रदेशी थुनामुक्त भएको एक प्रहरी अधिकारीले बताए ।


प्रदेशीको मिटर ब्याजको पासो सहन नसकेर जिल्लामा तीन जनाले आत्महत्या गरिसकेको स्थानीय कमल बुढाथोकीले बताए । लालबन्दी नगरपालिका–३ जब्दीका दुर्गादेवी चौधरीले लिएको २ लाख कर्जाको ब्याजसमेत चुक्ता गरेपनि सावाँ बाँकी रहेको भन्दै मुद्दा दर्ता गर्ने र थुनामा पठाउने भन्दै धम्क्याएपछि चौधरीले आत्महत्याको बाटो रोजेकी बुढाथोकीले बताए ।


चौधरीको आत्महत्या पश्चात ससुरा श्रीकान्त चौधरीलाई पनि प्रदेशीले तारन्तार ताकेता र धम्की दिन थालेपछि उनले पनि आत्महत्या गर्नुपरेको बुढाथोकीको भनाई छ ।


यो पनि पढ्नुहोस्ः

एउटै ऋणका १९ तमसुक, मिटर ब्याजबाट पीडित १९९ जनाले साढे ४ वर्षदेखि न्याय पाएनन्

प्रकाशित : भाद्र १७, २०७६ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?