कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चट्याङले २५० भेडा मरे

भीमबहादुर सिंह

जाजरकोट — कुशे पाटनमा चरनका लागि लगिएका २ सय ३३ भेडा चट्याङ लागेर मरेका छन् । एकैपटक ठूलो संख्यामा भेडा मरेपछि कुशे गाउँपालिकाका किसान चिन्तित बनेका छन् । यस्तै हावाहुरीसहित परेको चट्याङपछि पाटनमा कम्तिमा २ सय ५२ भेडा पनि हराएको प्रहरीले जनाएको छ ।

चट्याङले २५० भेडा मरे

कुशेमा करिब ८४ जना किसानले व्यावसायिक रुपमा भेडापालन गर्दै आएका छन् । उनीहरुले भेडा चरनका लागि वर्षायाममा करिब ४ हजार ८ सय मिटर उचाइको कुशे पाटनमा लैजाने गरेका छन् । पाटनमा भेडालगायत चौपायाका लागि पोसिलो बुकी घाँस पाइन्छ । तर वर्सेनि हावाहुरी, चट्याङ, वन्यजन्तुलगायतका कारण भेडा जोगाउन मुस्किल हुने गरेको किसानको गुनासो छ । कुशे – ९, चौराँटाका दीर्घबहादुर रोकायले भने, ‘चटयाङले भेडापालक किसानको रोजीरोटी खोसिदिएको छ ।’


स्थानीय सरकार र अन्य निकायसँग क्षतिपूर्तिको माग गरिएको उनले जनाए । कुशे–८, कफल्लाका दुर्गबहादुर रोकायको अस्थायी गोठमा पालिएका १४५ मध्ये ८३ मरेको र ६२ भेडा हराएको उनले बताए । कुशे–८ जिन्तालाका रुपबहादुर सिंहका १० भेडा मरेका छन् भने १० वटा हराएका छन् । कुशे–७ समाइलाका गणेशबहादुर घर्तीका ६० भेडा मध्ये ४०, कुशे–५, ढीमेका रत्नबहादुर शाहका १ सय १७ मध्ये ३०, कुशे–९ का पृथ्वीबहादुर रोकाय र जनक रोकायका ४२ मध्ये १२ भेडा मरेका छन् । अरु भेडा हराएको किसानको गुनासो छ ।


हावाहुरीसँगैको चट्याङ लागेर २ सय ३३ भेडा मरेको र २ सय ५२ भेडा हराएको तथ्यांक आएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबहादुर खत्रीले बताए । ‘मर्ने भेडाको संख्या अझै एकीन हुन सकेको छैन,’ उनले भने, ‘घटनाबारे अनुसन्धानका लागि प्रहरी टोली खटाउने तयारी भइरहेको छ ।’ चट्याङले बारेकोट गाउँपालिका–३, धौलाकोटका नरबहादुर बस्नेतका ४२४ भेडा मध्ये ५० वटा मरेको र २५ हराएका छन् ।


पाटनमा हावाहुरी र चट्याङका कारण ठूलो संख्यामा भेडा मरेकोले क्षतिको एकीन गरी पीडित किसानलाई राहतका लागि प्रक्रिया थालिएको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । ‘क्षतिको विवरण संकलनका लागि टोली खटाइसकेका छौं,’ उनले भने, ‘पाटनमा मरेका भेडाको संख्या बढेको अनुमान छ ।’ उनका अनुसार भेडा मरेपछि किसानको १ लाखदेखि १२ लाख रुपैयाँसम्मको क्षति भएको छ । स्थानीय बजारमा १५ हजारदेखि २० हजार रुपैयाँमा भेडा बिक्री हुने गरेको छ । उनका अनुसार बजार दरअनुसार किसानको कम्तिमा ४ करोड रुपैयाँको क्षति भएको छ ।

प्रकाशित : भाद्र १७, २०७६ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?