कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कुकुर मारेको भन्दै नगरप्रमुखसहित ३ जनाविरुद्ध उजुरी

डम्बरसिं राई

खोटाङ — कुकुर मारेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालसहित तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा मंगलबार उजुरी परेको छ ।

कुकुर मारेको भन्दै नगरप्रमुखसहित ३ जनाविरुद्ध उजुरी

नगरप्रमुख रिजालको निर्देशनमा मुलुकी अपराध संहिता विपरित कुकुर मारेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ४५ वर्षीय खेमराज आचार्य र भोजपुर घर भइ हाल नगरप्रमुख रिजालको घरमा बस्ने करिब ४४ वर्षीय श्रेष्ठ थर मात्र उल्लेख गरेर तीन जनाविरुद्ध प्रहरीमा उजुरी परेको हो ।

जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी खुट्टाका बाजिन्द्र विष्ट, स्नेहाज केयर ललितपुर, भैसेपाटीकातर्फबाट पशु प्राविधिक सुमनकुमार श्रेष्ठ र नेपाल भेटेरीनरी एशोसियसनकातर्फबाट पशु चिकित्सक सिताराम यादवले उजुरी दिएका हुन् । उनीहरुले डिएसपी वामदेव गौतम नभएपछि निमित्त प्रमुख प्रहरी निरीक्षक आमोदकुमार खेरवारलाई उजुरी बुझाएका हुन् ।

उजुरीमा ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालको निर्देशनमा आचार्य र श्रेष्ठले दिक्तेलको त्रिवेणीचौक र भानुचौकमा गत भदौ १४ गते घरपालुवा, बटुवा तथा सामुदायिक कुकुरहरुको मुख र टाउकोमा चिपर्टले कुट्ने, डोरीमा झुन्डाउने, बिष समेत प्रयोग गरी सार्वजनिक स्थलमा निर्मम तरिकाले मार्न लगाइएको र कुटपिट गरी अचेत अवस्थामा जिउँदै करिब दुई सय कुकुर खाडलमा पुरेको’ भन्दै कारबाही हुनुपर्ने उल्लेख गरिएको छ ।

मुलुकी अपराध संहिता २०७४ परिच्छेद २७ पशुपंक्षीसम्वन्धी कसुरको दफा २९० (१) र दफा २९१ (१) बमोजिम कसुर अपराध गरेको भन्दै संलग्नलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कारबाही गरिनुपर्ने उजुरीमा उल्लेख गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख रिजालले भने कुकुर आतंकले स्थानीय हैरान भएकाले सहन नसकेर स्थानीय आफैंले विष खुवाएर मरेको, हैजाले मरेको कुकुरलाई व्यवस्थापन गरिएको बताउँदै आएका छन् । ‘हामीले कानुन मिचेर कुनै पनि काम गरेको छैन,’ नगरप्रमुख रिजालले भने, ‘स्थानीयले बिष खुवाएर मारेको, हैजाले मरेको कुकुर संकलन गरेर व्यवस्थापन मात्र गरेका हौं । कुटेर मारेको भन्ने विषयमा हामी छानबिन गर्छौँ ।’

कुकुर मारिएको विषयमा छानबिन तथा उजुरीका लागि नेपाल भेटेरीनरी एशोसियसन काठमाडौं, स्नेहाज केयर ललितपुर लगायतको टोली सोमबार दिक्तेल आएको हो । पशु चिकित्सकसहितको टोलीले दिक्तेलबजारमा केही कुकुरको उपचार समेत गरेको पशु चिकित्सक यादवले सुनाए ।

प्रकाशित : भाद्र १७, २०७६ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?