सुत्केरीलाई सुत्केमानु
बझाङ — छबीसपाथीभेरा गाउँपालिका–२ की तिनु दमाई सुत्केरी भएको एक महिना भयो । भारतका जंगलमा गएर लिसो (खोटो संकलन) टिप्ने र उनी सुत्केरी हुने बेलासम्म घर फिर्ने वाचासहित मंसिरमा घर छाडेका उनका श्रीमान् सोचे जस्तो कमाइ नभएको भन्दै फर्केका छैनन् ।
निम्न आर्थिक अवस्थाको परिवारकी उनले सुत्केरी अवस्थामा आवश्यक पर्ने पोषणयुक्त खानाको जोहो गर्न सकेकी छैनन् । सुत्केरी भएको १५ दिनसम्म रगत बगेका कारण उनको शरीर कमजोर भएको छ ।
बेलाबेला आँखा तिर्मिराउँछन् । शरीर झमझमाउँछ । घरीघरी रिँगाटा लाग्छ । यसैबीच गाउँपालिकाले सुरु गरेको ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रमले भने उनलाई थोरै भए पनि राहत दिएको छ ।
छबीसपाथीभेरा गाउँपालिकाले सुरु गरेको यो कार्यक्रमअर्न्तगत दुई किलो घिउ, एक क्यारेट अन्डा र दुई किलो गेडागुडी पाउँदा उनको अनुहारमा ठूलै चमक देखिन्थ्यो । ‘यति खाएपछि त तंग्रिन्छु कि ? उनले भनिन् । अहिलेसम्म आफू राम्रोसँग उभिन पनि नसकेको उनले बताइन् । बिहानबेलुका कोरो रोटो (निस्तै रोटी) र भात मात्र खाने गरेको उनको भनाइ छ ।
‘घरका पुरुष भारततिर छन् । सलाई किन्न पनि हामीसँग पैसा हुन्न,’ अर्की सुत्केरी झल्लादेवी धामीले भनिन्, ‘घरमान्छे नभए पनि गाँउपालिकाले हेरेको छ ।’ गाउँपालिकाले यो वर्ष मात्र ५६ जना सुत्केरीलाई उपहारस्वरूप सुत्केमानु दिइसकेको छ । २०७८ सालसम्म कुपोषणमुक्त हुने उसको लक्ष्य छ । सोहीअनुसार सुत्केमानु वितरण गरिएको गाउँपालिकाले बताएको छ ।
प्रकाशित : भाद्र १७, २०७६ ०७:३६