१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खेत मासेर माछापोखरी

कमल पन्थी

बर्दिया — लागत बढी र उत्पादन न्यून हुन थालेपछि यहाँको बढैयाताल–५ का गणेश शर्मा लम्सालले धान खेती छोडे । विकल्पमा माछा पालन व्यवसाय रोजाइमा पर्‍यो । त्यसका लागि उनले त्यही खेतमा माछा पाल्ने पोखरी निर्माण गरे ।

प्रतिबिघा मुस्किले २५ क्विन्टल धान उत्पादन हुने खेतबाट पोखरी निर्माण गरी माछापालन सुरु गरेपछि अहिले खर्च कटाएर प्रतिबिघा वार्षिक चार लाख रुपैयाँ कमाउँछन् । उनले चार बिघा क्षेत्रफलमा माछा पाल्दै आएका छन् । उनी मत्स्यपालक व्यवसायी संघका अध्यक्ष पनि हुन् ।


माछामा खासै लगानी गर्नु नपर्ने, राम्रो आम्दानी हुने र आफ्नो प्रयोगका लागि पनि हुने भएकाले किसान त्यसतर्फ आकर्षित भएका हुन् । ‘धान खेती गर्दा मुस्किलले प्रतिबिघा ५० हजार रुपैयाँ आम्दानी हुन्थ्यो,’ उनले भने, ‘१० वर्षदेखि माछा उत्पादन र बिक्रीबाट प्रतिबिघा वार्षिक चार लाख बचत गर्दै आएको छु ।’


पुष्प भुसालले १५ बिघा धान खेत मासेर माछा पालन गरेका छन् । उनको पनि अनुभव उस्तै छ । धानले भन्दा माछाले राम्रो आम्दानी दिएको छ । बढैयातालमा करिब एक सय घरपरिवार विगत केही वर्षयता धान खेती छाडदै माछापालनमा आकर्षित छन् ।


परम्परागत खेतीबाट घरखर्च चलाउन धौधौ भएपछि व्यावसायिक माछापालन सुरु गरेका बढैयाताल–३ का रामनाथ थारुले थोरै समयमा पाछा पालन व्यवसाय गरेर राम्रो आम्दानी गर्न सफल भएको बताए । धान खेतीका लागि समयमा बीउ, मल र उचित सिँचाइ नपाएको भन्दै माछापालनतर्फ लागेको किसानको भनाइ छ ।


साबिक सोरहवा गाविसमा १ सय ५५ हेक्टरभन्दा बढी धान खेत मासेर यहाँका किसान मत्स्यपालनमा छन् । यहाँ दैनिक दुई टन माछा बिक्री हुने गरेको बढैयाताल मत्स्य ब्लक एवं मत्स्य व्यवसायी संघका अध्यक्ष लम्सालले बताए । दसैं, तिहार, माघीमा माछाको माग बढी हुन्छ ।


बढैयाताल गाउँपालिका पश्चिम तराईको माछाको हब हो । चार दशकअघिसम्म भारतको पश्चिम बंगाल र सिलगुढीबाट बढैयातालमा माछा खरिद गर्न व्यवसायी आउँथे । त्यस बेला सडक सन्जाल थिएन । यहाँका बूढापाका अनुसार रुपैडिहाबाट नेपालगन्ज हुँदै बढैयातालसम्म बयलगाडामा आइस (बरफ) राखेर माछा खरिद गरी नेपालगन्जबाट ट्रकमा लोड गरी लैजान्थे । अहिले सीमावर्ती भारत र यहाँ माछाको माग बढी भएपछि सिलगुढीका व्यवसायी आउन छाडेका छन् ।


बढैयातालमा उत्पादन हुने माछाका लागि बजारको समस्या छैन । यहाँ उत्पादित माछा बाँके, सुर्खेत, दाङ, कैलालीलगायत जिल्लामा निकासी भएको प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना कार्यालयले जनाएको छ । यहाँका माछा सीमावर्ती भारतीय बजारमा समेत खरिदबिक्री हुन्छन् ।


थोरै लगानी, कम मिहिनेत तथा छोटो समयमा धेरै आम्दानी हुने भएपछि बढैयातालका किसान माछापालनप्रति आकर्षित भएको कृषि ज्ञान केन्द्रका नायव प्राविधिक सहायक कमल तामाङले बताए । गत वर्षको तुलनामा माछाको निकासी बढेको उनले बताए । ‘गत आवको असार मसान्तसम्म ३३ करोड रुपैयाँको माछा उत्पादन भएको छ,’ उनले भने ।

प्रकाशित : भाद्र १७, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?