मर्ज हुँदै म्यानपावर कम्पनी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मर्ज हुँदै म्यानपावर कम्पनी

होम कार्की

काठमाडौँ — नियमन र कामदारलाई क्षतिपूर्ति दिलाउन बाध्यकारी नियम ल्याइएपछि २ सय ६२ वैदेशिक रोजगार व्यवसायी कम्पनी गाभिएर एक सय १४ वटा बनेका छन् । व्यवसायीले ६ वटासम्म म्यानपावर आपसमा गाभेर एउटा कम्पनी बनाएका छन् । 

कम्पनी एकआपसमा गाभ्न सक्ने गरी ६ करोड रुपैयाँसम्मको धरौटी राख्नुपर्ने बाध्यकारी नियम ल्याइएपछि व्यवसायी ‘मर्जर’ को प्रक्रियामा पुगेका हुन् । तोकिएको धरौटी भदौ १८ भित्र व्यवसायीले राखिसक्नुपर्ने छ ।


२ सय ६२ बाट गाभिएर बनेको १ सय १४ सहित ६ सय ३७ वटा म्यानपावर कम्पनीले विभागमा तोकिएको धरौटी जम्मा गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए । उनले भने, ‘हामीले अनुमान गरेअनुसार नै म्यानपावर कम्पनी दर्ता भएका छन् ।’


सरकारले १२ सयको संख्यामा रहेका म्यानपावर कम्पनीलाई आधामा झार्ने योजना बनाएको थियो । जसअनुसार कामदार पठाउने संख्या तोकेर धरौटी रकम निर्धारण गरेको थियो । एक आर्थिक वर्षमा ३ हजार जनाभन्दा कम कामदार पठाउने कम्पनीले ५० लाख नगद र १ करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी, ५ हजारसम्म कामदार पठाउनेले १ करोड नगद र २ करोड बैंक धरौटी तथा ५ हजारभन्दा बढी कामदार पठाउने कम्पनीले २ करोड रुपैयाँ नगद र ४ करोड बैंक ग्यारेन्टी राख्नुपर्ने नियम छ ।


झन्डै ९० प्रतिशत कम्पनीले दुई/दुई करोड रुपैयाँ राखेका छन् । वर्षमा १० हजार जनासम्म कामदार पठाइरहेका केही म्यानपावर कम्पनीले मात्रै माथिल्लो सिलिङको ६ करोड रुपैयाँ धरौटी राखेका छन् । सरकारले म्यानपावर कम्पनीको अनुगमन गर्न संयन्त्र नभएको भन्दै २०६७ असोज ११ देखि नयाँ दर्ता गर्न रोकेको थियो ।


तर, व्यवसायीले अदालतमा गएर म्यानपावर कम्पनी दर्ता गर्न थालेको थियो । अदालतको आदेश लिएर मात्रै झन्डै ५ सयवटा म्यानपावर कम्पनी दर्ता भए । अझ संख्या बढ्न थालेपछि सरकारले वैदेशिक रोजगार ऐन नै संशोधन गरेर २ करोडदेखि ६ करोडसम्म धरौटी राख्नुपर्ने बाध्यकारी नियम ल्याएको हो । एउटा व्यक्ति र एकाघरकाले एकभन्दा बढी म्यानपावर कम्पनी दर्ता गर्न नपाउने नियम ल्यायो ।


‘धेरैजसो व्यवसायीले दुईभन्दा बढी म्यानपावर खोलिएको देखियो । एउटा म्यानपावरको कालोसूची परेको समयमा अर्को म्यानपावर कम्पनीबाट कारोबार खोल्ने खास उद्देश्य थियो,’ विभागका महानिर्देशक भुसालले भने, ‘अब एकजनाको नाममा एउटा मात्रै म्यानपावर दर्ता गर्न पाउने वातावरण बन्यो ।’


धेरै म्यानपावर कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण निःशुल्क भिसा र टिकटको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न नसकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बुझाइ छ । विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा म्यानपावर कम्पनीविरुद्ध १२ सय ६३ वटा उजुरी परेका थिए ।


जसमा पीडितले २९ करोड ६३ लाख रुपैयाँ दाबी गरेका छन् । यसमा सबै उजुरीकर्ताले दाबी गरेअनुसारको क्षतिपूर्ति भने पाइसकेका छैनन् । ४ सय २९ वटा उजुरी फरफारक भई ९ करोड ५९ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिलाइएको विभागले जनाएको छ । ‘फरफारक भएका मुद्दाको प्रकृति हेर्दा पीडितले दाबी गरेअनुसार नै प्रमाण जुटाएर क्षतिपूर्ति दिलाइएको छ,’ महानिर्देशक भुसालले भने, ‘पीडितसँग म्यानपावर कम्पनीबाट दिइएको १० हजार रुपैयाँको मात्रै भर्पाइ हुन्छ । हामी अरू प्रमाण जुटाएर क्षतिपूर्ति दिलाउने काम गरिरहेका छौं ।’


म्यानपावर (संस्थागत) बाटै भएका ठगीलाई विभागले नै टुंग्याउने गरेको छ । म्यानपावरमाथि छानबिन गरी मुद्दाको अन्तिम किनारा लगाउने अधिकार विभागलाई नै छ । ‘विभागले अदालतमा मुद्दा पठाउने गरेको छैन । निर्णयउपर चित्त नबुझे मात्रै पुनरावलोकनका लागि श्रम मन्त्रालय जान पाउने म्यानपावरलाई अधिकार छ,’ उनले भने, ‘अहिलेसम्म विभागको निर्णयविरुद्ध म्यानपावर कम्पनी पुनरावलोकनका लागि श्रम मन्त्रालय गएका छैनन् ।’


विभागले पीडितलाई क्षतिपूर्ति दिलाएपछि म्यानपावरलाई जरिवाना पनि तिराउन थालेको छ । ८१ वटा म्यानपावर कम्पनीमाथि जरिवानालाई लगाइएको छ । पीडित उजुरी गरेपछि म्यानपावरको कारोबार बन्द हुन्छ । उजुरीको फरफारक नभएसम्म उक्त म्यानपावरले अरू कामदार विदेश पठाउन पाउँदैनन् । त्यस्ता ९३ वटा कम्पनीको कारोबार रोक्का भएको छ ।


म्यानपावरभन्दा बढी व्यक्तिगत ठगीका घटना दोब्बर छन् । आर्थिक वर्ष २०७५/७६ मात्रै ८ सय १९ जनाविरुद्ध ५६ करोड २१ लाख रुपैयाँ ठगी भएको भन्दै विभागमा उजुरी परेको छ । यसमा विभागले प्रमाण पुर्‍याएर २ सय १९ जनाविरुद्ध २४ करोड ५० लाख रुपैयाँ बिगो दाबी गर्दै वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दर्ता भएको छ ।


‘संस्थागत उजुरी परेमा विभागबाटै किनारा लाग्छ । तर, व्यक्तिगत ठगीका विरुद्ध अदालत जानैपर्छ,’ भुसालले भने, ‘हामीले प्रमाण जुटाएर अदालतमा मुद्दा दर्ता गर्ने क्रम बढाएका छौं ।’ गत आर्थिक वर्षको साउनमा ८८ वटा व्यक्तिगत उजुरी पर्दा अदालतमा २८ मात्रै दर्ता भएको थियो । असार मसान्तसम्म विभागमा पुगेका ५५ उजुरीमध्येका ३१ मुद्दा अदालतमा दर्ता भएको छ ।

प्रकाशित : भाद्र १७, २०७६ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्रीको स्वास्थ्य : छैटौंपटक प्लाज्माफेरेसिस

अतुल मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’ को उपचारक्रममा सोमबार नेसनल युनिभर्सिटी अस्पताल सिंगापुरमा छैटौंपटक प्लाज्माफेरेसिस गरिएको छ ।

१२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि सम्भावित समस्या आकलन गर्दै करिब डेढ महिनाअघि विभिन्न परीक्षण एवं उपचार प्रक्रिया सुरु भएको हो ।

कान्तिपुरलाई सिंगापुरबाट प्राप्त जानकारीअनुसार दिन बिराएर गरिराखिएको रगत शुद्घीकरणसँग सम्बन्धित उपचारको क्रम बुधबार समाप्त हुनेछ । यसअघि प्रधानमन्त्रीले बिहीबार आराम गरेर शुक्रबार स्वदेश फर्कने कुरा भए पनि शनिबारसम्म लाग्न सक्ने एक चिकित्सकले बताए ।

‘प्लाज्माफेरेसिस गरेपछि एन्टिबडी स्तर आदि हेर्ने भएकाले उहाँ शनिबार फर्कने कुरा भएको छ,’ ती चिकित्सकका अनुसार यसअघिको सिंगापुर उपचारपछि स्वदेश फर्किंदासमेत केही साइड इफेक्ट देखिएको थियो । प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको शरीरमा देखिएको केही बढी मात्रामा मिर्गौलासम्बन्धी एन्टिबडीलाई निष्कासन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्माफेरेसिस) लाई निरन्तरता दिन पुनः दोस्रोपटक सिंगापुर लगिएको जनाएकी थिइन् ।

उनको शरीरमा कामलायकभन्दा भिन्न प्रकारको एन्टिबडी देखिएपछि यो उपचार प्रक्रिया अपनाइएको हो । यसअघि सन् २०१४ मा प्रधानमन्त्रीको हातमा फरक प्रकारको कडा संक्रमण भएपछि र दुई वर्ष अघिसमेत यो एन्टिबडी हेरिएको थियो । प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकका अनुसार त्यसयताका डोनर स्पेसिफिक एन्टिबडी’ नदेखिएकाले यो उपचार प्रक्रिया अपनाइएको थिएन ।

‘यसपटक दाता विशिष्ट एन्टिबडी देखिएकाले प्लाज्माफेरेसिस गरिएको हो,’ प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकले कान्तिपुरसँग भने, ‘यसलाई समयमै शरीरबाट बाहिर निकाल्दा राम्रो हुने आधुनिक चिकित्सा विज्ञानको मान्यता छ ।’ यसअघि प्लाज्माफेरेसिसको पूर्वतयारीअन्तर्गत साउन १८ देखि २७ सम्म नेसनल युनिभर्सिटी अस्पतालमै प्रधानमन्त्रीको विभिन्न परीक्षण गरिनुका साथै औषधिसमेत चलाइएको थियो । त्यतिबेला उनी मुलुक फर्केपछि औषधिको साइड इफेक्टले ‘हेडेक’ अलि अप्ठ्यारोसमेत देखिएको थियो ।

‘कतिपटक प्लाज्माफेरेसिस गर्ने भन्नेबारे बिरामीको एन्टिबडी टाइटर लेभल हेरेपछि चिकित्सकले निर्णय गर्छन्,’ प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गराउनुभन्दा अघिदेखि करिब १० वर्षसम्म उनको उपचार प्रक्रियामा संलग्न वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्ले भन्छन्, ‘प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले उनलाई ७ पटक प्लाज्माफेरेसिस गरेपछि एन्टिबडी टाइटर सामान्य वा सामान्यको नजिक हुने आकलन गरेका होलान् ।’

सामान्य भाषामा भन्दा प्रधानमन्त्रीको शरीरमा मिर्गौलासम्बन्धी एन्टिबडी बढ्नुको अर्थ उनको शरीरले अरूको प्रत्यारोपण गरेको मिर्गौला रहेको कुरा चिन्न थालेको डा. काफ्ले बताउँछन् ।

सोमबार ६७ वर्ष पुगेका ओलीको शरीरमा एन्टिबडी टाइटर सामान्य वा सामान्य नजिक भए हालको शारीरिक समस्या तत्कालका लागि समाधान भएको मानिन्छ ।

यसअघि २०७१ वैशाखमा उनमा ढुसी संक्रमणले हुने मस्तिष्क ज्वरो ‘फंगल मेनेन्जाइटिस’ समेत देखिएको थियो । यो समस्या अंग प्रत्यारोपण गराउनेलाई बढी देखिने गरिन्छ ।

त्यसबेला उनको उपचारमा संलग्न चिकित्सकले कान्तिपुरलाई दिएको जानकारीअनुसार फंगल मेनेन्जाइटिसको गलत उपचारले गर्दा निम्तिएको थियो । उनले सेवन गर्ने इम्युनोसप्रसेन्ट औषधिको मात्रा नमिलेर भएको थियो । त्यतिखेर इम्युनोसप्रसेन्ट औषधिको मात्रा निकै बढी थियो भने मुटु रोगको औषधिसमेत सेवन गरेका थिए । संक्रमणले उनलाई समस्या देखिए पनि युरिक एसिड ठानेर त्यसको समेत औषधि दिइएको थियो । इम्युनोसप्रसेन्ट औषधिको उच्च मात्राले उनको मिर्गौला जोगिए पनि अन्य संक्रमण भएको थियो ।

गत वर्ष कात्तिक महिनामा समेत प्रधानमन्त्रीलाई सास फेर्न असजिलो भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहान ४ बजेर ३० मिनेटमा भर्ना गरिएको थियो । त्यतिबेला प्रधानमन्त्रीको छातीमा संक्रमण देखिएको र शरीरमा चिनीको मात्रा असन्तुलित देखिएकाले उपचार गरेर ५ दिनपछि डिस्चार्ज गरिएको थियो । गत वर्ष फागुनमा पनि स्वास्थ्यमा गडबडी देखिएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गरिएको थियो ।

गौतम र पौडेल भेट्न जाँदै
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णु पौडेल मंगलबार सिंगापुर जाने भएका छन् । ओली भदौ ५ देखि सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मृगौलाको उपचार गराइरहेका छन् । पार्टीको प्रतिनिधिका रूपमा गौतम र पौडेल प्रधानमन्त्री ओलीलाई भेट्न जान लागेका हुन् ।

प्रकाशित : भाद्र १७, २०७६ ०७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×