कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

निरक्षरता उन्मूलन हुन अझै दुई वर्ष

काठमाडौँ — सरकारले २०७६ साललाई ‘साक्षर नेपाल वर्ष’ तय गरे पनि निरक्षरता उन्मूलन हुन अझै दुई वर्ष लाग्ने देखिएको छ । भदौ २२ गते पर्ने अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ४०औं राष्ट्रिय शिक्षा दिवसका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्रालयले यस्तो जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको नारा ‘साक्षरता र बहुभाषिकता’ रहे पनि त्यसअनुसार काम हुन नसकेको सरोकारवालाले औंल्याएका छन् । ‘साक्षरता उन्मूलन गर्ने सरकारको लक्ष्य हो,’ पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले भने, ‘यस वर्ष ७० जिल्ला साक्षर भइसक्नेछन् । बाँकी जिल्लामा अझै दुई वर्ष लाग्छ ।’ हालसम्म ५१ जिल्ला साक्षर भएको घोषणा गरिएका छन् । १९ वटा जिल्ला चाँडै साक्षर भएको घोषणा गरिने जनाइएको छ ।


शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले साक्षर बन्ने र बनाउने क्रम निरन्तर रहने बताए । ‘साक्षरता कपाल खौरेजस्तै हो, बिहान खौरियो फेरि पलाइहाल्छ,’ उनले भने, ‘त्यसको मुहान थुन्ने अभियान सरकारका हो । आर्थिक वर्ष ०७७/७८ सबै जिल्ला साक्षर भएको घोषणा हुनेछ ।’


यो वर्ष साक्षरताका निम्ति २० करोड रुपैयाँ बजेट रहेको जनाइएको छ । उक्त बजेट ज्यादै न्यून भएको र त्यसलाई ७ सय ५३ वटै स्थानीय तहले बजेट थप गरे कार्यक्रम संचालन गर्नसक्ने जनाइएको छ । दिवसका अवसरमा मूल समारोह समिति गठन गरी शैक्षिक स्मारिका प्रकाशन, साक्षरता सम्बन्धी वृत्तचित्र निर्माण तथा प्रदर्शन, लोकदोहोरी, निबन्ध, कथा, कविता, जीवनीलेखन, वादविवाद, खेलकुद कार्यक्रम गरिने जनाइएको छ ।

प्रकाशित : भाद्र १६, २०७६ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?