२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

जग्गा फिर्ता गर्ने सहमति

विराटनगर — व्यक्तिका नाममा सारिएको मोरङ बेलबारी–२ को सहारा बालग्रामको जमिन नागरिक समाज र राजनीतिक दलको दबाबमा संस्थाकै नाममा फिर्ता गर्ने सहमति भएको छ ।

संस्थाका संस्थापक अध्यक्ष पूर्वसभासद हर्कमान तामाङ र हालका अध्यक्ष शिव बरालले संस्थाको १ बिघा ८ कट्ठा ३ धुर जमिन व्यवसायी डम्बरबहादुर तामाङको नाममा २०५६ मंसिर ११ मा नामसारी गरेको सार्वजनिक भएको थियो ।


संस्थाले लिएको रकम ६ महिनाभित्र फिर्ता गर्ने सर्तमा शुक्रबार डम्बरबहादुरबाट जमिन संस्थाकै नाममा फिर्ता गर्ने सहमति गरिएको बरालले बताए । उनले डम्बरबहादुरबाट आफूहरूले ६९ लाख ९४ हजार रुपैयाँ लिएर जमिन उनको नाममा नामसारी गरेको दाबी गरे ।


तर संस्थाले ३ करोड रुपैयाँ लिएर नतिरेपछि अदालतमार्फत संस्थाको जमिन आफ्नो नाममा नामसारी गराएको डम्बरबहादुरको दाबी छ । उनले पनि आफ्नो रकम ६ महिनामा फिर्ता गर्ने लिखित सहमतिपछि शुक्रबार संस्थाको जमिन फिर्ता गर्ने प्रक्रिया अघि बढाएको बताए ।


संस्थाको जग्गामध्ये ६ वटा कित्ताको १ बिघा ८ कट्ठा ३ धुर जमिन संस्थाले डम्बरबहादुरको नाममा नामसारी गरेको थियो । यो प्रकरणमा नेकपाका पुराना सक्रिय सदस्यहरू तामाङ र बरालको नाम जोडिएपछि पार्टीको बेलबारी नगर कमिटीले सोमबार सचिव रविन थापाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले पाँच दिनमा आफ्नो प्रतिवेदन बुझाउने र संस्थाको जमिन बिक्रीमा संलग्न पार्टीका जुनसुकै तहका नेता भए पनि कारबाही गर्ने नगर अध्यक्ष पर्शुराम सुवेदीले बताएका थिए ।


समितिले प्रतिवेदन बुझाउनु पहिल्यै उनीहरूले जमिन संस्थाको नाममा फिर्ता ल्याइएको दाबी गरेका छन् । तामाङ पूर्वसभासद र बराल तत्कालीन बेलबारी गाविसका दुई कार्यकाल अध्यक्ष हुन् । अमेरिकाको भर्जिनियाका ड्यानी अनी, एलिसा हाम्फ्रिन, डा. वाल्ट ज्यामी हर्बर र टेनिसीले अनाथ बालबालिकाको संरक्षणको काम गर्न सहारा स्थापना गरेर सञ्चालनको जिम्मेवारी तत्कालीन प्रतिनिधिसभा सदस्य हर्कमान तामाङलाई २०५६ भदौ ४ मा हस्तान्तरण गरेका थिए ।


यो पनि पढ्नुहोस्ः

सामाजिक संस्थाको सम्पत्ति व्यक्तिलाई

प्रकाशित : भाद्र १६, २०७६ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?