गैंडा गणना चैतमा

रासस

चितवन — यसवर्ष गैंडा गणना आगामी चैतमा हुने भएको छ । गत आर्थिक वर्षमा दाताको भर पर्दा गैंडा गणना गर्न सकिएको थिएन् । गैंडा गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बजेट विनियोजन गरेको छ ।

गैंडा गणना चैतमा

चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडा रहेका छन् । ती सबै निकुञ्जमा गैंडा गणना एकसाथ गरिने छ । विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलका अनुसार चैत १ गतेदेखि गणनाका लागि गृहकार्य सुरु भइसकेको छ । निकुञ्जहरुमा प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा कार्यदल गठन हुने क्रम सुरु भएको छ । “विभागमा पनि छुट्टै समिति गठन हुनेछ”, कँडेलले भने ।


गैंडा गणनाका लागि विभागले एक करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ । अपुग रकमका लागि दाताको भर पर्नुपर्ने विभागले जनाएको छ । सबै निकुञ्जमा गैंडा गणना गर्दा एक करोड ५० लाख रुपैयाँ हाराहारी खर्च हुने कँडेलले जानकारी दिए । गत वर्ष विभागले बजेट विनियोजन गरेको थिएन । सबै रकमका लागि दाताको भर पर्दा बजेट अभावले गणना हुन सकेको थिएन ।


कँडेलका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा गणना गर्न करिब एक महिना लाग्ने छ भने अन्य निकुञ्जमा संख्या अनुसार एक सातादेखि दश दिनसम्म लाग्ने अनुमान गरिएको छ । सबैभन्दा बढी गैंडा चितवनमा छ । सन् २०१५ को गणना अनुसार देशभर ६ सय ४५ गैंडा रहेका थिए । ६ सय ५ गैंडा चितवन निकुञ्जमा थिए । दुई वर्ष अघि आएको बाढीका कारण चितवनमा धेरै गैंडा बगाएको थियो । केही गैंडा मृत भेटिएका थिए । गैंडाको वास्तविक सङ्ख्या पत्ता लगाउन गत आर्थिक वर्षमा गणनाको तयारी गरिएको थियो ।


प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार कार्यदलको बैठकले सहायक संरक्षण अधिकृतको संयोजकत्वमा उपकार्यदल गठन गरी आवश्यक पर्ने सामग्री, बजेटलगायत विषयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । यसैगरी हात्तिसारका शाखा अधिकृतको संयोजकत्वमा प्रयोग गर्न सकिने हात्तिका विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्न अर्को समिति गठन गरिएको ढकालले जानकारी दिए ।


कार्यदलमा साझेदार संस्थासँगै सरोकारवाला निकायका प्रमुख सदस्य छन् भने उपकार्यदलमा तिनका प्रतिनिधि सदस्य छन् । गैंडा गणना हुने भएपछि निकुञ्जले घाँसे मैदान व्यवस्थापन, फायर लाइनलगायत नियमित कामको कार्यतालिका अहिले नै निर्माण गरी काम अघि बढाइने निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए ।

प्रकाशित : भाद्र १६, २०७६ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?