कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

१८ वर्षदेखि राहतको खोजीमा

प्रकाश बराल

बागलुङ — बारीमा काम गर्ने क्रममा गलकोट नगरपालिका–५ का भविलाल विकलाई नेपाली सेनाले पक्राउ गर्‍यो । श्रीमती प्रमिला रुदै कराउँछै थिइन् । उनको रोदन कसैले सुनेन । 

२०५८ कात्तिक २८ मा भविलाललाई विद्रोहीको रूपमा पक्राउ गरिंदा प्रमिलाको काखमा ३ छोरी थिए । ज्यालामजदुरी र खेतीपातीमा भुलेका विक दम्पतीलाई सेनाले माओवादीको आरोप लगाएको थियो । श्रीमान् पक्राउ परेपछि उनले दुःखकष्टले छोरी हुर्काइन् । श्रीमान्को खोजी गरिरहिन् । तर उनको श्रीमान्लाई सेना र प्रहरीले कता लग्यो थाहा भएन । एक वर्षपछि जिल्ला प्रहरी कार्यालय बागलुङले सदरमुकाम बोलायो र श्रीमान्को शव थमाइदियो ।


विक किन र कसरी राज्यको नियन्त्रणमा मारिए भन्ने अहिलेसम्म उत्तर छैन । उनले काजकिरियाका लागि खर्च पनि पाइनन् । श्रीमान् किन पक्राउ परेको, किन मारिएको जान्नसमेत पाइनन् । त्यतिमात्र हैन उनको श्रीमान् मरेको वर्षौंसम्म न्यायका लागि हिँड्न उनकै समाज र घरपरिवार बाधक बन्यो । समाजले विद्रोही माओवादी भन्दै साथ दिएन । घरमा काखका ३ छोरी हुर्काउन उनलाई दैनिक मजदुरी गर्नुपर्‍यो । ताराखोला माइत भएकी प्रमिलाका बाबुआमा पनि सानैमा मरिसकेका थिए ।


दुःख बिसाउन जाने माइतीसमेत नभएकोले घरमै बसेको उनले बताइन् । लामो समयसम्म सदरमुकाम आउने जाने गरे पनि उनको उजुरी कतै दर्ता भएन । घटनाको १४ वर्षपछि २०७२ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले उनको लागि राहत खोजिदिने निर्णय गर्‍यो ।


२०७२ वैशाख ६ को बैठकको निर्णय नम्बर ३ मा शान्ति मन्त्रालयमा उनको उजुरी पठाउने भन्ने छ । त्यसपछि सोही निर्णयसहित प्रमिला स्थानीय राजनीतिक नेतृत्वको सहयोगमा सत्यनिरुपण तथा मेलमिलाप आयोग पुगिन् । उनको उजुरी दर्ता भयो ।


प्रमिला अहिले पनि ज्यालामजदुरी गर्दैछिन् । सदरमुकामको उपल्लाचौरमा जग्गा भाडामा लिएर तरकारी खेती गर्छिन् । छोरीलाई पढाउने काममा अझै उनले लगानी गरेकी छन् । तर उनले श्रीमान् किन पक्राउ परेका थिए, किन मारिए, कुनै घटनामा मारिएका हुन् वा हिरासतमा मारियो भन्ने बुझ्न नपाएको गुनासो गर्छिन् ।


‘अहिलेसम्म किन मारिएको हो भन्ने मलाई थाहा छैन,’ दुई छोरीलाई कक्षा ८ देखि पढाउन सकिनँ,’ उनले रुँदै भनिन्, ‘कान्छीलाई कक्षा १० मा पढाएको छु ।’ द्वन्द्वपीडितका छोराछोरीले छात्रवृत्ति पाए पनि उनले छोराछोरीलाई मजदुरी गरेर ल्याएको पैसाले पढाएको बताइन् ।


दसवर्षे माओवादी युद्धमा बेपत्ता पारिएका र मारिएका परिवारका सदस्यले प्रारम्भिक राहत ३ लाख रुपैयाँदेखि ५ लाखसम्म पाएका छन् ।

प्रकाशित : भाद्र १६, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?