कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वन मुद्दाको डरले गाउँ सुनसान, डेढ महिनासम्म पनि घर फर्केनन्

नारायण शर्मा

नवलपरासी — पूर्वपश्चिम राजमार्गको दुम्किबासबाट ३१ किलोमिटर उत्तर । बाटाका घरैपिच्छे तीजको रमझम छ । टोलभरि नाचगान चलेको छ । नाचगानमा सहभागी सबै फुरुंग छन् । राता पहिरनमा सजिएका चेली आउजाउ बाक्लो छ । 

वन मुद्दाको डरले गाउँ सुनसान, डेढ महिनासम्म पनि घर फर्केनन्

होंग्सी सिमेन्ट कारखाना रहेको सर्दीबजार चाडबाडको रौनकले धपक्कै बल्दा ८ किलोमिटर उत्तरको खकरा गाउँ भने सुनसान छ । सबैजसो घरका दैलोमा ताला झुन्डिएका छन् । सुनसान गाउँ हेर्दा सबै गाउँले कतै मेलापातमा गए वा कुनै ठूलै घटना भएर कतै हिँडेको जस्तो लाग्छ । गोठमा चौपाया कराइरहेका छन् । तिनलाई घाँसपराल हाल्ने कोही देखिँदैनन् ।


डेढ महिनाअघि खकरा गाउँ जाने कच्ची सडकका दुवै किनारका ८३ वटा सालका रूख काटिएका थिए । पुराना र अग्ला थुप्रै रूख रातारात कटान भएको ३६ दिनपछि सदरमुकामस्थित डिभिजन वन कार्यालयले थाहा पायो । डिभिजनको टोली निरीक्षणमा पुग्दा गाउँमा कोही भेटिएनन् । त्यसै दिनदेखि घर छाडेका गाउँले दिउँसो बस्तीमा टेक्दैनन् ।


वन फँडानी गर्नेलाई कडा सजाय हुने मुद्दा लाग्ने र जेल जानुपर्ने हल्ला गाउँभरि फैलिएको थियो । स्थानीय टाठाबाठाले जो गाउँमा बस्छ उसैलाई वन मुद्दा लगाइन्छ भन्ने हल्ला चलाए । कटान भएको भोलिपल्टबाट गाउँले सबै घर छाडेर भाग्न थाले । गाउँमा ३ घर दलित र अरू घरधुरी मगरको बसोबास थियो । गाउँको जनउज्ज्वल आधारभूत विद्यालयबाट सय मिटर माथिको एउटा घरमा एक्लै बस्दै आएकी जमुना आले चौपाया स्याहार्न घरमै थिइन् ।


संवाददाता आइतबार गाउँमा पुग्दा अपरिचित देख्नासाथ उनी अत्तालिइन् । ‘खै केही थाहा छैन । गाउँमा कोही छैन । म एक्ली भएकाले घरै छु । लोग्ने भारतमा मजदुरी गर्न जानु भाछ,’ उनले भनिन्, ‘छोराछोरी बुटवल पढ्छन् । केही थाहा छैन । म त रूख काट्न पनि गइनँ । माइत गएकी थिएँ ।’ माइतमा चार दिन बसेर फर्कंदा बाटाभरि रूख ढलेको देखेको उनले बताइन् । ‘रूख काट्न नजानेलाई दिनको ५ सय जरिवाना लिने भनेको सुनेकी थिएँ,’ उनले भनिन्, ‘जरिवाना लिन पनि कोही आएका छैनन् ।’ गाउँले बिहानै निस्कने र राति सुत्नमात्र बस्तीमा आउने उनले बताइन् ।


‘कता जान्छन् जान्छन्, राति अबेर फर्किन्छन्,’ उनले भनिन् । कसले के प्रयोजनका लागि रूख काटेका हुन् भन्ने थाहा नभएको उनले बताइन् । त्रासले गाउँमा बस्न नसकेर सोझा स्थानीय भागे पनि जनप्रतिनिधि, दलका अगुवा, प्रहरी र प्रशासन बेखबर जस्तै छ । त्यत्रो सिंगो गाउँमा भागाभाग हुँदासमेत निमुखा गाउँलेलाई घर फर्काउन कसैलाई चासो छैन । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्कीले कुरा बुझेर प्रहरी खटाउने जानकारी टेलिफोनमा दिए । उनले भने, ‘वन अधिकृतले अनुसन्धान गरिरहेको छु भनेकाले छानबिन भइरहेको होला भन्दै छु । अब प्रहरी खटाउने हो ।’


रूख काटिएपछि डिभिजन वन कार्यालय पूर्वी नवलपरासीले अनुसन्धानका लागि दुम्किबास सबडिभिजन वन कार्यालयका प्रमुख कुलचन्द्र दवाडीको नेतृत्वमा टोली खटाएको छ । ‘तालदेवी सामुदायिक वन रहेको खकरामा तीनपटक पुगेँ । रेन्जरहरूको टोलीलाई दुईपटक पठाएँ,’ दवाडीले भने, ‘गाउँका सबै घरमा तालाबन्दी छ । मान्छे नै भेटिन्नन् । अनुसन्धान गर्नै समस्या भयो ।


स्थानीय नभेटिएपछि सोधखोज गर्न पाइएन ।’ रूख कटानमा बाहिरको मान्छे गएको पत्ता नलागेको उनले बताए । त्यहाँ करिब ३१ सय क्युफिट काठ काटिएको अनुमान छ । प्रचलित मूल्यअनुसार करिब २५ लाख रुपैयाँ तिर्नुपर्ने र त्यसको डबल बिगोमा परिने र जेल सजायसमेत हुने हल्ला चलाइएपछि त्रासले सोझा गाउँले भागाभाग गरेका हुन् ।


हरिया रूख कटानमा तालदेवी सामुदायिक वन समूहका अध्यक्ष दीपक जीसी, सचिव जयबहादुर बाह्रघरे र वडाध्यक्ष अध्यक्ष रनबहादुर झेडीमगर र डिभिजन वन कार्यालयकै उच्च कर्मचारीको संलग्नता रहेको स्थानीयको आरोप छ । डिभिजन वनकै कर्मचारी र सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा रूख कटान भएको र आर्थिक लेनदेनको काम ढिलो हुँदा कुरा बाहिर आएको समूहका पूर्वअध्यक्ष चक्रपाणी तिमिल्सिना बताउँछन् । तालदेवी सामुदायिक वन विनयीत्रिवेणी गाउँपालिका–५ मा पर्छ ।


गाउँपालिका अध्यक्ष डम्बर जीसीले गाउँले डराएर भागेको बताए । ‘साथीहरू पुग्नु भाछ, निमुखा गाउँलेलाई केही हुँदैन भनेकै छौं,’ उनले भने । डिभिजन वन कार्यलयका प्रमुख पूर्णेश्वर सुवेदीले रूख फँडानीका बारेमा अनुसन्धान भइरहेकाले प्रतिवेदन आउने बेलासम्म पर्खनुपर्ने बताए ।

प्रकाशित : भाद्र १६, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?