१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कांग्रेसमा हिन्दु राष्ट्रको बहस चर्कंदै

खुमबहादुर खड्काको निधनसँगै सुषुप्त बनेको हिन्दु राज्य स्थापनाको अभियानमा पछिल्लो समय महामन्त्री शशांक कोइराला जोडिए । अहिले बालकृष्ण खाँण, शेखर कोइराला, एनपी साउदलगायतले यो माग उठाएका छन् ।
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसमा महाधिवेशनको चर्चा सुरु भएसँगै ‘हिन्दु राष्ट्र’ को बहस चर्कन थालेको छ । सार्वजनिक अभिव्यक्तिमार्फत महामन्त्री शशांक कोइरालाले बेलाबखत हिन्दु राष्ट्रको मुद्दा उठाउँदै आएका थिए । पार्टी बैठक र औपचारिक फोरममा छलफल भएको थिएन । पछिल्लो समय यो मुद्दालाई लिएर पक्ष/विपक्षमा बहस चर्कन थालेको हो । 

कांग्रेसमा हिन्दु राष्ट्रको बहस चर्कंदै

प्रारम्भमा तत्कालीन केन्द्रीय सदस्य खुमबहादुर खडका र उनको समूहले हिन्दु राज्य स्थापनाको अभियान चलाएका थिए । उनको निधनपछि सुषुप्तजस्तै बनेको यो अभियानमा कांग्रेस महामन्त्री कोइराला जोडिए । त्यसपछि हिन्दु राष्ट्रको पक्षमा पार्टीभित्रै माहोल बढदै जान थालेको हो ।

जारी केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा सदस्यहरू बालकृष्ण खाँण, शेखर कोइराला र एनपी साउदले हिन्दु राष्ट्रबारे दृष्टिकोण राखेका थिए । केन्द्रीय सदस्य कोइरालाले आगामी महाधिवेशनसम्म हिन्दु राष्ट्रको पक्षमा दुई तिहाइ पुग्न सक्ने भन्दै नेतृत्वलाई अहिल्यैदेखि गम्भीरतापूर्वक सोच्न सचेत गराए । केन्द्रीय कार्यसमितिमा अल्पमतमा रहे पनि कांग्रेसका तल्ला तहका अधिकांश नेता–कार्यकर्तामा हिन्दु राष्ट्रको मुद्दा बलियो बन्दै गएको छ ।

गत पुसमा सम्पन्न महासमिति बैठकमा धर्मनिरपेक्षताबारे पार्टीको दृष्टिकोण बदल्न माग राख्दै ५० प्रतिशत सदस्यले हस्ताक्षर गरेका थिए । महासमिति बैठक पार्टीको महाधिवेशनपछिको दोस्रो ठूलो शक्तिशाली फोरम हो । १४ सय सदस्यमा ७ सयभन्दा बढीले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेका थिए । त्यसपछि नेतृत्व तहमा रहेका नेतालाई समेत यो मुद्दाले तरंगित बनाउने गरेको छ ।

हिन्दु राष्ट्र कायम गर्नुपर्छ भन्ने पक्षधर नेताहरूले यो मुद्दा नेपालीको चाहना नभएर पश्चिमाहरूले जबर्जस्ती लादेको विषय ठान्ने गरेका छन् । उनीहरूले हिन्दु राष्ट्रको मुद्दामा जनमत संग्रह वा संविधान संशोधनमार्फत निर्णय लिनुपर्नेमा जोड दिँदै आएका छन् । कांग्रेसको झन्डामा रहेका चार तारामध्ये एउटा ताराको अर्थ धार्मिक स्वतन्त्रता हो ।

यसैलाई अर्थ्याउँदै उनीहरूले नेतृत्वलाई पार्टीको दृष्टिकोण बदल्न जोड दिँदै आएका छन् । पार्टीले संविधानबाट धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रताको दृष्टिकोण लिनुपर्ने उनीहरूको जोड छ । यो लाइनको नेतृत्व महामन्त्री कोइरालाले गर्दै आएका छन् । यद्यपि उनले अहिलेसम्म औपचारिक फोरम र बैठकमा प्रस्ताव राख्न सकेका छैनन् । संविधानबाट धर्मनिरपेक्षता हटाउनका लागि जनमत संग्रह गर्नुपर्ने दृष्टिकोण भने उनले बारम्बार सार्वजनिक अभिव्यक्तिमार्फत व्यक्त गर्दै आएका छन् ।

केही दिनअघि सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवाको जंगलमा झन्डै तीन दर्जन गाई मारिएको घटनालाई समेत हिन्दु सेन्टिमेन्टसँग जोडेर हेर्न थालिएको छ । कांग्रेस नेताहरूले यो घटनालाई आफूहरूले उठाउँदै आएको मुद्दाको सार्थकतासँग जोड्न थालेका छन् ।

केन्द्रीय कार्यसमितिका बहुमत सदस्य अझै पनि धर्मनिरपेक्षताको विरोधमा छैनन् । कांग्रेसकै नेतृत्वमा संविधान जारी भएकाले गणतन्त्र, संघीयता, समावेशीता र धर्मनिरपेक्षतालगायत संविधानका मूलभूत उपलब्धिको विरोध गर्न नहुने उनीहरूको तर्क छ । यस्तो तर्क गर्नेहरूले एउटा विषयमा मात्रै जनमत संग्रह गर्दा अर्को विषय पनि सडकमा आउने र अन्ततः मुलुक फेरि राजनीतिक अस्थिरताको भुमरीमा फस्ने भन्दै सजगता अपनाउनुपर्ने धारणा उनीहरूको छ । तल्लो पंक्तिका नेता तथा कार्यकर्ता यस्तो तर्क मान्न तयार देखिन्नन् ।

पार्टी नेतृत्वप्रति आकर्षण नभइरहेका बेला हिन्दु धर्मको एजेन्डाले जनमत तान्न सकिने तर्कसमेत उनीहरूको छ । चुनाव हारेर पार्टी खुम्चिँदासमेत नेतृत्वले सबक सिकेको छैन । नयाँ कार्यक्रम र विचारका साथ संगठन निर्माणमा नेतृत्व जुटेको छैन । पार्टी संगठन भताभुंग अवस्थामा छन् । यस्तै गतिले दुई तिहाइको समर्थनमा सरकारको नेतृत्व गरेको नेकपासँग आगामी चुनावमा प्रतिस्पर्धा गर्न नसकिने सोच खासगरी तल्ला तहका अधिकांश नेतामा देखिन्छ ।

संगठित र बलियो बनेको नेकपासँग प्रतिस्पर्धाका लागि पनि यो एजेन्डामा कांग्रेसले नेतृत्व गर्नुपर्ने पक्षमा केन्द्रीयस्तरकै कतिपय नेता लागेका छन् । ‘हामी भारतीय कंग्रेसकै बाटो रोज्ने कि आगामी चुनावमा रिभाइब भएर राष्ट्रिय राजनीतिको केन्द्रमा आउने ? ’ एक केन्द्रीय सदस्यले कान्तिपुरसँग भने, ‘हामीसँग अरू कुनै कार्ड छैन । पार्टीलाई साँच्चै एक नम्बरको बनाउने हो भने सबै जातजातिलाई विश्वासमा लिएर हिन्दु राष्ट्रको मुद्दा स्थापित गर्ने एजेन्डा अघि सार्नुपर्छ ।’

तत्कालीन संविधान मस्यौदा समितिको नेतृत्व गरेका नेता कृष्णप्रसाद सिटौलाले पार्टीका नेता तथा कार्यकर्ताको रणनीतिक योजनाअन्तर्गत भन्दा पनि राज्यकै कमजोरीका कारण हिन्दु धर्मबारे पार्टीभित्र र बाहिर सडकमा बहस उठन थालेको बताउँछन् । सामूहिक गाई मारिएको घटनाप्रति लक्षित गर्दै सिटौलाले सनातनदेखि चल्दै आएको धर्म र संस्कृतिको संरक्षणमा राज्य नलागेको बताए ।

‘संविधानले सनातनदेखि चल्दै आएको धर्म र संस्कृतिको संरक्षण गर्नुपर्ने उल्लेख गरेको छ तर मुलुकको कार्यकारी प्रधानमन्त्री क्रिश्चियन धर्म प्रचार गर्ने एनजीओको कार्यक्रम सफल बनाउन सोल्टी होटलमै तीन दिन बस्छन्,’ उनले भने, ‘यस्तै गतिविधिले गर्दा अहिले हिन्दु राष्ट्रबारे बहस सुरु भएको हो ।’ सरकार आफैं यही मुद्दालाई चर्को रूपमा उठाउने बाटो खोज्दै त छैन भन्ने संशय भएको सिटौलाले बताए ।

पार्टीभित्र बढदै गएको धार्मिक एजेन्डाको विषयलाई कांग्रेसनिकट चिन्तकहरू दुईवटा पाटोबाट हेर्ने गर्छन् । उनीहरूका अनुसार आन्तरिक परिस्थिति र बाहय प्रभावले यो बहसलाई चर्काउँदै लगेको छ । ‘पछिल्लो समय क्रिश्चियनहरूको गतिविधि बढेको छ, धर्म परिवर्तनसम्मका गतविधि बढदै जान थालेका छन्, अर्कोतर्फ भारतको प्रभाव र दबाब नेपालका नेतामार्फत प्रकट भइरहेका छन्,’ प्राध्यापक डा. नारायणसिंह खत्रीले भने, ‘यसले हिन्दुहरूलाई तरंगित बनाइरहेका बेला कांग्रेसलाई पार्टीको अस्तित्व जोगाउने सवाल पनि जोडिन आइपुगेको छ ।’

गत पुसमा युनिभर्सल पिस फेडेरेसन नामक संस्थाको आयोजनामा राजधानीमा एसिया प्यासिफिक सम्मेलन भएको थियो । सवारी साधनसमेत बन्द गरेर आयोजना गरिएको सम्मेलन सफल बनाउन प्रधानमन्त्री ओली तीन दिनसम्म होटल सोल्टीमा बसेका थिए । प्रधानमन्त्रीले सोही सम्मेलनमा कोरियाको एक निजी तथा क्रिश्चियन विश्वविद्यालयबाट प्राप्त विद्यावारिधि लिएका थिए । उक्त सम्मेलनदेखि हिन्दु ‘सेन्टिमेन्ट’ चल्मलाएको खत्रीको भनाइ छ ।

उनका अनुसार नेपालमा हिन्दु राष्ट्र कायम गर्ने मुद्दा भारतको चाहनासँग समेत जोडिएको छ । भारतको संस्थापन पक्षले यो मुद्दा नछाडेको संकेत गर्दै केही समयअघि उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए । संविधान निर्माणका बखत भारतीय पक्षले हिन्दु राष्ट्रको मुद्दा राख्न प्रमुख राजनीतिक दलका नेतामार्फत दबाब दिएको सार्वजनिक रूपमै प्रकट भएको थियो ।

‘भारतको चाहना एकातिर छँदै छ, अर्कोतर्फ कांग्रेस एजेन्डाविहीनजस्तो देखिएको छ । सरकारका तमाम कमजोरीलाई उठाएर जनताको मन जित्न सकिरहेको छैन । कतिपय काण्डमा पार्टीकै नेताको नाम जोडिएपछि नैतिक संकटसमेत देखिन थाल्यो । धर्मको विषय लिइयो भने सडक र सदन तताउन सकिन्छ कि भन्ने सोच पनि कतिपय नेतालाई परेको हुन सक्छ’, उनले भने, ‘पार्टीको आउॅदो महाधिवेशनभन्दा आवधिक निर्वाचनलाई हेरेर यस्तो बहस चल्ने गरेको म देख्छु ।’ अहिले केन्द्रीय समितिमा उठेको बहस योजनाबद्ध नभएर छटपटाहटका रूपमा प्रकट भएको उनको निचोड छ ।

अन्तरिम संविधान मस्यौदा समितिका सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता हरिहर दाहाल योजनाबद्ध र सुझबुझका साथ कांग्रेसले धर्मको एजेन्डा उठाएमा प्रत्युत्पादक हुने बताउँछन् । ‘धर्मको विषय उठाउँदा राजतन्त्रको विषयमा कांग्रेस प्रस्ट हुनुपर्छ’, दाहालले भने, ‘कतिपयलाई लागेको छ, हिन्दु राष्ट्र कायम भयो भने राजतन्त्र पुनःस्थापना हुनेछ, सत्य यो होइन । राजतन्त्र र हिन्दु राष्ट्र सँगै अघि बढ्न सक्दैन । जनताले पनि मान्दैनन् । कांग्रेसले हिन्दुत्वको बहस गरिरहँदा राजतन्त्र पुनःस्थापनाबारेमा पनि दृष्टिकोण प्रस्ट हुनैपर्छ, नत्र कांग्रेसलाई राजतन्त्र पुनःस्थापना गर्ने एजेन्डा बोकेको आरोप लाग्न सक्छ ।’

यो मुद्दाले पार्टीभित्रका अल्पसंख्यक मुस्लिम र जनजाति भडकिन सक्ने भयले नेतृत्व तहले मुख खोल्न सकेका छैनन् । केन्द्रीय कार्यसमिति बैठकमा सदस्य फरमुल्लाह मन्सुरले हिन्दु धर्मको मुद्दालाई उठाएको भन्दै नेताद्वय कोइराला (शशांक र शेखर) प्रति आक्रामक बनेका थिए । जिन्दगीभर व्यवसाय गरेर बाबु–आमाको विरासतबाट राजनीतिमा आएकाहरूले यस्तो मुद्दा उठाउन नहुने भन्दै उनी आक्रामक ढंगबाट प्रस्तुत भएका थिए ।

केन्द्रीय कार्यसमितिमा गैरहिन्दुको प्रतिनिधित्व गर्ने नेताहरू पार्टीभित्र उठिरहेको यस्तो बहसप्रति चिन्तित छन् । ‘सबै जातजाति र समुदायलाई सन्तुलनमा राख्न सक्यो भने त हिन्दु मुद्दाले फाइदा पुर्‍याउला, सकेन भने प्रत्युत्पादक बन्न सक्छ’, उनले भने, ‘संविधानकै नेतृत्व गर्ने दलले विशेष होसियारी अपनाउन आवश्यक छ ।’

प्रकाशित : भाद्र १६, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?