३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गरगहना चाहिन्न बरिलै...

अमृता अनमोल

बुटवल — यसपालि रूपन्देहीका तीज मिलन कार्यक्रम गरगहनारहित छन् । तीजको रमझमका बेला गरगहना र महँगा पहिरनमा कमै महिला देखिए । घाँटीमा सादा पोते वा पत्थरका माला सजिए । कान र हातमा पनि सुनचाँदी देखिएन । सिसा वा पत्थरकै चुरा देखिए । अगुवाले थालेको अभियानमा सर्वसाधारणले साथ दिए । 

गरगहना चाहिन्न बरिलै...

तिलोत्तमा नगरपालिकाकी अगुवा देवी वाग्लेले गरगहनारहित तीजको सुरुवात गरेकी हुन् । साउने संक्रान्तिलगत्तै उनले फेसबुकमा

स्ट्याटस राखिन्, ‘यसपालि तीजलाई गरगहना र महँगा साडीरहित बनाऔं । तपाईंले साथ दिनुहुन्छ ?’ उनको स्ट्याटसमा एक हजारभन्दा बढी महिलाले समर्थन जनाएका थिए ।


त्यसयता संघसंस्थाले तीज मिलन र दर कार्यक्रम गरगहनारहित बनाएका हुन् । ‘तीज सबै वर्गका महिलाका लागि खाने, खुवाउने, रम्ने, रमाउने, खुसी हुने र अधिकार लिने पर्व हो,’ देवीले भनिन्, ‘गरगहनाको बढ्दो प्रयोगले विपन्नलाई अप्ठेरो नपरोस् भनेर गरगहनारहित अभियान थाल्ने योजना बनेको हो ।’ यहाँ आयोजित तीज मिलन कार्यक्रमा आएका सहभागी कसैले गरगहना लगाएनन् ।


सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष निरु गौतमले भनिन्, ‘गहनाकै कारण आलोचित हुनुहुन्न भनेर अभियान थालेका हौं ।’ यहाँ १ सय २५ महिलाले सञ्चालन गरेको रेडियो मुक्ति छ ।


यसअघि हरेक वर्ष प्रतियोगिता गरेर तीज मनाउने गर्थ्यो । यसपालि गरगहनारहित तीज बनाउने अभियान सफल पार्न भन्दै तीज मिलन तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्‍यो । मन्त्री, सांसद, जनप्रतिनिधि, अगुवा महिला, सामाजिक अभियन्ता र सर्वसाधारण भेला गर्‍यो । त्यसमा परम्परादेखि महिला सशक्तीकरण र चेतना प्रवाहका लागि तीजले खेलेको भूमिकाबारे चर्चा भयो ।


रेडियो जागरणले एक साताअघि आयोजना गरेको कार्यक्रम तथा प्रतियोगितामा गरगहनारहित तीज हुनुपर्नेमा सहभागीले जोड दिए । ‘महिला सशक्तीकरणको उच्च विन्दुमा पुगेपछि महँगा गरगहना र भडकिला लुगा लगाउन आफैं छोड्ने छन्,’ तीज विशेष कार्यक्रमकी संयोजक रिमा बीसीले भनिन्, ‘त्यस बेलासम्मका लागि तीजलाई साधारण, मौलिक र सबैले मनाउन सक्ने बनाउन गरगहना त्यागौं, तीज मनाऔं अभियान चलाएका हौं ।’


राजनीतिमा क्रियाशील महिलाले पहिल्यैदेखि तीजलाई गरगहनारहित मनाए पनि साधारण महिलालाई त्यसमा सहभागी गराउन नसकिएको अधिकारकर्मी सावित्रा अर्यालले बताइन् ।

प्रकाशित : भाद्र १६, २०७६ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?