कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

ब्याजको दुष्चक्र : कसरी परे गायक ढकाल ऋणको जालोमा ?

कृष्ण ज्ञवाली

काठमाडौँ — गायक रामकृष्ण ढकाललाई ‘लालीगुराँस’ शब्ददेखि विरक्त लागेर आउँछ । लालीगुराँस शब्द जोडिएको गीत गाउन ‘अफर’ आउँदा रुचि जाग्दैन, अरूलाई नै सिफारिस गर्छन् । यसको कारण हो, श्री लालीगुराँस नामधारी सहकारी संस्थाबाट ऋण लिएपछि पाएको हैरानी । ऋणका कारण उनको घरजग्गा मात्र लिलाम भएको छैन, सहकारीले आफ्नो बदनाम गर्न खोजेको उनको बुझाइ छ ।

ब्याजको दुष्चक्र : कसरी परे गायक ढकाल ऋणको जालोमा ?

पछिल्लो समय रामकृष्ण र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबीच आरोप प्रत्यारोप चलिरहेको छ । यो विवादको चुरो सुरु हुन्छ, एक दशकअघि ।


गायक रामकृष्ण ढकाल लाजिम्पाटस्थित र्‍याडिसन होटल पछाडिपट्टि बस्थे । उनलाई बंगलो खालको घर लिने रहर भयो । अनि ललितपुरको हात्तीगौंडास्थित कोलोनीमा सरे । एक त अलि टाढा, त्यसमाथि अलि ठूलो घर । डेढ/दुई वर्षमै उनको रहर पुग्यो ।


कोलोनीको घर भाडामा दिएर हामी कतै भाडामा बस्ने परिवारमा सल्लाह भयो । घरबाट महिनाको करिब ५०/६० हजार रुपैयाँ भाडा आउने अनुमान थियो । कतै फ्ल्याट लिएर बस्दा आधा रकम पर्याप्त हुने अनि करिब आधा रकम जोगिने उनको हिसाब थियो । रामकृष्ण घरको रेखदेखका लागि त्यहाँ नजिकै बस्न चाहन्थे । तर आफन्त र नातेदार नजिक हुने भएकाले भैंसेपाटीतिर फ्ल्याट खोज्न थाले ।


ललितपुर पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका एक जना सञ्चालकसँग रामकृष्णको चिनजान थियो । सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले उनलाई ‘ज्वाइँ साप’ भनी नाता लगाउने गर्थे । सुरेन्द्रले उनको निवासमा आएर ‘भैंसेपाटीमा घर छ, यो हाम्रो हो’ भनेर भाडामा बस्न अफर गरे । रामकृष्णको परिवार करिब ६ महिना त्यही घरमा भाडामा बस्यो ।


एक दिन सुरेन्द्र घर मिलाइदिने प्रस्ताव लिएर रामकृष्णकहाँ पुगे । उनी रेकर्डिङका लागि बारम्बार मुम्बई जाने आउने गरिरहेका थिए । श्रीमती नीलमले गएर घर हेरिन् । उनलाई ठीकै लागेछ । लालीगुराँसकै भण्डारीले लोन मिलाइदिने भए । ९ आनामा बनेको साढे दुई तले घर लालीगुराँसको १ करोड ८० लाख रुपैयाँ लोनसहित २०६६ फागुन ४ गते नीलमका नाममा पास भयो ।


गायक ढकालले कान्तिपुरलाई सुनाए, ‘मसँग करिब २५/३० लाख रुपैयाँ थियो । हामी मिलाइदिन्छौं भनेर उहाँ (भण्डारी) ले भन्नुभयो । मैले १ करोड ८० लाख रुपैयाँ त्यहाँबाट लिएँ । घरको मूल्य करिब २ करोड २५ लाख रुपैयाँ थियो । पास, मर्मत सम्भारमा अलिअलि खर्च भयो ।’


घर लिएपछि रामकृष्णले ऋण तिर्न थाले । करिब १७ प्रतिशत ब्याज र अन्य खर्च गर्दा मासिक करिब ३ लाख रुपैयाँ बुझाउनुपर्ने भयो । रामकृष्णलाई ऋण तिर्न हम्मे पर्न थाल्यो । ऋण र त्यसको ब्याज नतिर्दासम्म घरजग्गा फुकुवा हुँदैनथ्यो । जिल्ला अदालतको अभिलेखमा २०६८ वैशाख २९ गतेसम्म उनले ३० लाख २४ हजार बुझाएको देखिन्छ । रामकृष्ण भन्छन्, ‘दुई वर्षमा मैले ब्याजसमेत गरेर करिब ४८ लाख रुपैयाँ तिरेको छु ।’


उनले कुनै ग्राहक खोजेर घरजग्गा बेच्ने र सहकारीमा तिर्ने अनि बाँकी ऋण बैंकमा सार्ने योजना बनाए । सहकारीको १७ प्रतिशतको तुलनामा बैंकको ब्याज सस्तो हुन्थ्यो । उनकै भनाइमा जरिवाना अनि ब्याजको स्याज तिर्दा ३६ प्रतिशत हुन लागेको थियो ।


रामकृष्णका अनुसार यसबीचमा सहकारीका सञ्चालक र कार्यकारी निर्देशक भण्डारीको व्यवहार फरक हुन थाल्यो । भण्डारीले पछि फोन नउठाउने, भेट्न नखोज्ने गर्न थाले । गायक रामकृष्णले भने आफू अप्ठेरोमा परेको भन्दै समाधानका लागि हारगुहार गरिरहे । ‘यो बेचेर तपाईंहरूको ऋण तिर्छु, मलाई अवसर दिनुहोस् भन्न थालें,’ उनले सुनाए, ‘उहाँले सीसीटीभीबाट हेरेर मलाई देख्नेबित्तिकै वास्तै नगर्ने अनि काउन्टरमा जानु भन्न थाल्नुभयो । एकदमै हीनताबोध भयो ।’


रामकृष्णका अनुसार त्यसपछि एक समय त उनको दिनचर्या बिहान उठ्यो कि घर किन्ने ग्राहक खोज्ने हुन थाल्यो । बाटो अलि अप्ठेरो भएकाले घर बिक्न गाह्रो भइरहेको थियो । घरजग्गाको कारोबारमा पनि मन्दी आएको थियो । यसबीचमा उनले १ करोड ८० लाख रुपैयाँमा घर किन्ने मान्छे भेटे । १० लाख नगद र २५ लाखको चेकसहित उनी पुल्चोकस्थित सहकारीको कार्यालयमा हान्निए । उनले ४८ लाख रुपैयाँ तिर्दा पनि कुल ऋण २ करोड २५ लाख रुपैयाँ हाराहारी पुगिसकेको थियो ।


उनले ‘केही ब्याज मिनाहा गरेर दुई करोड रुपैयाँ जतिमा सेटल गरिदिनुहोस्’ भनेर आग्रह गरे । ‘तर सहयोग पाइएन,’ उनले भने । यसपछि थप कुरा बिग्रिँदै गयो । सहकारीका सञ्चालकहरू आफैं घर जाने, कर्मचारी पठाएर दुःख दिने, अनेक कुरा सुनाएर ढकाल परिवारलाई मानसिक दबाब दिन थाल्यो ।


रामकृष्ण विभिन्न सांगीतिक कार्यक्रमका दौरान बाहिर गइरहनुपर्थ्यो । एक दिन उनीहरूले रामकृष्णलाई ‘हिसाब मिलाउन आउनुपर्‍यो’ भनी फोन गरे । उनी सहकारीको कार्यालयमा पुग्दा सञ्चालकहरूको निर्देशनमा कर्मचारीहरूले एउटा कागज तयार पारेका थिए । धितो रहेको सम्पत्ति रामकृष्णकी पत्नी नीलमका नाममा भएकाले रामकृष्णको कुनै ऋण थिएन । उनलाई भनियो, ‘अब यहाँ राष्ट्र बैंकको अनुगमन आउँछ । त्यसैले ऋणको केही रकम सेटल गरिदिनुपर्छ । तपाईंले यहाँ हस्ताक्षर गरे पुग्छ ।’ २०६९ वैशाख २७ गते तीन महिनामा कर्जा तिर्ने गरी रामकृष्णले ५६ लाख ९७ हजार रुपैयाँ ऋण लिएको जिल्ला अदालतको मिसिलमा उल्लेख छ ।


त्यति बेला ऋणमा ब्याज खप्टिएर करिब २ करोड ३७ लाख पुगिसकेको थियो । सहकारीका सञ्चालकहरूले १ करोड ८० लाख ऋणबाहेक चानचुन ५७ लाख रुपैयाँ ब्याज बाँकी भएकाले गायक रामकृष्णलाई नै त्यही सहकारीबाट लोन निकाल्न लगाएर पत्नीको नामको ऋणबाट तिर्नुपर्ने ब्याज तिराए । कर्मचारीहरूले नयाँ ऋण रामकृष्णका नाममा रहने बताए ।


‘मैले सोचें, यो मेरा लागि अनुकूल होला । श्रीमतीको नाममा रहेको कुल ऋणमध्ये १ करोड ८० लाख पुरानो ऋण उसको नाममा राखेर बाँकी मेरोमा सार्ने होला भन्ने लाग्यो । मलाई त्यहाँबाट छुटकारा पाउनु थियो । घरमा आउने, कचकच गर्ने लगायतका कामले मलाई तनाव दिइसकेको थियो,’ रामकृष्णले कान्तिपुरसित भने । तर उनले थाहा नपाए पनि यो सोझो अर्थमा साँवाको ब्याजलाई फेरि स्याज लिने तरिका थियो । नीलमको नाममा रहेको ऋणको ब्याज रामकृष्णको थाप्लामाथि राखेर फेरि ‘साँवा’ बनाइएको थियो ।


५७ लाख ऋणको कागज गर्दा रामकृष्णले त्यो पैसा छुन त के, देख्न पनि पाएनन् । खाताबाट खातामै गएर ऋणको भार बढाइएको थियो । ऋणको तमसुक मात्रै थपिएको थियो । रामकृष्ण भन्छन्, ‘सबै ऋण सेटल गर्न उहाँहरूको रुचि रहनेछ भन्ने पछि थाहा भयो । मसँग कुनै धितो लिइएको थिएन । उनीहरूले मलाई के हिसाबले ५७ लाख दिए ? नियत नै त्यस्तै रहेछ ।’


लालीगुराँसका कार्यकारी निर्देशक भण्डारी रामकृष्णलाई उल्टै सहयोग गरेको दाबी गर्छन् । ‘ब्याज तिर्न नसकेर लिलामीमा जाने भएपछि त्यसो गर्नुभन्दा सहयोग गरौं भनेर हामीले ब्याज बराबरको लोन दिएको हो, त्यसले उहाँको लिलामीको प्रक्रिया सरेको छ,’ उनले भने, ‘संस्थागत रूपमा त्यसो गर्न मिल्दैनथ्यो होला ।’


रामकृष्ण युरोप भ्रमणमा रहेका बेला घर लिलामीको सूचना निस्कियो । सहकारीको विवरणअनुसार २०६९ कात्तिक १३ गते पहिलो सूचना निस्कियो । दोस्रो र तेस्रो सूचना पनि रोकिएन । ‘जुन नामका लागि यत्रो दुःख गरिराखेको थिएँ, त्यही नाम लिलामीमा निकालेपछि म विक्षिप्तजस्तै भएँ । घरको सूचनामा श्रीमती र मेरो नाम, ऋण विवरण र फोटो थियो । मलाई दिएको ५७ लाखमा पनि ब्याज जोड्न थालेछन् भन्ने बल्ल त्यतिबेला थाहा भयो,’ रामकृष्णले कान्तिपुरलाई सुनाए ।


एकातिर घर व्यवहार चलाउन गाह्रो, अर्कोतिर लिलामीको सूचना । अनि आफन्त र चिनजानका व्यक्तिहरूको हैरानलाग्दो जिज्ञासा । उनको मनको चैन र रातको नीद हरायो । उनले बुझे, सहकारी सञ्चालकहरूले लिलामीको प्रक्रिया भित्रभित्रै मिलाउँदा रहेछन् । ‘नत्र लिलामीको दिन थाहा भए मेरै आफन्तले गएर भए पनि जग्गा किन्ने योजना बनेको थियो,’ रामकृष्णले भने ।

जग्गा किन्न कोही नआएको भन्दै सहकारीले १ करोड ७० लाखमा लिलामी सकारेर घर आफ्नो बनायो । तर लालीगुराँस सहकारीका कार्यकारी निर्देशक भण्डारीले प्रक्रियागत रूपमै सबै काम भएको दाबी गरे । ‘हामीले जबर्जस्ती गरेको हुँदै होइन, सबै प्रक्रियासम्मत हो,’ भण्डारीले कान्तिपुरसित भने, ‘उहाँहरूले ऋण लिएर वर्षौं पर्खिंदा पनि नतिरेपछि लिलाम भएको हो ।’


२०६६ सालमा रामकृष्णले १ करोड ८० लाख रुपैयाँ लोन लिँदा घरजग्गाको मूल्यांकन डेढ करोड रुपैयाँभन्दा माथि थियो । एक करोड ४८ लाख रुपैयाँ मूल्यांकन गरेर नीलमलाई ऋण दिएको सहकारीले दुई वर्षपछि १ करोड १४ लाख रुपैयाँको मात्रै रहेको भनी मूल्यांकन गर्‍यो । घरजग्गा कारोबार मन्दीका बेला भएकाले त्यतिबेला भाउ नबढ्नु स्वाभाविक भएको भण्डारी बताउँछन् । यता रामकृष्णले लिएको व्यक्तिगत ऋण ५७ लाख रुपैयाँमा ब्याज थपिएर एक करोडभन्दा माथि पुगिसकेको थियो । जग्गा लिलामी गरेपछि उनीहरूले नीलमबाट ६७ लाख रुपैयाँ तिर्न बाँकी रहेको हिसाब बनाइदिए ।


लालीगुराँस सहकारीले जिल्ला अदालत ललितपुरमा पेस गरेको लिखित जवाफमा २०७२ भदौ मसान्तसम्म नीलमका नाममा ६७ लाख २० हजार र रामकृष्णका नाममा ५६ लाख ९७ हजार रुपैयाँ ऋण बाँकी रहेको उल्लेख छ । जग्गा लिलामी भइसकेपछि समेत सहकारीले बाँकी रकम तिर्नुपर्ने भनी ताकेता गर्न थाल्यो । पछिल्लो पटकचाहिँ ‘बाउन्सर’ खालका मान्छेको चहलपहल उनको घर वरिपरि थियो । धम्क्याउने, तर्साउने गर्न थाले । रामकृष्ण र नीलम २०७२ सालमा जिल्ला अदालत ललितपुरमा ‘हरहिसाब शून्य गराई पाऊँ’ भनी मुद्दा लिएर गए ।


सहकारीको दाबीअनुसार रामकृष्ण र उनकी पत्नी नीलमको कर्जा भिन्नाभिन्नै हो । उसले त्यहीअनुसार सूचना पनि जारी गरेको छ । तर लालीगुराँस सहकारीले यसलाई स्वाभाविक भनेको छ । ‘धितो लिलाम बिक्री गर्दासमेत ऋण चुक्ता नभएको रकम बाँकी रहेपछि सहकारीले ताकेता गर्छ,’ कार्यकारी निर्देशक भण्डारीले भने, ‘रामकृष्णजी अदालत जानुभयो तर अदालतले रिट खारेज गरिदियो । यसको अर्थ हाम्रो रकम बाँकी नै छ ।’


अदालतले दुवै पक्षबीच मेलमिलाप गराउन पनि खोजेको थियो । नभएपछि अदालतले मुद्दा खारेज गरिदियो । लालीगुराँस सहकारीले हिसाब नमागेको र रामकृष्णले हिसाब मिलाउनुपर्‍यो भनेकै भरमा अदालतले विषयवस्तुमा प्रवेश गर्न नसक्ने भन्दै मुद्दा खारेज भएको थियो । अदालतले ‘हिसाबकिताबको प्रश्न उठेर अदालतमा मुद्दा परे त्यतिबेला सोच्ने’ भनी फैसलामा टिप्पणी पनि गरिदियो । २०७१ फागुन १२ गते भएको फैसलाबाट रामकृष्णको परिवारले राहतको सास फेर्‍यो ।


रामकृष्णका अनुसार यो पाँच वर्षको दौरान सहकारीले कुनै खबर गरेन । एकाएक गत साउन २२ गते सार्वजनिक सूचना जारी गर्‍यो । त्यो सूचनामा उल्लिखित विवरणअनुसार रामकृष्णले २ करोड ३० लाख अनि उनकी पत्नी नीलम शाहले २ करोड ६२ लाख ऋण तिर्न बाँकी छ । सूचनामा भनिएको छ, ‘ऋणको विषयमा जानकारी लिनुपर्ने भएमा यस संस्थाको कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ ।’ तर सहकारीका अनुसार उनीहरू सम्पर्कविहीन भएर बसिरहेका छन् ।


कार्यकारी निर्देशक भण्डारीका भनाइमा ढकालको घरमा पटकपटक जाँदा ढोका लगाइएको हुन्थ्यो, फोन नम्बर पनि फेरिरहेका थिए । उनले अब अरू सम्पत्ति खोज्ने अनि ऋण उठाउन सम्भव नभए नाम कालोसूचीमा राख्ने चेतावनी दिए ।


सूचनाबारे आक्रोशित रामकृष्ण भन्छन्, ‘यो काम त कानुनसम्मत भएन । ऋण भए तिर्न आऊ पनि भनेको छैन । पत्रिकामा फोटोसहित निकालेर हिसाब बाँकी छ भन्नुको अर्थ धम्क्याउनु हो । मैले कुनै अपराध गरेको हैन, मिटरब्याजको ऋण लिएर फन्दामा परेको हो । अब म त्यसलाई सम्झन पनि चाहन्नथें तर मलाई जीवनको अँध्यारो पाटो कोट्याएर जबर्जस्ती दुःख दिन खोजिँदै छ ।’


प्रकाशित : भाद्र १५, २०७६ २२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?