कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शे–फोक्सुन्डोका हिउँचितुवालाई 'स्याटेलाइट' जोडिँदै

अब्दुल्लाह मियाँ

काठमाडौँ — विश्वमै दुर्लभ हिउँचितुवाको वैज्ञानिक ढंगले अनुगमन गर्न शे–फोक्सुन्डो निकुञ्जका दुईवटा हिउँचितुवाको घाँटीमा ‘स्याटेलाइट रेडियो कलर’ जडान गरिँदै छ । लजालु स्वभावको यो जन्तु नेपालसहित १२ देशमा पाइन्छ ।

शे–फोक्सुन्डोका हिउँचितुवालाई 'स्याटेलाइट' जोडिँदै

कलर जडानपछि उक्त हिउँचितुवाले हिँडडुल गर्ने क्षेत्र, हिँडेको क्षेत्रफल, उक्त क्षेत्रको तापक्रम, आहाराको अवस्था, आहारका प्रजाति, बासस्थानको अवस्थाबारे काठमाडौंमै बसेर अनुगमन गर्न सकिनेछ । शे–फोक्सुन्डो निकुञ्जमा करिब ४ करोड रुपैयाँ खर्चिने गरी हिउँचितुवा र तिनका आहार संरक्षण कार्यक्रम चलिरहेको छ ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र डब्लूडब्लूएफ नेपालको आर्थिक–प्राविधिक सहयोगमा यसै महिनादेखि हिउँचितुवामा कलर जडान सुरु गर्न लागेको हो । विभागका सूचना अधिकारी उपसचिव विष्णुप्रसाद श्रेष्ठका अनुसार माथिल्लो डोल्पाको भिजेर क्षेत्रका हिउँचितुवामा कलर जोडिनेछ । त्यसका लागि विभागले स्थानीय सरोकारवाला निकाय, बासिन्दालगायतसँग पहिलो चरणको छलफल पूरा गरेको छ । भिजेर तिब्बतसँग जोडिएकाले रेडियो कलर जडानपछि ती हिउँचितुवाको ओहोरदोहोरको क्षेत्रसमेत पहिचान हुनेछ ।


यसअघि ताप्लेजुङको कञ्चजनजंघा संरक्षण क्षेत्रका चार हिउँचितुवामा जडान गरिएको रेडियो कलरले ती आहाराका लागि तिब्बत र भुटानसम्मै आउजाउ गर्ने गरेको पुष्टि भइसकेको छ । ‘शे–फोक्सुन्डो निकुञ्जका हिउँचितुवा पनि तिब्बतसम्मै ओहोरदोहोर गर्ने गरेका हुन सक्छन्,’ श्रेष्ठले भने, ‘त्यसो हो भने तिनको संरक्षणका लागि सीमा वारपार सहयोग आदानप्रदान गर्न सहयोग पुग्छ ।’ विभागले हिउँचितुवामा कलर जडानसँगै स्थानीयको आयआर्जन वृद्धि गर्न विभिन्न कार्यक्रममा समेत जोड दिँदै छ ।


‘यो वर्षभित्र भिजेर क्षेत्रमा २ वटा हिउँचितुवामा रेडियो कलर जडान गरिनेछ,’ श्रेष्ठले भने, ‘यो सफल भयो भने अर्को वर्ष पनि कार्यक्रम जारी हुनेछ ।’ रेडियो कलर जडान गर्न विभागको इकोलोजी महाशाखा र शे–फोक्सुन्डो निकुञ्जका प्राविधिक, एनटीएनसीका भेटेनरी चिकित्सकसहित डब्लूडब्लूएफ नेपालका सेरेन श्रेष्ठ र समुन्द्र सुब्बालगायत खटिनेछन् । प्राविधिकले हिउँचितुवालाई प्राकृतिक बासस्थानमै पासोमा पारी लठ्याएर घाँटीमा रेडियो कलर जडान गर्नेछन् । रेडियो कलरले २ वर्षसम्म सूचना दिनेछ ।


वन्यजन्तु प्राविधिकका अनुसार घाँटीमा बाँधिएको स्याटेलाइटबाट सिधै जीपीएस पोइन्टका आधारमा हरेक ४–४ घण्टामा कम्प्युटरमा सूचना (एसएमएस) प्राप्त हुन्छ । स्याटेलाइटले जीपीएसमार्फत ‘रियल टाइमबेस्ड इन्फरमेसन’ कम्प्युटरमा पठाउँछ ।


नेपालमा ३ देखि ५ सय हाराहारी हिउँचितुवा रहेको अनुमान छ । मकालु वरुण, सगरमाथा, लाङटाङ, शे–फोक्सुन्डो, रारा निकुञ्जसहित, गौरीशंकर, मनास्लु, अन्नपूर्ण र अपि नाम्पा संरक्षण क्षेत्रलगायतमा हिउँचितुवा पाइन्छन् । विश्वमा ४ हजारदेखि ६ हजार ५ सय हाराहारीमा उक्त वन्यजन्तु रहेको अनुमान छ ।

प्रकाशित : भाद्र १५, २०७६ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?