कुकुर मारिएकोमा विरोध

खोटाङ — दिक्तेल बजारका सामुदायिक कुकुरहरुलाई निर्मम तरिकाले मारिएको भन्दै चौतर्फी विरोध भएको छ । पशु अधिकारको ख्याल नगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारीहरुले निर्मम तरिकाले कुकुरलाई कुटेर मारिएको भन्दै पशु अधिकारवादीहरुले विरोध जनाएका हुन् ।

कुकुर मारिएकोमा विरोध

एनिमल राइट्स क्लब चितवनका संस्थापक प्रमुख सुराजन श्रेष्ठले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विभत्स गरी कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा देखिएको र कानुन मिचेर कुकुर मारिएकाले कानुनी कारबाही हुनुपर्ने बताए । ‘कानुन मिचेर निन्दनीय कार्य गरिएको छ ।’ श्रेष्ठले भने,‘नेपालको कानुन अनुसार कारबाही हुनु पर्छ ।’


नगरपालिकाले हैजा लागेर मरेका २ सय ७० वटा कुकुर व्यवस्थापन गरेको बताएपिन स्थानीयवासीहरुले नगरपालिकाले नै ती कुकुर मारेको बताइरहेका छन् । नगरपालिका प्रमुख दीपनारायण रिजालले दिक्तेल बजारको सामुदायिक कुकुरहरु हैजाले मरेको र त्यसलाई व्यवस्थापन मात्र गरिएको दाबी गरेका छन् ।

पशुअधिकारको चरम उलङ्घन भएको भन्दै उक्त घटना विरुद्ध उजुरी दिने तयारी गरिएको बाजिन्द्र बिष्टले बताए । नगरपालिका आफूले सडक हेरालुको रुपमा नियुक्ति गरेका कर्मचारीलाई परिचालन गरेर कुकुर मार्न लगाएको हो । यस क्रममा शनिबार बिहान दिक्तेलको त्रिवेणीचौकमा चौपाया तथा मान्छेलाई टोक्ने कुकुर फेला परेकाले स्थानीयले पक्राउ गरेर आवेशमा कुटेर मारेको तर त्यसको दोष नगरपालिकालाई दिइएको नगरप्रमुख रिजालले दाबी गरे ।


लगत्तै दिक्तेलको भानुचौकमा पनि निर्मम तरिकाले कुटेर कुकुर मारिएको भिडियो सार्वजनिक भएको छ । कुकुर मारिएको विषयप्रति छानबिन अगाडि बढाउने नगरप्रमुख रिजालले बताए । ‘हामीले मारेको कुकुर व्यवस्थापन मात्र गरेका हौं ।’ नगरप्रमुख रिजालले भने,‘कुटेर मारिएको भन्ने विषयमा हामीले छानबिन गर्छौ ।’ नगरप्रमुख रिजालले थपे,‘यदी कुटेरै मारिएको हो भने कानुनी कारबाही हुन्छ ।’ नगरप्रमुख रिजालले कुकुर पाल्ने धानीहरुलाई आफ्नो कुकुर सुरक्षित तवरले पाल्न समेत आग्रह गरेका छन् ।

मुलुकी संहिता अनुसार कसैले कुनै पशुपंक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामर्थ्यभन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक बस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न नहुने उल्लेख छ । यसो गरे कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुने उल्लेख छ ।

प्रकाशित : भाद्र १५, २०७६ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?