त्रिभुवन विमानस्थल आजदेखि ७ घन्टा बन्द हुँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि सुरु हुने धावनमार्ग लगायत जिर्णोद्वारको कामका लागि ७ घन्टा विमानस्थल बन्द हुने भएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार आइतबारबाट राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुने छ ।

तर, नेपाल वायुसेवा निगमले बिहीबारदेखि सुरु गरेको जापानको ओसाका उडानका दिन विमानस्थल मर्मतको कार्य आधा घन्टा स्थगन गरिने छ । ‘निगमको उडान भएको दिन मंगलबार, बिहीबार र शनिबार राति २ बजे जिर्णोद्वार तथा मर्मत कार्य रोकिने छ,’ महाप्रबन्धक क्षत्रीले भने, ‘साढे २ बजे जहाज उडेपछि फेरि मर्मत सुचारु गरिने छ ।’


नेपाल नागरिक उड्डयन प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका अनुसार, विमानस्थल रिह्याबिलिटेसन (जिर्णोद्वार) को काम भदौ १५ देखि सुरु भई पुस १५ गतेसम्म सञ्चालन हुने छ । यस अवधिमा ७ घन्टा विमानस्थल बन्द हुने छ । दोस्रो चरणमा धावनमार्गको मध्यरेखामा लाइट राख्ने, ट्याक्सी-वे, एप्रोन र धावनमार्ग जोड्ने लिंक रोड, धावनमार्गसँग जोडिएका ड्रेन र्ममर्त आदिको काम हुने छ ।


यसअघि तीन महिना (चैत ११ देखि असार १६ गतेसम्म) १० घन्टा आंशिक उडान बन्द गर्दै पहिलो चरणको धावनमार्ग रिह्याबिलिटेसन (जीर्णोद्वार) को काम गरिएको थियो । पहिलो चरणमा चिनियाँ ठेकेदार कम्पनीले ३ हजार ५० मिटर लामो तथा ४५ मिटर चौढाई भएको धावनमार्गमा मध्यरेखाबाट दायाँबायाँ २० मिटर चौडाई तथा २० सेन्टिमिटर खनेर उच्च गुणस्तरको बिटुमिन राखेको थियो ।


चिनियाँ ठेकेदार कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले मनसुन सुरु भएकाले पहिलो चरणको जीर्णोद्वारको काम असार १६ पछि रोकेको थियो । उस्ले दोस्रो चरणको काम भदौ १५ पछि गर्ने भनेको थियो ।

पहिलो चरणमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको ३ हजार ५० मिटर लामो धावनमार्ग मर्मत कार्य सकिसकेको छ । त्यसपछि काठमाडौं विमानस्थल २१ घन्टा पुनः सञ्चालनमा ल्याइएको थियो । निगमलाई जापानको ओसाका विमानस्थलले दिएको समय तालिका फेर्न नमिल्ने भएकाले प्राधिकरणले नेपाल सरकारको निर्देशन अनुसार, ठेकेदार कम्पनीसँग आग्रह गरेर राति आधा घन्टा मर्मत कार्य रोक्नुपरेको हो ।


निगमको राति साढे २ बजे उडेको विमान अर्को दिनको साँझ ६ बजेपछिमात्रै काठमाडौं फर्किन्छ । यो रुटको एकतर्फी उडान समय ७ घण्टाको हाराहारी लाग्छ । अर्थात काठमाडौंबाट राति उडेको वाइडबडी कम्तीमा १५ घन्टापछि अर्को दिन बेलुकी मात्रै ओसाकाबाट फर्केर आइपुग्छ । निगमका अनुसार, काठमाडौंबाट बिहान साढे २ बजे निगमको वाइडबडी ओसाकाका लागि उडाउने र त्यहाँको स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मा ओसाका पुग्छ । त्यस्तै ओसाकाबाट स्थानीय समयअनुसार दिउँसो १ बजेर ५५ मा उडान गरेर त्यही दिन साँझ ६ बजे काठमाडौं जहाज काठमाडौं आइपुग्छ ।

आयोजनाका अनुसार, अब घामपानीका कारण धावनमार्गको पिच उप्किने, जहाज होल्डमा राख्नुपर्ने समस्या छैन । सबै कार्य समयभित्रै सकिए पुस १५ पछि काठमाडौं विमानस्थल चौबिसै घण्टा सञ्चालन गर्न सकिनेछ । प्राधिकरणले यो जिर्णोद्वारले धावनमार्ग कम्तीमा २० वर्षसम्म चौबिसै घण्टा सञ्चालन गर्न सकिने क्षमताको बन्ने भनेको छ । यो ठेक्का चिनियाँ कम्पनीले ३ अर्ब ७८ करोड रुपैयाँमा सकारेको थियो । यो रकम नेपाल सरकारकै स्रोत हो । प्रकाशित : भाद्र १५, २०७६ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नक्कली भिसा कार्डबाट रकम निकालेको भेटिए पछि अधिकांश बैंकका एटीएम बन्द

यज्ञ बञ्जाडे

काठमाडौँ — नक्कली भिसा कार्डबाट रकम निकालिएको भेटिए पछि अधिकांश बै‌क तथा वित्तिय संस्थाका विद्युतीय भुक्तानी कार्ड (एटीएम) बन्द गरिएका छन् । 

शनिबार नक्कली भिसा कार्डबाट रकम झिक्ने ५ चिनियाँ नागरिक पक्राउ परेपछि एटीएम कार्ड बन्द गरिएको हो ।

११ वटा वाणिज्य बैंक आवद्ध एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले आफू आवद्ध बैंकका एटीएम बन्द गराएको हो । नेप्स आवद्ध बैंकका एटीएम आज नेपाल र अन्य मुलुकमा पनि नचल्ने भएका छन् ।

शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ नागरिक पक्राउ परेका हुन् । उक्त समूहले बिभिन्न बैकका एटीएमबाट १ करोड २६ लाख निकालिसकेका छन् । प्रहरीले उनीहरुको साथबाट ९ हजार अमेरिकन डलर बरामद गरेको छ ।

प्रकाशित : भाद्र १५, २०७६ ११:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×