कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मेलम्ची र द्रुतमार्गमाथि छानबिन गरिँदै

ऋषिराम पौड्याल

काठमाडौँ — प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना र काठमाडौं–तराई द्रुतमार्गको निर्माण प्रगति तथा खर्च प्रक्रियाबारे अध्ययन थालेको छ । समितिको साउन ५ को बैठकले यी दुई आयोजनाको कागजपत्र झिकाउने निर्णय गरेको थियो । 

मेलम्ची र द्रुतमार्गमाथि छानबिन गरिँदै

समितिको निर्देशनअनुसार खानेपानी मन्त्रालयले मेलम्चीको विवरण पेस गरेको छ ।


समिति सचिव रोजनाथ पाण्डेका अनुसार मेलम्चीको सञ्चालक समितिसँग साताभित्रै सोधपुछ गर्ने तयारी छ । बैठकमा सभापति भरतकुमार शाहले मेलम्ची आउने कुरा मात्र भएकाले यथार्थ खर्च र जानकारी लिन जरुरी भएको बताएका थिए । उनैको निर्देशनबमोजिम कागजपत्र झिकाइएको हो । ‘मेलम्चीको डकुमेन्टमाथिको अध्ययन पूरा भएको छ,’ उनले भने, ‘आगामी साता सञ्चालक समितिलाई बोलाउँछौं ।’ सेनाले निर्माण गरिरहेको द्रुतमार्गको प्रगति र खर्चको विवरण पनि समितिमा अध्ययन भइरहेको छ । रक्षा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विवरण उपलब्ध गराएको हो ।


मेलम्चीपछि द्रुत मार्गका विषयमा सरोकारवालासँग सोधपुछ हुने पाण्डेले जानकारी दिए । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एकातिर, निर्माण भइरहेको स्थान अर्कोतिर भन्दै सांसदले प्रश्न उठाएपछि समितिले अध्ययन अघि बढाएको हो ।


प्राधिकरणका पूर्वकर्मचारीसँग बयान


यसैबीच विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइनमार्फत ठूला ग्राहकलाई दिएको सुविधाबापतको करिब ७ अर्ब महसुल बक्यौता असुली नभएको विषयमा छानबिन गर्न गठित उपसमितिले प्राधिकरणका पूर्वपदाधिकारीलगायत सरोकारवालासँग सोधपुछ सुरु गरेको छ ।


प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेसँग सोधपुछ गरिसकेको छ । ‘सम्बन्धित अन्य कर्मचारी र सञ्चालक समितिसँग कुराकानी गर्दैछौं,’ उपसमितिका एक सदस्यले भने । लोडसेडिङका बेला उद्योगहरूलाई उपलब्ध गराएको विशेष सुविधाअन्तर्गतको महसुल बक्यौता रहेको र प्राधिकरणले समयमा बिलिङ नगरेको भन्दै लेखा समितिले सांसद मीनेन्द्र रिजालको संयोजकत्वमा ५ सदस्यीय उपसमिति बनाएको थियो ।


यसअघि समितिले ऊर्जामन्त्री वर्षमान पुन र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग यसबारे छुट्टाछुट्टै छलफल गरिसकेको छ । ट्रंक र डेडिकेटेड लाइन सर्वसाधारणको तुलनामा प्रतियुनिट शुल्क ७० प्रतिशतसम्म महँगो हुन्छ । विशेष सुविधाबापतको महसुलको विषयमा अध्ययन गर्न प्राधिकरण सञ्चालक समिति सदस्य भक्तबहादुर पुनको संयोजकत्वमा गत वर्ष अध्ययन समिति गठन गरिएको थियो ।


प्रकाशित : भाद्र १५, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?