राप्तीमा आन्दोलन चर्काउँदै नेकपा

(दाङ) — घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्यक्ष रूपमा दलगत राजनीति सुरु भएको छ । उपकुलपति डा. संगीता भण्डारीको राजीनामा माग्दै सुरु भएको आन्दोलनको पक्षमा नेकपा उभिएको छ भने कांग्रेस विपक्षमा ।

प्रतिष्ठान बचाऔं अभियानले भण्डारीको राजीनामाको मागसहित आन्दोलन गरिरहेको छ । नेकपाले प्रेस विज्ञप्ति जारी गरी आन्दोलनको समर्थन गरेको छ । जिल्ला अध्यक्ष टीकाराम खड्का र सचिव तुलसीराम पुनले जारी गरेको विज्ञप्तिमा राजीनामा दिएर मार्गप्रशस्त गर्न भण्डारीलाई आग्रह गरिएको छ । आन्दोलनका पक्षमा लाग्न सबैलाई आह्वान पनि गरिएको छ । प्रतिष्ठानको आधारभूत स्वास्थ्य सेवा प्रभावकारी बनाउन नसकेको, ११ डाक्टर र २८ कर्मचारीलाई अपमानजनक तरिकाले बर्खास्त गरिएको, पदाधिकारी र चिकित्सकसँग समन्वय गरी काम गर्नुपर्नेमा अनावश्यक जुहारी खेलेको जस्ता कारणले भण्डारी पदमा बस्न योग्य नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।


यसैगरी कांग्रेसले विज्ञप्ति जारी गरी उपकुलपति भण्डारीलाई बजेट नदिई असहयोग गर्ने, स्थानीयस्तरमा काममा अवरोध गर्न विभिन्न बहानामा आन्दोलन गर्ने, छानबिनका नाममा पदाधिकारीलाई हतोत्साहित गर्ने र उपकुलपतिको राजीनामा माग गर्ने काम सत्तापक्षबाट भएको भन्दै यसको भर्त्सना गरेको छ । जिल्ला सभापति कीर्तिबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा प्रतिष्ठान बचाऔं अभियानका नाममा रजिस्ट्रार रामप्रसाद प्याकुरेलमाथि भएको दुर्व्यवहारको निन्दा गरिएको छ । अभियानका नाममा भएका कुनै पनि आन्दोलनमा सरिक नहुन कांग्रेसले सबै भ्रातृ संगठनलाई निर्देशन गरेको छ ।


अभियानले उपकुलपतिको राजीनामाको मागसहित दिनहुँ विभिन्न आन्दोलनका कार्यक्रम गरिरहेको छ । नेकपा निकट भ्रातृ संगठनहरूले पनि प्रदर्शन गरिरहेका छन् । कांग्रेसनिकट युवा संघले उपकुलपतिको पक्षमा प्रदर्शन गरेको छ । मुख्य राजनीतिक दल प्रतिष्ठानको पक्ष, विपक्षमा उभिएपछि समस्या झन् गम्भीर बन्दै गएको छ । अस्पतालमा कार्यरत २३ डाक्टरले काम गर्ने वातावरण बनाइदिन या राजीनामा स्वीकृत गर्न आइतबार उपकुलपति भण्डारीलाई २४ घन्टे अल्टिमेटम दिएका थिए ।


आठबुँदे मागपत्र पेस गर्दै उनीहरूले माग पूरा नहुँदासम्म इमर्जेन्सीबाहेकका स्वास्थ्य सेवा दिन नसक्ने बताएका छन् ।


प्रकाशित : भाद्र १५, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?