कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जहाँ पुल माथिबाटै बग्छ नदीको भेल

विकल्प नभएपछि जोखिमयुक्त पुलबाट ओहोरदोहोर गर्न स्थानीय बासिन्दा बाध्य छन् । 
संगीता तिमिल्सेना 

बाजुरा — जब बुढीगंगा नदीमा पानीका बहाव बढ्छ, ताप्रिसेरामा झोलुंगे पुल डुब्छ । आवतजावत असहज हुन्छ । विकल्प नभएपछि त्यही जोखिमयुक्त पुलबाट ओहोरदोहोर गर्न स्थानीय बासिन्दा बाध्य छन् ।  

जहाँ पुल माथिबाटै बग्छ नदीको भेल

ताप्रिसेराको पुलले त्रिवेणी नगरपालिकाको बागापाटा क्षेत्रलाई बुढीगंगा नगरपालिकासहित सडक सञ्जाललाई जोड्छ । बुढीगंगाकै अक्कोट क्षेत्रमा पारि त्रिवेणीको पैमाक्षेत्रबाट ठूलो पहिरो नदीमा खसेको छ । त्यही पहिरोकै कारण ताप्रिसेरा लगायतका क्षेत्रमा नदीको सतह बढेको छ । ‘माथिको पहिरोले सतह बढेर झोलुंगे पुल डुबेको हो,’ पैमा गाउँका भानुभक्त पाध्यायले भने, ‘नजिकमा अर्को पुल छैन ।’

त्रिवेणी क्षेत्रका किसान हरेक बिहान दूध, दही, तरकारी लिएर आउने गर्छन् । त्रिवेणी नगरपालिकाले पुल जोखिममा परेपछि त्यहाँबाट आवतजावत गर्न बन्देज लगाएको छ । तर स्थानीय बासिन्दा घुमाउरो बाटो हिँड्न कठिनाइ मानेर त्यहींबाट जोखिम मोल्ने गरेको नगर प्रमुख रामसिंह रावलले बताए । उनले भने, ‘बुढीगंगा नगरपालिकाको ताप्रिसेरा र त्रिवेणीको राँजामा पर्ने सो पुलभन्दा केहीमाथि बल्देमा अर्को झोलुंगे पुल छ । अर्को विकल्प नहुँदासम्म बल्देबाटै ओहोरदोहोर गर्न भनेका छौं ।’

नगरपालिकाले तत्काल अर्को पुल निर्माण गर्न नसक्ने भएकाले सहयोग एकाइ नेपालगन्जलाई पुलको अवस्था देखाएर सर्वेक्षण गराएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले बताए । सहयोग एकाइले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको जनाएको उनले बताए ।

बुढीगंगा नदीकै कारण द्वारीदेखि बल्देसम्मको सडक ठाउँठाउँमा भासिएको छ । अम्कोटमा करिब २० मिटर सडक बुढीगंगा नदीको पहिरोमा परेपछि तत्कालका लागि वैकल्पिक मार्ग खोलिएको बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले बताए ।

अर्कोतिर पैमाबाट वर्षौंअघि खस्न सुरु भएको पहिरोले बुढीगंगा नदी थुनिने त्रास पनि बढदो क्रममा छ । हाल विस्तारै खस्दै गरेको पैमाको पहिरो अलि ठूलो मात्रामा एकैपटक खस्यो भने बुढीगंगा नदी थुनिने प्राविधिक बताउँछन् । त्यस अवस्थामा बुढीगंगा नदी आसपासमा पर्ने तटीय क्षेत्रका बस्तीसहित अछामको साँफेबगरलाई क्षति पुग्ने खतरा छ ।

हरेक वर्ष बुढीगंगा नदीले खेतीयोग्य जमिन कटान गर्ने गरेको छ । सेराका खेतीयोग्य फाँट बगरमा परिणत भएका छन् । अमकोटका स्थानीय हंशराज पाध्याय भन्छन्, ‘मेरै पनि थुप्रै जग्गा बगर बन्यो ।’ कतिपयको त उठीबास भएको उनले बताए । नदीको सतह बढेपछि खेतीयोग्य जमिन कटान हुने गरेको उनको बताए ।

प्रकाशित : भाद्र १४, २०७६ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?