कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रदेश २ का १० तहमा अझै गाउँसभा भएन

सुनिता बराल

बर्दिवास, महोत्तरी — प्रदेश २ का ५९ वटा गाउँपालिका मध्ये ३ जिल्लाका १० वटा गाउँपालिकाले अझै गाउँसभा गरेको छैन । सभा नभएपछि ती सबै गाउँपालिकामा काम र विकास निर्माण रोकिएको छ ।

प्रदेश २ का १० तहमा अझै गाउँसभा भएन

सप्तरीको राजगढ गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत नहुँदा सभा हुन सकेन् । गाउँपालिका अधिकृत, नायबसुब्बा, खरिदारलगायत धेरै कर्मचारी रिक्त रहेकाले कर्मचारी अभावमा सभा गर्न नसकिएको राजगढ गाउँपालिका अध्यक्ष परमानन्द यादवले बताए ।

भदौ ९ गते उपप्रमुखको कुर्सीमा बाख्रा–खसी ल्याएर बाँधेपछि सप्तरीकै वलान–बिहुल गाउँपालिकाको गाउँसभा गर्ने प्रक्रिया सेलाएको छ । न्यायिक समितिमा आफ्नो विरुद्धमा मुद्दा दर्ता गराएको भन्दै स्थानीय सुजित साह कानु र अन्य केही व्यक्तिले आफ्नो कुर्सीमा बाख्रा–खसी ल्याएर बाँधेपछि काम गर्ने वातावरण नै नभएको गाउँपालिका उपाध्यक्ष रुबी गुप्ताले बताइन् ।

गाउँपालिका र जनप्रतिनिधिको अपमानसहितको काममा संलग्नलाई कार्वाही र काम गर्ने वातावरण हुनुपर्ने गुप्ताले माग गरेकी छिन् ।

पर्सा जिल्लाको विन्दावासिनी गाउँपालिकाले पनि अहिलेसम्म सभा गरेको छैन । गाउँपालिकाकी उपप्रमुख किरणदेवी गुप्ताले पालिकाको कामलाई कर्मचारीले वेवास्ता गरेका कारण सभा हुन नसकेको बताइन् । गुप्ताले गाउँपालिकाका प्रमुखले पनि सभा गराउनेप्रति चासो नदेखाएकाले गाउँपालिकाको कामकाज ठप्प रहेको बताइन् ।

सिराहाको औरही गाउँपालिकामा भने कर्मचारी समस्या नरहे पनि अल्पमत/बहुमतका कारण सभा हुन सकेको छैन् । अध्यक्ष सिद्धार्थ यादवले आफूलाई असफल बनाउन वडाध्यक्षहरुले सभाको बातावरण बन्न नदिएको आराेप लगाएका छन् ।

पर्साको सखुवा पर्सौनी, विन्दवासीनी, पकाहा मैनपुर, धोविनी र सिराहाको औरही तथा सप्तरीको राजगढ, महादेवा, बलान विहुल तिरहुत र छिन्नामस्ता गाउँपालिकामा अझै गाउँसभा हुन सकेकाे छैन्।

गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश २ ले गाउँपालिकामा समस्याको चाङ रहेको र संघले गाउँपालिकालाई दिएको अधिकार पनि कटौती गर्दै लगेकाले अधिकार प्राप्तिका लागि दबाव दिन गाउँपालिका प्रमुख–उपप्रमुखको बैठकले १२ वटा निर्णय गरेको महासंघ प्रदेश २ का अध्यक्ष विजयकुमार चौरसियाले जानकारी दिए ।

प्रदेश २ का गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत नभएको, जनप्रतिनिधिहरुबीच आवश्यक समन्वय हुन नसकेको, अल्पमत बहुमतका कारण पनि सभा हुन नसकेको बताएका छन् । प्रशासकीय प्रमुख र अन्य कर्मचारीको पनि व्यवस्थापनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयाको ध्यानाकर्षण गराउने महासंघले निर्णय गरेको छ ।

गाउँपालिका महासंघ प्रदेश २ का अध्यक्ष नै प्रमुख रहेकाे पर्साको पकहा मैनपुर गाउँपालिकाले पनि सभा गराउन सकेको छैन् । सभा नहुनुको कारण कर्मचारीको अटेरी गरेको अध्यक्ष चौरसियाले बताए ।

गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङले कर्मचारीलाई संघले चलाउने हुदाँ स्थानीय सरकारलाई कर्मचारीले नटेर्ने र आफूअनुकुल भए काम अगाडि बढाउने गरेकाले अधिकांश गाउँपालिकाले सोचे जसरी काम हुन सकेको बताए ।

प्रकाशित : भाद्र १४, २०७६ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?