२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

पूर्वाञ्चल विश्वविद्यालयमा सधैं ताला

विनोद भण्डारी

विराटनगर — पूर्वाञ्चल विश्वविद्यालयका तत्कालीन उपकुलपति प्राडा घनश्यामलाल दासले अघिल्लो शुक्रबार कार्यकाल पूरा गरे । चारवर्षे सेवाअवधि सकेर बाहिरिँदै गर्दा उनको कार्यकक्षमा तालाबन्दी थियो । असार तेस्रो साता सरकारनिकट विभिन्न विद्यार्थी संगठनले लगाएको ताला अझै खुलेको छैन ।

पूर्वाञ्चल विश्वविद्यालयमा सधैं ताला

दासको कार्यकाल सकिएलगत्तै सरकारले विश्वविद्यालयका व्यवस्थापन संकायका डिन प्राडा बिजुकुमार थपलियालाई तीन महिनाका लागि कामु उपकुलपति तोक्यो । थपलियाले पदभार ग्रहण गरेलगत्तै कांग्रेसनिकट विद्यार्थी संघले कार्यकक्षमा तालाबन्दी गर्‍यो । उपकुलपतिको कार्यकक्षमा सत्तापक्ष र विपक्ष दुवै दलनिकट विद्यार्थी संगठनको ताला छ ।


२०५२ मा स्थापित यो विश्वविद्यालयमा पछिल्लो समय तालाबन्दी नियमितजस्तै बनिरहेको छ । जुनसुकै पदाधिकारी नियुक्त भए पनि विद्यार्थी वा कर्मचारीले ताला लगाउने गरेका छन् ।


तालाबन्दीको सुरुआत १२ वर्षअघि जगतबहादुर केसी उपकुलपति नियुक्त भएसँगै भएको हो । केसी नियुक्त भएलगत्तै विद्यार्थी संगठन र कर्मचारीले कार्यकक्षमा तीन महिनासम्म तालाबन्दी गरेका थिए । केसीले रजिस्ट्रार र डिनलगायत पदाधिकारी नियुक्त गरेपछि फेरि पटकपटक तालाबन्दी भएको थियो । केसीपछि रामावतार यादव उपकुलपति बने । उनको कार्यकाल पनि तालाबन्दी मुक्त हुन सकेन ।


त्यसपछि महेश्वरमान श्रेष्ठ उपकुलपति भए । उनको कार्यकाल झन् तनावपूर्ण रह्यो । जथाभावी सम्बन्धन बाँडेर आर्थिक हिनामिना गरेको आरोपमा विद्यार्थी, प्राध्यापक, कर्मचारी र राजनीतिक दलले तालाबन्दी गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकुलपति, रजिस्ट्रार र सबै संकायका डिनविरुद्ध मुद्दा दर्ता गर्‍यो । विशेष अदालतको आदेशमा उनीहरू ६ महिनापछि पुनर्बहाली भएका थिए ।


जो पदाधिकारी आए पनि र सकारात्मक वा नकारात्मक जे काम गरे पनि तालाबन्दी गरिहाल्ने प्रवृत्तिले विश्वविद्यालय लथालिंग भएको कामु उपकुलपति थपलियाको बुझाइ छ । ‘कतिपय विषय स्थानीयस्तरबाट किनारा लगाउन सकिँदैन,’ उनले भने, ‘राजनीतिक दलका मुद्दामा पनि तालाबन्दी गरिनु दुःखद हो ।’


प्राध्यापक, कर्मचारी र विद्यार्थीमा निषेधको राजनीतिक संस्कार मौलाउँदा विश्वविद्यालय तालाबन्दीको सिकार हुँदै आएको सेवा आयोगका निवर्तमान अध्यक्ष प्राडा बद्रीनाथ श्रेष्ठको बुझाइ छ । उनले भने, ‘आफू र आफ्ना मान्छे हुँदा ठीक र अरू भए बेठीक भन्ने संस्कारले यो विश्वविद्यालय थलिएको छ ।’

प्रकाशित : भाद्र १४, २०७६ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?