कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिंगो गाउँपालिकामा दुई कर्मचारी

हरि गौतम

रुकुम पूर्व — पुथाउत्तरगंगा गाउँपालिकामा ६१ कर्मचारीको दरबन्दी छ । तर, अहिले प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढा क्षेत्री र सहायक महिला विकास निरीक्षक वसन्ता ओली मात्र कार्यरत छन् । गत आर्थिक वर्षभरी ४ जनाले गाउँपालिकाको काम धानेका थिए । तीमध्ये दुई कर्मचारी अन्यत्रै समायोजन भएका छन् । 

सिंगो गाउँपालिकामा दुई कर्मचारी

गाउँपालिका मात्रै होइन, वडा कार्यालय तथा कृषि र पशु शाखा पनि पूरै खाली छन् । १० नम्बरका वडा सचिव उदिराम रोकाले समायोजनपत्र बुझिसके । संघ लगिएका लेखापाल शिवराम खड्का काजमा बसेर पत्र पर्खिरहेका छन् । ‘दरबन्दीअनुसारका हामी २ जना मात्रै छौं,’ प्रमुख प्रशासकीय अधिकृत बुढाक्षेत्रीले भने, ‘उदिराम रोका गइसक्नुभयो, लेखापाल जाने तयारीमा हुनुहुन्छ ।’ पुथाउत्तरगंगा जिल्लाकै ठूलो स्थानीय तह हो । यसमा १४ वडा छन् । चालु आर्थिक वर्षमा वडा, विषयगत शाखासहित सबभन्दा कम दुई जना कर्मचारीमा सीमित भएको बुढाक्षेत्रीको भनाइ छ ।


कर्मचारी नभएपछि सेवाप्रवाहमा समस्या परेको गाउँपालिकाले जनाएको छ । कामकाज सजिलो बनाउन करारमा केही कर्मचारी नियुक्त गरिए पनि त्यसबाट उपलब्धि हुन नसकेको बुढाक्षेत्रीले बताए । १४ वटै वडा सचिवविहीन बन्दा विशेष गरी पञ्जीकरणको काम प्रभावित छ । सजिलोका लागि स्वास्थ्य चौकी इन्चार्जलाई पञ्जीकरण गर्ने अधिकार दिइएको छ ।

पञ्जीकरणका लागि सर्वसाधारण वडा कार्यालय नभई स्वास्थ्यचौकी गइरहेका छन् । ‘दुर्गम भनेर हो कि किन हो कुन्नि, कर्मचारी छैनन् भनेर हामीलाई स्वास्थ्यचौकी पठाइन्छ,’ पुथाउत्तरगंगा–९ का मनबहादुर बुढाले भने, ‘बिहे, जन्म, मृत्यु दर्ताका लागि जनता स्वास्थ्यचौकी जानुपरिरहेको छ ।’ वडामा रहेका करारका सहायक कर्मचारीले तयार पारेको प्रमाणपत्रमा सही गराउन फेरि स्वास्थ्यचौकी पुग्दा सेवा ढिलो भइरहेको उनले बताए ।


विकल्प नभएपछि स्वास्थ्यचौकी इन्चार्जलाई पञ्जिकाधिकारीको अधिकार दिइएको उपाध्यक्ष ओमकुमारी शाही मल्लले बताइन् । कर्मचारी नआउने र आए पनि अन्यत्र जाने समस्या उनले औंल्याइन् । साविकका ६ वटा गाविस मिलाएर बनाइएको गाउँपालिकाभरी ६ वटा स्वास्थ्यचौकी छन् ।

तिनै चौकीका इन्चार्जले १४ वटा वडाको पञ्जिकाधिकारीको काम गरिरहेका छन् । १ देखि ४ नम्बर वडाको मैकोट स्वास्थ्यचौकी इन्चार्ज समीर गिरी, ५ र ६ नम्बर वडाको स्वास्थ्यचौकी हुकामका इन्चार्ज उमेश पण्डित, ७, ८ र ९ नम्बर वडाको पञ्जिकाधिकारीको जिम्मेवारी स्वास्थ्यचौकी जाङका इन्चार्ज रामप्रताप महतोलाई दिइएको छ । त्यस्तै १० र ११ वडाको जिम्मेवारी स्वास्थ्यचौकी तकसेराका इन्चार्ज नरबहादुर ओली, १२ र १३ नम्वर वडाको प्राथमिक स्वास्थ्य केन्द्र कोलका जनस्वास्थ्य निरीक्षक वशिष्टनारायण यादव र १४ नम्वर वडाको जिम्मा स्वास्थ्यचौकी राङसीका इन्चार्ज नरेन्द्र विष्टलाई दिइएको छ ।


समायोजन भएर पनि यहाँ कर्मचारी आएका छैनन । यहाँबाट समायोजन भएर अन्यत्रै गए पनि लोकसेवा आयोगले कर्मचारी पठाउनेछैन । पुथाउत्तरगंगाका लागि पछिल्लो पटक भएको लोकसेवा आयोगको परीक्षामा विज्ञापन गरिएको छैन । गाउँपालिकाले कर्मचारी नमागेपछि लोकसेवाले विज्ञापन नगरेको हो ।

कार्यपालिका बैठक नबसेका कारण आयोगसँग कर्मचारी माग्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत बुढाक्षेत्रीले बताए । अबको विज्ञापनमा कर्मचारी माग्ने गरी तयारी गरिएको उनले जानकारी दिए ।

प्रकाशित : भाद्र १४, २०७६ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?