गाई–गोरु बाटोमै फालेको घटना गृहले छानबिन गर्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालगञ्जबाट ल्याएका गाई–गोरु बाटोमै फालेको घटनाबारे गृह मन्त्रालयले छानबिन थालेको छ । मन्त्रालयबाट उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाइएको छ ।

समितिलाई १५ दिनभित्र घटनाबारे अध्ययन गरी संलग्नहरुलाई कानूनी कारबाहीको सिफारिस गर्न भनिएको छ। मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै गौहत्यामा संलग्नलाई कानून बमोजिम हैदसम्म कारबाही गरिने बताएको छ।

नेपालगञ्जको काञ्जी हाउसबाट दैलेखको श्रीनाथ लैजान भन्दै पठाइएका १८ गाई र ६ गोरु सुर्खेतको वीरेन्द्रनगर ११ स्थित ब्यूरेनी खोलामा मृत भेटिएका थिए। १४४ गाई, गाेरु र बाच्छा–बाच्छी त्यही छाडिएका थिए।गाई गोरु छाड्ने ५ ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित : भाद्र १४, २०७६ १६:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हिंसापीडितको तीज : माइती न घर

दुधे सोतामा घरेलु हिंसापीडित महिलाको सामूहिक बसाइ छ । उनीहरु तीज मनाउन जम्मा भए, दर खाए । 
दुःखसुखका कथा बाँडे, नाचगान गरेर मन हलुंगो पारे । 
दुर्गालाल केसी

(दाङ) — घोराही उपमहानगरपालिका–१८ मसिनाकी सरस्वती केसीले तीजमा माइत जान नपाएको चार वर्ष भइसक्यो । हरेक तीजले उनलाई रुवाउँछ । उनको न माइती छ न घर । घरेलु हिंसामा परेपछि केसीले ४ वर्षअघि घर छोड्नुपरेको थियो । त्यसयता उनी आफू जस्तै पीडित महिलाका साथ घोराही–१३ दुधे सोतामा बस्छिन् । यस वर्ष पनि तीजको रौनक सुरु भइसक्यो । तीज नजिकिंदै गर्दा उनको मन कुँडिन थाल्छ । ‘रमाउन कहाँ जानु ? 

आफ्ना कोही नभएपछि कतै जाने तयारी हुँदैन । गाउँघरमा जाऔं गरगहना र तडकभडका कपडा नै हुँदैनन्,’ उनले भनिन्, ‘आफैंलाई हिनताबोध हुन्छ । अनि कतै निस्कन मन लाग्दैन ।’

उनीजस्तै पीडित महिला मिलेर तीज मनाउने सोचमा पुगे । दुधे सोतामै जुटे र दर खाए । दुःखसुखका कथा बाँडे, नाचगान गरे । केही मन हलुंगो पारे । दुधे सोतामा घरेलु हिंसापीडित महिलाको सामूहिक बसाई छ । परिवारमा बस्न नसक्ने भएपछि उनीहरूले सामूहिक घर निर्माण गरी बसोबास थालेका हुन् । त्यहीं उनीहरूले जिविकोपार्जनका विभिन्न उपाय गरिरहेका छन् । सामाजिक अभियन्ता बिमला योगीले दिएको ५ कट्ठा जग्गामा तारबार गरी घरबास बनाएका छन् । कुखुरा, बाख्रापालन, तरकारी खेती र ऊनका कपडा बुन्ने सिप उनीहरूको जीवन निर्वाहको माध्यम बनेको छ ।

बिभिन्न ठाउँमा छरिएर रहेका महिलालाई सामूहिक घरमा बोलाएर दर खाने कार्यक्रम राखेको तुलसीपुरकी दिपा बस्नेतले बताइन् । ‘कसैका माइती छैनन् । कसैका बाआमा छैनन् । कसैका भए पनि बोलाउँदैनन् । पीडित भएपछि सबैले हेला गर्छन्,’ उनले भनिन्, ‘कसैका धेरै टाढा छन् । जानआउन खर्च पुग्दैन । अघिपछि रोएरै बसे पनि एक दिन हाँसौंन भनेर जमघट गर्‍यौं । सबैले एक अर्काका दुःख बुझ्यौं ।’

घरबाट निस्केपछिका केही वर्ष उनीहरूले तीज मनाउन ध्यान पनि दिएनन् । आफनै समस्या र चिन्ताले गाँज्यो । बिस्तारै आयआर्जनका उपाय खोज्दै जिविका निर्वाह हुन थालेपछि तीजको रौनकले पनि छुन थालेको घोराही ५ धर्नाकी सुश्मा परियारले बताइन् । ‘पहिले तीजको पनि मतलव लाग्दैनथ्यो । गरगहना र कपडा पनि नहुने । नाचगानमा जानै मन लाग्दैनथ्यो,’ उनले भनिन्, ‘यस वर्षदेखि हामी पीडित दिदीबहिनी नै मिलेर तीज मनाउन थालेका छौं । रमाइलोभन्दा दुःख बाँड्ने र भेट हुने अवसर भएको छ ।’ सुर्खेतकी बालिका जीसी पनि दर खाने कार्यक्रममा खुलेर नाचिन् । पहिलेका तीजमा रमाउन नसकेकी जिसी यसपाली आफूजस्तै साथीहरूको बीचमा भएपछि निकै रमाइन् ।

श्रीमान् र परिवारका अन्य सदस्यको हिंशाका कारण घरमा बस्न नसक्ने अबस्था भएपछि निस्किएका पिडितहरू अहिले बिभिन्न उद्यम गरेर नयाँ जीवन चलाइरहेका छन् । सबैजना मिलेर एकले अर्कालाई सघाउने पनि गर्छन् । एकले अर्काको बच्चाको हेरचाह गर्छन् । कतिपय महिलाहरू घरेलु हिंशाबाट पिडित भएपछि न्यायको खोजीमा निस्कन्छन् । न्याय प्रणाली लामो भएकाले उनीहरूलाई बसोबासको समस्या हुन्छ । फर्केर पहिलेकै घरमा जान पनि नसकिने, माइतीले पनि राम्रो नमान्ने । अरु कतै वैकल्पिक व्यवस्था पनि नहुने । यस्तो बेलाको आश्रय बनेको छ दुधेसोताको सामूहिक घर । यहाँ आएपछि तत्काल भोकभोकै हुनुपर्दैन ।

विभिन्न आयमूलक काम गरेर जिविका चलाउन सकिन्छ । हिंसापीडित महिला संगठित भएर सक्षम महिला सामुदायिक संस्था गठन गरेका छन् । यही समूहमा आबद्ध भएर सबै पिडित महिला एकजुट भएका छन् । हिंशापिडित महिलालाई संरक्षणको समस्या भएपछि पिडितहरू नै मिलेर सामूहिक घर निर्माण गरेको अध्यक्ष रचना सुवेदीले बताइन् । ‘यो घर सबैको साझा थलो बनेको छ । तीजमा जाने माइती घर यही नै हो,’ उनले भनिन्, ‘कोही नभएको बेला आफूजस्तै दिदीबहिनीसँग दुःख भुलाउँदै बस्ने ठाउँ हो ।’ बिभिन्न कारणले हिंशामा परेका महिला यो घरमा आश्रय लिइरहेको उनले बताइन् । ‘यहाँ आएपछि तत्कालै बस्नेखाने जोहो आफै गर्न सकिन्छ,’ उनले भनिन्, ‘केही न केही काम गर्ने ठाउँ छ । सिप सिक्न सकिन्छ । काममा लागेपछि दुःख पनि बिर्सिन्छ । यसपालीको तीज पनि यहीं जुटेर मनाइरहेका छौं ।’

प्रकाशित : भाद्र १४, २०७६ १६:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT